Comments Add Comment

थपिएका चार एआइजीलाई प्रहरीको बेवास्ता

उनीहरु कहाँ के गर्दैछन् थाहा छैनः गृह मन्त्रालय

AIG

२७ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले देशको संघीय संरचनामा प्रहरीको स्वरुप कस्तो हुनुपर्छ भनेर शनिबार प्रधानमन्त्रीलाई सुझाव दियो । प्रहरीको ब्रिफिङ सुन्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्ति बस्नेतसहित गृहका अधिकारीहरु प्रहरी प्रधान कार्यालय पुगेका थिए ।

प्रधानमन्त्री सहभागी कार्यक्रम भएकाले प्रधान कार्यालयले उपत्यकामा रहेका प्रायः सबै युनिट प्रमुखहरुलाई बोलाएको थियो । एआइजी, डिआइजी, एसएसपी, एसपीदेखि डिएसपीसम्मका अधिकृतहरु प्रहरी प्रधान कार्यालय पुगेका थिए । तर त्यही कार्यक्रमबारे नेपाल प्रहरीका चार एआइजीहरु भने अनभिज्ञ रहे । केही दिनअघि मात्रै डेढ वर्षभन्दा लामो कानुनी लडाईंपछि एआइजीको फुली लगाएकाहरुलाई प्रहरी प्रधान कार्यालयले बेवास्ता गरेको हो ।

एआइजीहरु विश्व सिंह शाही, यादव अधिकारी, सुशिलबर सिंह थापा र पर्शुराम खत्रीलाई प्रहरी प्रधान कार्यालयले प्रधानमन्त्री जाने कार्यक्रममा समेत बोलाएन । प्रहरीकै फेरिन लागेको संरचनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने कार्यक्रममा समेत नबोलाएकाले आफूहरु आश्चर्यमा परेको चारमध्येका एक एआइजीले बताए । उनले भने, ‘फुली लगाएपछि हामी पनि नेपाल प्रहरीकै एआइजी हौं, तर त्यत्रो कार्यक्रममा समेत कुनै खबर नगरेकोमा अचम्म लागेको छ ।’

तारावाला गाडी छ, तर काम छैन

वरियताको हिसाबले आइजीपी पछिको दोस्रो पद हो एआइजी । तहकोे हिसाबले नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी भएकाले उसले त्यहि अनुसारको सेवा सुविधा पाउँछ ।

तर नेपाल प्रहरीका चार एआइजी भने फुली लगाएको करिब एक महिनासम्म पनि कामविहीन छन् । वैशाख ७ गते एआइजीको फुली लगाएसँगै प्रहरीको दुई ताराजडित गाडीमा हिँडिरहेका चार एआइजीहरुले कुनै जिम्मेवारी भने पाएका छैनन् ।

एक एआइजीले भने, ‘बिहान गृह मन्त्रालय गएर हाजिर गर्ने मात्रै काम भएको छ ।’ प्रहरी प्रधान कार्यालयले आफूहरुलाई वेवास्ता गरेको उनको गुनासो थियो ।

कता गए थाहा छैनः गृहमन्त्रालय

अदालतको आदेशको कार्यान्वयन गर्दै सरकारले चार जना डिआइजीहरुलाई डेढ वर्ष पछि एआइजीमा बढुवा गरेर फुली लगाइदिएको भए पनि उनीहरु के गरिरहेका छन् भन्ने थाहा नभएको गृहमन्त्रालयले बताएको छ ।

सुरक्षा महाशाखाका प्रमुख समेत रहेका सहसचिव यादवप्रसाद कोइरालाले भने, ‘फुली लगाएपछि चार एआइजी कता गए मलाई पनि थाहा छैन ।’

संगठनले कुनै जिम्मेवारी नदिएको भए पनि गृहमन्त्रालयमा हाजिर गर्नुपर्ने तर आफूले अहिलेसम्म नदेखेको उनले टिप्पणी गरे ।

सुरक्षा सहसचिव कोइरालाका अनुसार एउटा सुरक्षा संगठनको उच्च अधिकृतलाई लामो समयसम्म जिम्मेवारी नदिइ राख्नु ठीक होइन । उनीहरुलाई कुन जिम्मेवारी दिने भन्ने निश्चित नगरी फुली लगाइदिएकाले समस्या आएको उनको तर्क थियो । फुली लगाएर सरकारी सेवा-सुविधा लिइरहेका चार एआइजीलाई कस्तो जिम्मेवारी दिने भन्नेमा गृहमन्त्रालयले छलफल गर्ने सहसचिव कोइरालाले बताए ।

काम गराउनु पर्छः पूर्व एआइजी ढकाल

सरकारले एआइजी जस्तो विशिष्ट श्रेणीमा बढुवा गरिसकेपछि उसलाई जिम्मेवारी दिन सक्नुपर्ने पूर्व एआइजी नवराज ढकाल बताउँछन् ।

उनी भन्छन्, ‘कसैले सरकारी सेवा-सुविधा उपभोग गरिरहेको छ भने उबाट काम पनि लिन सक्नुपर्छ । एउटा सुरक्षा संगठनको एआइजी जस्तो पदमा बढुवा भएकाहरुले विनाकाम सेवा-सुविधा मात्रै उपभोग गरेर बस्दा नोक्सान हुने पूर्वएआइजी ढकालको तर्क छ ।

आइजिपी र एआइजीबीच पानी बाराबार

वैशाख ७ गते एआइजीको फुली लगाएकाहरु र आइजीपी उपेन्द्रकान्त अर्याल एउटै ब्याजका हुन् । तर करिब डेढ वर्ष अगाडि नै एआइजी बढुवामा पाखा लगाएको भन्दै उनीहरु आफ्नै ब्याजका आइजीपी अर्यालसँग रुष्ट थिए ।

सरकारले दुई विशेष पद सृजना गरेर आफूभन्दा तल रहेकाहरुलाई एआइजीमा बढुवा गरेर अन्याय गरेको भन्दै अदालत पुगेका थिए । अदालतले चारै जनाले एआइजीमा बढुवा गर्न आदेश दिए पनि सरकार र आइजीपी अर्यालले जिम्मेवारी दिने ठाउँ नभएको भन्दै टारिरहेका थिए ।

अन्ततः अदालतको आदेश पालना गर्दै सरकारले चारै जनालाई एआइजीमा बढुवा गरेपछि आइजीपी अर्यालले नै फुली लगाइदिएका थिए । त्यसो त अर्का एआइजी राजेन्द्रसिंह भण्डारी पनि प्रहरी प्रधान कार्यालय जानै छाडेका छन् ।

अर्यालसँग आइजीपीको प्रतिस्पर्धामा रहे पनि सफल हुन नसकेका भण्डारी र आइजीपी बिचको सम्बन्ध पानी बाराबारको अवस्थामा पुगेको छ । एआइजीमा बढुवा भएलगत्तै आइजीपी अर्यालले नक्सालबाट भण्डारीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाएका थिए । अहिले सुरक्षा परिषदमा कार्यरत एआइजी भण्डारी र एउटै ब्याचका आइजीपी अर्याल बिचको सम्बन्ध लगभग टुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment