+
+
Shares

विदेशको यात्रामा निस्कनुअघि गर्नुपर्ने १० तयारी

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७३ वैशाख २८ गते २२:४०

Money dream२८ चैत, काठमाडौं । रोजगारीका लागि विदेश जाने अन्तिम तयारीमा हुनुहुन्छ ? विमानमार्फत हुने यो यात्रालाई झन्झटरहित र सहज बनाउन तपाईं आफैं धेरै सेचत हुनुपर्छ ।

यात्रुले बेलैमा ध्यान नपुर्‍याउँदा विमानस्थल, विमान र विदेशमा पनि सास्ती खेप्नुपर्ने हुनसक्छ । तपाईंले पूर्व तयारीका गर्नुपर्ने त्यस्ता धेरै कुरा छन् जसले विदेश यात्रालाई सजिलो बनाउनेछ ।

१. किनमेलमा ध्यान दिनुस्

विदेश जाँदा विभिन्न सामानहरु लैजानुपर्छ । तर, अनावश्यक सामान बोकेर पैसा मात्रै खर्च गर्नेहरु पनि प्रशस्तै छन् । त्यसैले आफू जाने देशबाट फर्किएका र उतै रहेकाहरुसँग के-के सामन किन्ने ? भन्ने विषयमा सुझाव माग्नुस् । किनमेल अघि नै के-के लैजाने भन्ने सूची बनाउनुपर्छ र त्यसैअनुसार रकमको जोहो गर्नुपर्छ । आफू जाने देशको मौसमअनुसारको कपडा र सामाग्री खरिद गर्नुस् ।

विदेशमा महंगो पर्ने सामाग्री मात्रै लैजान जोड दिनुस् । धेरै सामान किन्ने कष्ट नगर्नुस् । अरुले दिने सुझावअनुसार अत्यावश्यक सामान मात्रै किन्नुस् । अधिकांश युवाले यहाँबाट धेरै कपडा किनेर लैजाने र त्यो प्रयोग नभएर खेर जाने समस्या छ । त्यसैले यसमा विशेष ध्यान दिनुपर्छ ।

२. कागजपत्र तयार राख्नुस्

वैदेशिक रोजगारीमा जानुअघि आफुले प्राप्त गरेका रोजगारसम्बद्ध सबै कागजातहरु आˆनो झोलामा राख्न भुल्नुहुँदैन ।

पासपोर्ट, स्वास्थ्य परीक्षणको प्रमाणपत्र, बीमाका कागज, श्रम इजाजत प्रमाणपत्र, योग्यताका प्रमाणपत्रहरु, टिकट लगायत सबै कागजातलाई झोलामा राख्नुपर्छ । यी कागजात कार्गो गर्ने ब्याग -ठूलो लगेज) मा नहाल्नुस्, आफुसँगै रहने ह्याण्ड ब्यागमा सुरक्षित गर्नुस् ।

किनभने कतिपय कागजातहरु विमानस्थलमा आवश्यक पर्छ । त्यसैले आˆनो साथमा लिएर जानपर्ने सबै कागजातपत्र रुजु गरेर मात्रै घरबाट निस्कनपर्छ भन्नेमा सचेत हुनुपर्छ । यसो गरिएन भने अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर कागज नभएर समस्या झेल्नुपर्ने हुनसक्छ । सबै कागजातका प्रतिलिपिहरु परिवारलाई पनि छोड्न नभुल्नुस् ।

३. सामान ३० केजीभन्दा बढी नबोक्नुस्

वैदेशिक रोजगारी जानेहरुले तोकिएको तौलभन्दा बढी सामान लिएर जाने समस्या छ । गन्तव्य मुलुकमा यस्ता सामान महँगो पर्ने  भन्दै धेरै सामान लैजान खोज्नु सामान्य हो । तर, अत्यावश्यक बाहेकका समान बोक्दा अनेक झन्झट पर्नसक्छ ।

जहाजमा न्यूनतम् मापदण्डअनुसार एकजना यात्रु २० किलोग्रामभन्दा बढी तौलका ब्यागेज लैजान पाउँदैन । ह्याण्ड ब्यागमा भने १० केजीसम्म सामन राख्न पाइन्छ । लगेज कार्गो गरिन्छ भने ह्याण्ड ब्याग आफैँसँग राख्न पाइन्छ ।

तपाईंले नजोखी ह्याण्ड ब्यागमा १० र लगेजमा २० केजीभन्दा बढी सामान बोक्नुभयो तोकिएको सीमाभित्रै सीमित गरेर मात्रै विदेश जानपर्छ । यो गर्दा खर्च गरेर किनेको सामन विमानस्थलमा फालेर जानुपर्ने हुनसक्छ ।

मापदण्डभन्दा बढी समान लैजाँदा केजी अनुसार छुट्टै शुल्क तिर्नुपर्छ । त्यसैले बेलैमा जानकारी नराखे विमानस्थलमा झमेला हुन्छ भने पैसासमेत खेर जान्छ । यी समस्यामा फस्नुभन्दा आफूलाई आवश्यक पर्ने सामानमात्र लिएर जानु राम्रो हुन्छ ।

४. प्रतिवन्धित वस्तु चिन्नुस्

अन्तर्राष्ट्रिय उडानका यात्रुका लागि छुट्टै सुरक्षा मापदण्ड तोकिएका छन् । आन्तरिक उडानमा बोक्न पाइने कतिपय वस्तु अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्धित छन् ।

तपाईंले विदेश यात्रा गर्दा चुरोट, खैनी, गुड्खा, पान, तथा सुर्तीजन्य पदार्थ र नसालु पदार्थ लैजान पाउनुहुन्न । यस्तै गाँजा, भाङ, धतुरो र यी वस्तु मिसाएर बनेको कुनै परिकार वा अचार पनि लैजान पाईँदैन । यस्ता सामान बोक्नुभयो भने लागूऔषध ओसार-पसारको अभियोग लाग्न सक्छ ।

लुकाएर गाँजा, चरेस, भाङ, रक्सी तथा जाँड बनाउन प्रयोग हुने ‘मर्चा’जस्ता लागू पदार्थहरु लैजान पनि निषेध छ । कतिपयले विदेशमा जाँड बनाएर खान ‘मर्चा’ लैजाने गरेको पाइएको छ । तर, धेरै देशमा यो प्रतिवन्धित भएकाले विमानस्थलहरुमा झन्झट पर्नसक्छ ।

गाउँबाट ताजा माछा, मासु र विभिन्न परिकार पनि  लिएर विमानस्थलमा पुग्ने धेरै छन् । तर, विमानमार्फत प्रमाणीकरण नगरी मासु ओसारपसार गर्न पाइँदैन । दूध दहीजस्ता पोखिन सक्ने झोलिलो पदार्थसमेत बोक्नु हुँदैन ।

यस्तै व्यापारिक ट्रेडमार्क नभएका, गुणस्तर प्रमाणित नभएका कतिपय कृषि उत्पादन पनि सम्बन्धित मुलुकमा प्रतिवन्धित हुन्छन् । त्यसैले विभिन्नखालका झञ्झटमा पर्नुभन्दा त्यस्ता खालका सामान लिएर विमानस्थल नपुग्नु नै बुद्धिमतापूर्ण हुन्छ ।

नशालु र लठ्याउने खालका एलोपेथिक वा रसायनिक औषधि पनि लैजान मनाही छ । शिलाजित वा स्थानीय स्तरमा उत्पादित एवं प्रशोधित रङ वा आकार प्रकारबाट के हो भनी भन्सार निरीक्षकले चिन्न नसक्ने औषधि, अश्लील -नग्न तथा अर्धनग्न) तस्वीर भएका किताव, पत्रपत्रिका, सीडी लगायतका वस्तुहरु र पूर्व अनुमति विना अश्लील नभए तापनि ठूलो संख्यामा सीडी र डीभीडी पनि लैजान पाइँदैन ।

५. योजनावद्ध प्याकिङ गुर्नुस्

तपाईले विदेश जानु अघि गर्ने प्याकिङ योजनावद्ध हुनुपर्छ । कुन झोला कार्गोमा र कुन आˆनो साथमा राख्ने भन्ने छुट्याउनुपर्छ । आफूले प्रयोग गरिहनुपर्ने सामान आफैसँग हुने ब्यागमा राख्नुपर्छ । यसमा हवाइ टिकट, पासपोर्ट, वैदेशिक रोजगार विभागबाट लिएको श्रम स्वीकृतिपत्र, रोजगारदाताले दिएको अनुमतिपत्र वा अन्य सामानहरु राख्नुपर्छ ।

यी कागजातको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि गन्तव्य मुलुकको विमानस्थलसम्म खोजी हुन्छ । तर, कार्गोमा राखिएका सामानहरु जहाज चढेपछि एकैचोटि झर्ने समयमा मात्र लिन पाइन्छ । यस्ता सामान एअरपोर्टमा लागि निस्कनु अघि घरैमा मिलाएर प्याकिङ गर्नुपर्छ । ब्याग र लकेजलाई लक गर्नुस् ।

६. आफू जाने देशको पैसा बोक्नुस्

तपाईं विदेश जाँदा आफू जाने देशको केही रकम लिएर जानपर्छ । त्यसका लागि तपाईंले राष्ट्र बैंकसहित विभिन्न विदेशी मुद्रा कारोबार गर्ने बैंकहरुबाट सम्बन्धित देशको मुद्रा किन्न सकिन्छ । कति रकम लैजाने भन्नेबारे भने तपाईंले जाने बुझेकासँग पहिले नै सोध्नुपर्छ । तोकिएको बिक्री मूल्य बराबर नेपाली रुपैयाँ दिएपछि बैंकले विदेशी मुद्रा बेच्छन् ।

यसका लागि एउटा फारम भरेर भिसा, पासपोर्ट र हवाइ टिकटको प्रतिलिपि भने बैंकमा बुझाउनुपर्छ । यो रकम आफ्नो साथमै बोक्नुस् । सम्बन्धित देशको रकम तपाईं विदेश पुग्नासाथ काम लाग्छ । विदेश पुगेपछि घरमा फोन गर्न, विमानस्थलमा खाजा खान र मोबाइलको सीम किन्न यो रकम प्रयोग गर्न सकिन्छ । कुनै संकट आइलागे यो उपयोगी हुन्छ ।

७. मानसिकरुपमा पनि तयार हुनुस्

तपाईं विदेश जाने भएपछि भौतिक रुपमा मात्रै तयार भएर पुग्दैन । मानसिक रुपमा आफू विदेश जाँदैछु र संघर्ष गर्नुपर्छ भन्ने विषयमा प्रतिवद्ध हुनुस् । हडबडाउने भन्दा मानसिक रुपमा आफूलाई तयार गर्नुपर्छ ।

कुनै समस्या भए परिवार र साथीभाइसँग सेयर गर्नुस् । छुट्टनिे समयमा आफूलाई अनियन्त्रित हुन नदिनुस् । मान्नुस् कि ‘जीतका लागि हिँड्दैछु, जीतेरै आउनेछु ।’ विमानको यात्राका विषयमा चिन्तित हुनुपर्दैन । विदेश जानुअघि लिएको अभिमुखीकरणमा सिकाइएका कुरालाई ध्यान दिनुपर्छ ।

८. ड्रेसअपमा ध्यान दिनुस्

तपाईंले विदेश यात्रामा निस्किँदै हुनहुन्छ भने आफ्नो ड्रेसअपमा पनि ध्यान दिनुपर्छ । तपाईंको व्यक्तित्व नै ड्रेसअपमा झल्किने भएकाले साधाराण तर, प्रभावी ड्रेसअप गर्नुस् । यसले तपाईंलाई आत्मविश्वासी देखाउन सहयोग गर्नेछ । आफूलाई ‘कम्र्फट’ हुने लुगा छनौट गरेर लगाउनुस् ।

तर, विमानमा आफूसँगै अन्य मानिसले पनि यात्रा गर्दैछन् भन्ने कुरा भुल्नुहुँदैन । बास्ना आउनका लागि लगाइने विभिन्न किसिमका कडा पˆर्युम प्रयोग नगर्नु राम्रो हुन्छ । यो अरुलाई मन नपर्ने वा एलर्जी हुने अवस्था पनि हुन्छ ।

अरुलाई असर गर्ने त्यस्ता वस्तुहरुको प्रयोग नगर्नु राम्रो मानिन्छ । कतिपय एयरलाइन्सले आˆनो वेबसाइटहरुमा यात्रा बारे सूचना राखेका हुन्छन् । जान्नुहुन्छ भने आफू विदेश जाने विमान कम्पनीको वेबसाइटमा यस्ता जानकारी लिन सक्नुहुन्छ ।

९. समयमै निस्कनुस्

फ्लाइटको दिन समय हेरेर तपाईं बेलैमा आफू बसेको ठाउँबाट निस्किनुपर्छ । राजधानीका सडकमा ट्राफिक जामको ठूलो समस्या छ । यस्ता सवारी जामको समस्याबाट बच्न समयमै विमानस्थल पुग्ने गरी हिँड्नुपर्छ ।

सामान्यतया उडान समयभन्दा कम्तिमा २/३ घण्टाअघि विमानस्थल प्रवेश गर्दा तपाईंलाई सहज हुन्छ । विमानस्थलमा भिसा, हवाई टिकट, श्रम स्वीकृति, बोकेका सामान जाँच गराउनुपर्छ । यस्ता सामान जाँच गर्दा लामो समय लाग्छ । त्यसैले बेलैमा जाँदा राम्रो हुन्छ ।

१०. नजानेका कुरामा सहयोग माग्नुस्

विमानस्थलभित्र विदेश जान लागेका लागि छुट्टै कक्षको हुन्छ । त्यस्ता कक्षको प्रवेशद्वारमा  प्रस्थानको संकेत हुन्छ ।
लाइनमा बसेर सभ्यतापूर्वक प्रवेश गर्नुस् । टिकट बुझ्नेदेखि कागजी प्रक्रिया पुरा गर्दा काम गर्ने कर्मचारीसँग सौहार्द्धपूर्ण सम्वाद गर्नुपर्छ । आफूलाई जानकारी नभएका र नबुझिएका विषय छन् भने विनम्रतापूर्वक सोध्नुस् ।

विमानमा कुनै समस्या परे परिचारिकाहरुसँग सहयोगका लागि आग्रह गर्न सक्नुहुन्छ । विमानभित्र आफ्नो सभ्य व्यवहारलाई कायम राख्नुहोला । अरुलाई समस्या पर्ने कुनै काम नगर्नुस् ।

अनुशासनमा रहँदा र नजानेका विषयमा अरुसँग सोध्दा तपाईंलाई समस्या पर्ने छैन । ट्रान्जिट तथा विदेशका विमानस्थलमा पनि त्यहाँको नियमको पालना गर्नुपर्छ । मात्तिने र आत्तिने गर्नुहुँदैन ।

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?