Comments Add Comment

कांग्रेसमा ‘कोइराला’ भन्दा फरक देखिएनन् देउवा

न पदाधिकारी मनोनयन, न भातृ संस्थाको सम्मेलन

sherbahadur deuba

२७ वैशाख, काठमाडौं । विगतमा नेपाली कांग्रेसभित्र कोइराला परिवारले एकाधिकार लादेको र पार्टीलाई संस्थागतरुपमा नचलाएको आरोप लाग्ने गरेको थियो । अहिले शेरबहादुर देउवाले पार्टी चलाउन थालेपछि पनि कांग्रेसभित्र ‘कोइराला’ कार्यशैलीले निरन्तरता पाएको छ ।

पछिल्लो समयमा पार्टीभित्र सल्लाह नगरी सरकार ढाल्ने असफल खेलमा लागेका देउवामाथि पार्टी सञ्चालनमा समेत कमजोरी देखएकिो भन्दनै पार्टीभित्र उनको आलोचना सुरु भएको छ ।

मनोनित पदाधिकारी कहिले ?

पार्टीका मनोनित सदस्यहरु छान्ने विषयमा देउवाको कार्यशैली सुशील कोइरालाको जस्तै ढीलाढाला देखिएको छ । कांग्रेसको रिक्त केन्द्रीय सदस्य, पदाधिकारी र ४८ वटा विभागको टुंगो अझै लागेको छैन । कांग्रेस विधानमा महाधिवेशन भएको दुई महिनाभित्रै यसको टुंगो लगाउनुपर्ने व्यवस्था छ ।

कार्यसमिति सदस्यले गत चैत ७ गते पदभार ग्रहण गरेका थिए । उनीहरुले काम थालेको जेठ ७ गते दुई महिना पुग्दैछ

१३ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति सदस्यले गत चैत ७ गते पदभार ग्रहण गरेका थिए । उनीहरुले काम थालेको जेठ ७ गते दुई महिना पुग्दैछ । जेठ ७ आउन दुई हप्ता पनि बाँकी छैन ।

देउवाको आलोचना सुरु

नेपाली कांग्रेसमा ८५ सदस्यीय केन्द्रीय समिति छ । देउवा सभापतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा, नरहरि आचार्य, अर्जुननरसिंह केसी, चित्रलेखा यादव र उमाकान्त चौधरी गरी ७ जना केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । यसबाहेक अझै १४ जना केन्द्रीय सदस्यहरु मनोनयन गर्न बाँकी छ ।

केन्द्रीय सदस्यहरु मनोनित गरिसकेपछि त्यसैमध्येबाट एक-एक जना उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन  गर्नुपर्ने हुन्छ ।

जेठ ७ को अन्तिम समयसीमा नजिकिँदै गर्दा पनि देउवाले निर्णय लिन सकेका छैनन् । यसबारे कांग्रेसमा देउवाको आलोचना सुरु भइसकेको छ ।

केपी ओली नेतृत्वको सरकार ढाल्ने कदममा एमाओवादीलाई साथ लिन नसकेपछि देउवाको झन् धेरै आलोचना भएको छ

शेरबहादुर दाइले विगतमा जे कुराको वकालत गर्दै आउनुभएको थियो, अहिले उहाँ फैसला गर्ने न्यायाधीशको ठाउँमा हुनुहुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरे भन्छन्, ‘यदि केही पनि नगर्ने हो भने उहाँका नाराहरु फगत नेतृत्वमा जाने हतियारमात्रै हुन् भन्ने प्रमाणित हुन्छ ।’

केपी ओली नेतृत्वको सरकार ढाल्ने कदममा एमाओवादीलाई साथ लिन नसकेपछि देउवाको झन् धेरै आलोचना भएको छ । देउवालाई कच्चा खेलाडीको आरोप लगाउँदै नेता प्रकाशमान सिंह नेतृत्वको समूहले पार्टीलाई संस्थागत ढंगबाट अघि बढाउन सुझाव दिएको छ । अब कुनै पनि विषयमा निर्णय लिनुपर्दा पर्याप्त तयारी गर्न प्रकाशमानको टोलीले देउवाको ध्यानाकर्षणसमेत गराइसकेको छ ।

केन्द्रीय कार्यसमितिको रिक्त स्थानमा पदपूर्ति गर्ने विषयमा देउवाले औपचारिक बैठक वा छलफल नचलाउँदा कांग्रेसमा असन्तुष्टि चुलिँदै गएको छ । १३ औं महाधिवेशनपछि चैत ५ गते कांग्रेसको पहिलो बैठक बसेको थियो । प्रारम्भिक बैठकको निर्णयअनुसार संसदीय कार्यसमिति चयन भइसकेको छ ।

त्यसैगरी नेपाली कांग्रेसका भातृसंस्थाहरुको महाधिवेशन ६ महिनाभित्र गर्ने निर्णय एको छ । तर, त्यसको पनि तयारी निकै सुस्त छ ।

सुशील कोइरालाका पालामा शेरबहादुर देउवा पक्षले पार्टी विधि विधान र पद्दतिअनुसार नेतृत्व नचलेको भनेर आलोचना गर्दथ्यो । भातृ संस्थाहरुको महाधिवेशन नगरेको भनेर पनि आलोचना हुन्थ्यो । सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीका सभापति देउवा अहिले तिनै आरोपहरु खेपिरहेका छन् ।

‘अहिले सरकारको विषयमा ब्याक हुने स्थिति आयो, जुन लज्जाको विषय हो । कांग्रेसले चालेको कदम त अचूक हुनुपर्छ,’ कांग्रेस केन्द्रीय सदस्य घिमिरे भन्छन्, ‘छिटो केन्द्रीय समितिको बैठक बसालेर समसामयिक राजनीति र समग्र विषयमा पार्टीमा छलफल हुनुपर्छ ।’

देउवाको अप्ठेरो

खुमबहादुर पक्षकालाई पार्टीमा उचित स्थान दिनुपर्ने देउवालाई बाध्यता छ । कांग्रेसमा महामन्त्रीको पद सम्हालिसकेका खुमबहादुर उपसभापतिका प्रमुख दाबेदार हुन्

पौडेललाई पार्टीमा उचित स्थान दिँदै मिलाएर लैजानुपर्ने बाध्यता देउवालाई छ । तर, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षी धेरै भएकाले देउवा अप्ठेरोमा परेका छन् ।

खुमबहादुर खड्कालाई चित्त बुझाउनुपर्ने सबैभन्दा ठूलो चुनौति देउवालाई छ । १३ औं महाधिवेशनमा यदि खुमबहादुरको साथ देउवाले पाउँदैनथे भने सभापतिमा निर्वाचित हुन अप्ठेरो पर्दथ्यो भन्नेहरु धेरै छन् । त्यसैले खुमबहादुर पक्षकालाई पार्टीमा उचित स्थान दिनुपर्ने देउवालाई बाध्यता छ । कांग्रेसमा महामन्त्रीको पद सम्हालिसकेका खुमबहादुर उपसभापतिका प्रमुख दाबेदार हुन् ।

त्यसैगरी विमलेन्द्र निधी, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशसरण महत, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का लगायतका नेताहरु महामन्त्रीका दाबेदार हुन् ।

ज्ञानेन्द्रबहादुर कार्की पुराना र त्यागी नेता मानिन्छन् । उनलाई देउवाले महामन्त्री बनाउने बढी सम्भावना छ । उनी नेबिसंघको पूर्व अध्यक्ष हुन् । शेरबहादुर देउवा, विमलेन्द्र निधि र त्यसपछि कार्की नेविसंघको अध्यक्ष भएका थिए ।

विगतदेखि नै देउवासँग निकट भएर काम गरेका कार्की जलस्रोत मन्त्रीसमेत बनेका थिए । कम बोल्ने स्वभाव र स्वच्छ छविको परिचय बनाएको व्यक्ति भनेर कांग्रेसजनमा कार्की चिनिन्छन् । त्यसैले वरिष्ठताको हिसाबले पनि कार्कीलाई देउवाले न्याय गर्नुपर्ने कांग्रेसजनहरु बताउँछन् ।

देउवालाई १३ औं महाधिवेशनमा सबैभन्दा बढी खटेर सघाउने महत नै भएको कांग्रेस वृत्तमा चर्चा छ । ‘चुनावको सामाग्री छापेर महतले आफ्नो प्रचारै गरेनन् तर देउवाका लागि भोट माग्दै हिँडेका थिए,’ कांग्रेसका एक नेताले भने, ‘त्यसैले देउवाले महतलाई पदाधिकारीको एक पद दिने सम्भावना बढी छ ।’

बालकृष्ण खाँण देउवाका विश्वासपात्र नेताहरुमध्ये एक हुन् । उनी नेबिसंघ र तरुण दल दुबैको अध्यक्ष बन्ने पहिलो कांग्रेस नेता हुन् । संगठनमा राम्रो प्रभाव जमाएका खाँण देउवाको दाहिने हात भनेर चिनिन्छन् । देउवाको पक्षमा सशक्तरुपमा प्रस्तुत हुने उनी वर्तमान केपी ओली नेतृत्वको सरकार परिवर्तन गर्नुपर्छ र देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर सार्बजनिक रुपमा अभिव्यक्ति दिने पहिलो कांग्रेस नेता हुन् ।

प्रकाशशरण महत २७ सालदेखि नै नेबिसंघको राजनीतिमा सक्रिय थिए । प्रजातन्त्र आइसकेपछि पढ्न भनेर विदेश गएका उनी पीएचडी सकेर स्वदेश फर्किए र पुनः राजनीतिमा सक्रिय बने । दाजु डा. रामशरण महत कोइराला कोटरीमा परे पनि प्रकाशशरणले देउवाको साथ छोडेनन् । अहिले देउवा उनलाई सहमहामन्त्री बनाउने पक्षमा रहेको स्रोत बताउँछ ।

‘महतको दाबी महामन्त्रीमा हो । तर, उनीभन्दा वरिष्ठ नेताहरु रहेकाले सहमहामन्त्री बनाउने बचन देउवाले दिएका छन् । देउवा आफ्नो बचनमा अडिग रहे महत सहमहामन्त्री बन्ने पक्का छ,’ कांग्रेसका एक नेताले भने ।

Purna-Bahadur-Khadkaपूर्णबहादुरसँग सम्बन्ध बिग्रियो 

पार्टीमा सहमहामन्त्री भइसकेकाले महामन्त्री पदको दाबेदार हुन् पूर्णबहादुर खड्का । तर, कांग्रेसको एउटा ठूलो समूह पूर्णबहादुरलाई महामन्त्री पद दिनु हुँदैन भनेर लागिरहेको छ ।

पूर्णबहादुर पार्टी विभाजनताका संस्थापन पक्षमा रहे पनि पछि देउवासँग नजिकिएका थिए । कोइराला परिवारको सँधै आलोचक बन्ने गरेका खुमबहादुरको जोडबलमा पूर्णबहादुर पार्टीमा सहमहामन्त्री पद पाउन सफल भएका थिए ।

त्यसपछि उनी देउवासँग नजिकिएका थिए । तर, पार्टीको कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै उनले सहमहामन्त्री पदबाट राजीनामा दिएका थिए । देउवा र खुमबहादुरसँग सल्लाह नै नगरी राजीनामा दिएपछि पूर्णबहादुरसँग देउवा असन्तुष्ट छन् ।

राजिनामा दिइसकेपछि देश दौडाहामा निस्किएका खड्काले तत्कालीन पार्टी सभापति सुशील कोइराला, देउवा र रामचन्द्र पौडेलले अब राजनीतिबाट अवकाश लिनुपर्ने र नेतृत्वमा युवाहरु आउनुपर्ने सार्बजनिक अभिव्यक्ति दिएका थिए ।

त्यतिमात्रै होइन १३ औं महाधिवेशनपछि पनि पूर्णबहादुरको दोहोरो भूमिकाबाट देउवा र खुमबहादुर सन्तुष्ट छैनन् । आफैलाई सहमहामन्त्री बनाउन भूमिका खेल्ने खुमबहादुरलाई उपसभापति बनाउनुहुँदैन भनेर पार्टीमा लबिङ गरेको आरोप पूर्णबहादुरलाई लाग्ने गरेको छ ।

‘खुमबहादुरलाई भेटेर उपसभापति तपाईं नै बन्नुपर्छ त्यसका लागि मैले सहयोग गरिरहेको छु भन्ने र विमलेन्द्र निधिलाई भेटेर खुमबहादुर होइन तपाईं अघि बढ्नुस् भनेर उक्साउने गरेको पोल खुलेको छ,’ कांग्रेसका एक नेताले भने ।

यो पनि पढ्नुस्

शेरबहादुर देउवा किन असफल भए ? यी हुन् ५ कारण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment