Comments Add Comment

बुटवलमा बन्दैछ मार्बल बिच्छाएको ६ लेनको सडक

३.७ किलोमिटर सडक बनाउन ५० करोड लाग्ने अनुमान

butwal-bazar

२६ वैशाख, बुटवल । पश्चिमाञ्चलको व्यवसायिक केन्द्र बुटवल बजार अझै सुन्दर बन्ने भएको छ । राजमार्ग चौराहादेखि गोलपार्कसम्म ६ लेनको सडक विस्तार गरी हरियाली बनाउने भएपछि बुटवल थप सुन्दर देखिने भएको हो । यसको आकर्षक पक्ष हुनेछ, दुबैतर्फको सर्भिस ल्याण्डमा बिच्छाइने मार्बल ।

यसैपनि बुटवल नगरभित्रको सडक फराकिलो नै छ । सडकलाई थप फराकिलो बनाएर ‘ग्रिनरी’ विकास गर्दा बुटवल झनै सुन्दर बन्ने स्थानिय बताउँछन् । भैरहवा बुटवल ६ लेनको व्यापारिक सडक बनाइरहेको परियोजनालाई यो सडक पनि विस्तार गर्ने जिम्मा लगाइएको हो ।

चौराहादेखि गोलपार्कसम्म ३.७ किलोमिटर सडक छ, जसमा मार्बल बिच्छाइने छ । असारसम्म डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) बनाएर साउनमा टेन्डर आहृवान गर्ने तयारी भइरहेको इञ्जिनियर लिला बहादुर भण्डारीले अनलाइनखबरसँग बताए ।

यो सडक विस्तार गर्नका लागि करिव ५० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसलाई मुलुककै नमूना सडकका रुपमा विस्तार गर्ने सरकारको योजना रहेको भण्डारीले जानकारी दिए ।

‘विशेषगरी यो सडकले बुटवलको सौन्दर्यता बढाउने छ,’ इञ्जिनियर भण्डारीले भने, ‘हामीले बुटवल नगरभित्रको सडक विस्तारको क्रममा ब्युटिफिकेसनलाई बढी जोड दिन्छौं ।’

सडकमा अपांगमैत्री आकाशे पुल

Overhead-Bridge,-Aakashe-Pul

सडकको दुबैतर्फ ग्रिन जोन र पार्क डेभलप गर्ने योजना रहेको भण्डारीले जानकारी गराए । उनका अनुसार शहरभित्रको यो सडकमा चारवटा आकाशे पुल निर्माण गरिने छ । जुन पुलहरु अपांगमैत्री हुनेछन् । भैरहवा बुटवल सडकमा बनाइने आकाशे पुलजस्तै बनाउने योजना रहेको उनले बताए ।

एउटा आकाशे पुल गोलपार्कमा बनाइने भएको छ । त्यसैगरी मिलनचोक, बसपार्क र ट्राफिक चोकमा पनि आकाशे पुल बनाउने भण्डारीले जानकारी दिए । एउटा पुल बनाउनका लागि ८० लाखदेखि एक करोडसम्म लाग्ने अनुमान छ । यहाँ बनाइने पुल अहिलेसम्मकै आकर्षक र सुविधासम्पन्न हुनेछन् ।

सडकलाई थप सुन्दर र आकर्षक बनाउनका लागि सर्भिस ट्रयाकमा टायल वा मार्वल बिच्छाइने भएको छ । मुख्य सडक कालोपत्रे हुनेछ । बाँकी बाहिरको सर्भिस ल्यान्ड र फुटपाथमा टायल लगाइने भण्डारीले जानकारी दिए ।

सडक विस्तारको चुनौती


butwal-city

यो सडक बनाउन सबैभन्दा ठूलो चुनौती सडक ओगटेर बनेका घरहरु भत्काउनु रहेको छ । यो सडक बनाउँदा चौराहादेखि गोलपार्कसम्म करिव ९० प्रतिशत घरहरु भत्काउनुपर्ने इञ्जिनियर भण्डारी बताउँछन् ।

घर भत्काउनका लागि स्थानिय सकारात्मक छैनन् । तर, सरकारले जसरी पनि सुन्दर सडक बनाएरै छाड्ने भएको छ । ‘अहिलेसम्म सडक छेउँका घरधनीले सरकारी जग्गामा घर बनाएर भाडा उठाई खाइसकेका छन्, घर निजी भएपनि जग्गा सरकारको नाममा छ,’ भण्डारीले भने, ‘अब सडक विस्तारका लागि चुपचाप छाडिदिनुपर्छ ।’

पर्यटनमा सघाउ पुग्ने विश्वास

यो सडक बनेपछि यहाँको पर्यटन विकासमा समेत सघाउ पुग्ने विश्वास लिइएको छ । मुलुककै नमुना सडक बनाइने हुँदा धेरै मानिसहरु सडक हेर्नकै लागि बुटवल आउनेछन् ।

बुटवल नजिकै रहेको लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटकको भिड लाग्ने गर्छ । खासगरी बुटवलको सडक सुन्दर बनाउन सकेमा लुम्बिनी आउने भारतीय र नेपाली पर्यटकलाई एकपटक बुटवल पनि हेरेर फर्किन बाध्य बनाउने इञ्जिनियर भण्डारी बताउँछन् ।

सरकारले शिद्ध बाबासम्मकै सडक ६ लेनमा विस्तार गर्न भनेपनि तत्काल सम्भव नभएको इञ्जिनियर भण्डारीले बताए । ‘गोलपार्कसम्म सडक विस्तार गर्न सम्भव छ, त्यहाँबाट अगाडि भिरालो जमिन भएको र पहिरो गइरहने हुँदा फराकिलो बनाउँदा झनै जोखिम बढ्छ,’ उनले भने, ‘हामीले पहिरो रोकिएको जमिन भत्काएर थप जोखिम बढाउनु हुँदैन, गोलपार्कसम्म मात्र विस्तार गर्नुपर्छ ।’

तस्वीर: कपिल ज्ञवाली/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment