Comments Add Comment

सरकारको ढुकुटीमा अहिलेसम्मकै धेरै रकम, शुभ लक्षण होइन

Nrb-810३१ वैशाख, काठमाडौं । विकास खर्च हुन नसक्दा सरकारी ढुकुटीमा हालसम्मकै उच्च रकम जम्मा भएको छ । नेपाल राष्ट्र बैंकमा रहेको सरकारी ढुकुटीमा २ खर्ब ७ अर्ब रुपैयाँ जम्मा भएको हो ।

‘मेरो जानकारीमा भएसम्म सरकारी ढुकुटीमा हालसम्मकै उच्च रकम बचत भएको छ,’ अर्थ मन्त्रालयका नीति विश्लेषण महाशाखा प्रमुख कृष्ण देवकोटाले अनलाइनखबरसँग भने ।

सरकारको ढुकुटीमा रकम थन्किँदा मुलुकमा आर्थिक क्रियाकलाप नै खुम्चिने भएकाले अर्थशास्त्रीहरु यसलाई अशुभ मान्छन् । अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

जसमध्ये हालसम्म ४१ प्रतिशत अर्थात ३ खर्ब ३६ अर्ब रुपैयाँमात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षका २ महिना अझै बाँकी छन्, आगामी २ महिनामा मात्रै २० प्रतिशत खर्च हुने सरकारी अधिकारीहरुको अनुमान छ ।

चालु आर्थिक वर्षका लागि २ खर्ब ९ अर्ब रुपैयाँ विकास बजेट छुट्याइएको थियो । जसमध्ये हालसम्म ४४ अर्ब रुपैयाँमात्रै खर्च भएको छ । जुन कुल विनियोजित विकास बजेटको २१ प्रतिशत मात्रै हो ।

सरकारको चालु खर्च भने बिनियोजित बजेटको ५० प्रतिशत छ । ४ खर्ब ८४ अर्ब रुपैयाँमध्ये ४ खर्ब ४२ अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रकको कायालयले जनाएको छ ।

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपाल राष्ट्र बैंकले सरकारका नाममा करिब ८५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । तर, सो ऋणको पनि सदुपयोग भएको छैन ।

अहिलेको मुख्य समस्या भनेको स्रोतको नभई, बजेट भएर पनि खर्च गर्नसक्ने क्षमता नहुनु भएको अर्थ मन्त्रालयका नीति विश्लेषण महशाखा प्रमुख देवकोटा बताउँछन् । ‘बजेटका लागि स्रोतको अभाव छैन,’ उनले भने- ‘तर, खर्च गर्न नसक्ने समस्याले अर्थतन्त्र थला परेको छ ।’

आगामी दिनमा सरकारले खर्च गर्ने क्षमतामा सुधार गर्नुपर्ने विज्ञहरु बताउँछन् । तर, अहिलेसम्म सरकारीस्तरबाट क्षमता सुधार गर्न प्रतिवद्धताबाहेक ठोस केही पनि आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment