Comments Add Comment

नारायणहिटी संग्रहालयबाट सत्र करोड आम्दानी

२८ वैशाख, काठमाडौं । नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ ।

narayanhitiशाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउने क्रम बढ्दो छ ।

सङ्ग्रहालयका अनुसार २०६५ फागुनयता स्वदेशी तथा विदेशी गरी २० लाख ७९ हजार ७६० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन् ।

स्वदेशी दर्शकका रुपमा १० लाख छ हजार १५५ जना र नेपाली विद्यार्थी मात्रै नौ लाख ५ हजार ३३० जना यहाँ आइसकेका छन् । चीन र दक्षिण एसियाली मुलुकहरुबाट आएका एक लाख १८ हजार ६९९ तथा अन्य मुलुकका ४९ हजार ५७६ जना पर्यटकले सो सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

टिकट बिक्री तथा पार्किङ शुल्कबापत सङ्ग्रहालयले अहिलेसम्म १७ करोड ४२ लाख ८५ हजार ६०० आम्दानी पनि गरेको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहितकुमार ढुङ्गानाले सङ्ग्रहालयले हाल नारायणहिटीभित्र रहेको १९ वटा कक्ष सर्वसाधारणका लागि खुल्ला राखेको जानकारी दिए । बजेटको सीमितता र पूर्वाधारको अभावमा १२ वटा कक्ष खोल्न नसकिएको उनको भनाइ छ ।

सङ्ग्रहालयमा १४२ कर्मचारी कार्यरत छन् । नारायण राजदरबारभित्र घटेको दुर्दान्त घटनाको प्रमुख स्थल त्रिभुवन सदनको पुनःनिर्माण कार्यको प्रथम चरण सकिन लागेको छ । भूकम्पपछि अवरुद्ध दोस्रो चरणको निर्माण कार्य विसं २०७४ भित्र सम्पन्न गरी सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य सङ्ग्रहालयले राखेको प्रमुख ढुङ्गानाले बताए ।

स्व श्री ५ त्रिभुवनबाट निर्माण गर्न लगाइएको त्रिभुवन सदनभित्र विसं २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार नीराजन र राजपरिवारका अन्य केही नातेदारको निधन भएको थियो ।

विसं २०६५ असार १ गते स्थापना भएको नारायणहिटी सङ्ग्रहालयलाई सोही वर्षको फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment