Comments Add Comment

गौतम बुद्धलाई पनि पागल र मुर्ख भनिन्थ्योः बाबुराम

baburam-nayashakti
२५ वैशाख, चितवन । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ बाटोको कुरा गर्दा धेरैले पागल र दुस्साहसी बन्नुपरेको बताएका छन् ।

चितवनको वीरेन्द्र क्याम्पसमा आयोजित आमसभामा भट्टराईले नयाँ शक्तिमाथि लाग्ने गरेको आरोपलाई स्वभाविकरुपमा लिने गरेको बताए ।

‘नेपालमै आजभन्दा २७ सय वर्ष पहिला ज्ञानको खोजीमा निस्कँदा गौतम बुद्धलाई पनि पागलको संज्ञा दिइएको थियो’ उनले भने, ‘मैले नयाँ शक्ति दुरदृष्टि राखेर अगाडि ल्याउँदा हामीलाई अहिले मुर्ख, पागल र दुस्साहसी भनिएको छ, यसलाई मैले अस्वभाविकरुपमा लिएको छैन ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले अहिलेको राजनीतिक समीकरणले देश विकास हुन नसक्ने बताए । उनले भने, ‘संसदमा कुनै पनि पार्टीको बहुमत छैन । हामीले देखेकै छौं, सबैले सत्तामा जानको लागि मरिहत्ते गरिहेका छन् ।’

पुरानै मान्छेहरु सत्ताको लोभमा कुर्सीको लुछाचुडी गरेर बस्ने तर मुलुकको समस्यालाई बेवास्ता गर्ने प्रवृत्तिले मुलुक पछाडि परिरहेको उनले बताए । ‘संविधानमा देखिएको असन्तुष्टि हल गर्न तत्काल मधेसको जायज मुद्दाहरु सम्बोधन हुनुपर्छ’ उनले भने, ‘निर्वाचन प्रणाली र शासकीय स्वरुपमा पनि संशोधन गरेर नयाँ निर्वाचनमा जानुपर्छ ।’

संयोजक भट्टराईले नेपालको आन्तरिक समस्यामा छिमेकीहरुलाई अनावश्यकरुपमा तान्न नहुने धारणा राखे । ‘आन्तरिक मामिलामा छिमेकीहरुलाई तान्ने प्रवृत्ति खतरनाक छ । यसले मुलुक प्रतिगमनतर्फ जाने हो कि भन्ने मलाई चिन्ता छ’ उनले भने ।

उत्तर र दक्षिणका छिमेकीलाई ठूलो स्वरले गाली गरेर राष्ट्रियताको रक्षा नहुने भन्दै उहाँले यस्तो प्रवृत्तिलाई नक्कली राष्ट्रवादको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment