Comments Add Comment

स्थानीय चुनावबारे एमाओवादीसँग छलफल नै भएनः सचिव पुन

२७ वैशाख, काठमाडौं । सरकारले आफ्नो दलसँग छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएको सत्तारुढ प्रमुख घटक एमाओवादीका एक नेताले बताएका छन् ।

anantमाओवादी सचिव वर्षमान पुन अनन्तले प्रमुख प्रतिपक्षी कांग्रेससहित संसदमा रहेका दलहरुसँग न्यूनतम सहमति गरेर ल्याउनु पर्ने नीति कार्यक्रमबारे आफुहरुसँग समेत छलफल नभएको बताए ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा एमाओवादी सचिव अनन्तले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने कुरा आफूहरुलाई समेत जानकारी नरहेको दाबी गरे ।

उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष प्रचण्डसँग एक शब्द समेत छलफल नगरी मंसिरमा चुनाव गर्ने कुरा ल्याइएको छ । अहिलेको संविधानले गाविस चिन्दैन अनि केको निर्वाचन गर्ने ?’

उनले अघि भने, ‘नौ बुँदे सहमतिका कुराहरु यसमा परेका छैनन् । सरकारको आयूकै विषयमा प्रश्न उठिरहेको बेला दीर्घकालिन विषयहरु ल्याउनु राम्रो होइन ।’

एमाओवादी सचिव पुनले नीति तथा कार्यक्रम गठबन्धनको संस्कार र शैली अनुसार नआएकोले यसमा आफूहरुको आलोचनात्मक समर्थन रहने बताए । साथै बजेट ल्याउँदा सबैलाई सहमति र विश्वासमा लिएर ल्याउनु पर्ने उनको जोड थियो ।

उनले भूकम्प पीडितहरु अझै पनि त्रिपालमा बसिरहेका बेला प्रत्येक गाविसमा हेलिप्याड बनाउने सरकारको घोषणा खिसिटिउरी गर्ने विषय मात्र भएको बताए ।

सरकार परिवर्तनको विषयमा भएको भनिएको भद्र सहमतिको विषयमा राखिएको जिज्ञासामा उनले राजनीतिक तहमा भएका सहमतिलाई त्यसै रुपमा लिनु पर्ने बताए । उनले बजेट पारित गर्दासम्म आफूहरु वर्तमान सरकारकै समर्थनमा रहने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment