२ जेठ, सप्तरी । झट्ट हेर्दा कान नसुन्ने छन् भन्ने लाग्दैन । तर उनी जन्मेदेखि नै बहिरा छन् । यी हुन् अरविन्द चौधरी । सप्तरी जिल्ला बहिरा संघका अध्यक्षसमेत रहेका उनले कान नसुनेका कारण दिनहु हण्डर-ठक्कर खानुपर्छ । त्यसैले आफूजस्ता श्रवणशक्ति नभएकाहरुको हितका निम्ति क्रियाशील छन् उनी ।
‘परिवार, समाज, इष्टमित्रदेखि कार्यालय धाउँदासम्म समस्या नै समस्या झेल्नुपर्छ,’ दोभाषेको सहयोगमा चौधरीले भन्छन्,- ‘मैले भोगेका समस्या अन्य साथीहरुले नभोगुने भनेर लागिरहेको छु ।’
सुन्न नसक्ने समस्याका कारण सास्ति भोगेका चौधरी अहिले सबैको कुरा बुझन थालेका छन् । यद्यपी आफ्नो कान ठीक भएर होइन । हालै उनले साथी पाएका छन् दोभाषेका रुपमा नरेश कुमार यादव । उनको सहयोगले इशारामा कुरा गर्ने र अरुको कुरा बुझ्न सक्ने भएका छन् ।
चौधरी र यादवको भेंट भएपछि दुबै मिलेर २०७१ सालमा सप्तरी बहिरा संघको स्थापना गरे । संघका चौधरीसहित सात जना पदाधिकारी छन् । सबैको समस्या चौधरीजस्तै छ । अरुको कुरा सुन्न र बुझनै सक्दैनन् ।
चौधरी सहितलाई दोभाषेका रुपमा सहयोग गर्दै आएका यादव पनि कुनै ठाउँबाट सिकेर भने आएका होइनन् । उनकी बहिनी पनि चौधरीजस्तै भएका कारण शुरुदेखि नै बहिनीसँग इसारामा कुरा गर्ने र टेलिभिजनहरुबाट सिकेर उनी दोभाषे बनेका हुन् । उनकै सहयोगका कारण कान नसुन्नेहरु यतिखेर सप्तरीमा एकत्रित हुने प्रयासमा छन् । ‘अब राज्यबाट केहि सहयोग पाउने अपेक्षा छ’ अध्यक्ष चौधरी भन्छन्, ‘राज्यले नहेरिदिए हाम्रो जीवन व्यर्थ नै बित्नेछ ।’
कम्तीमा दोभाषे देऊ
सप्तरी जिल्लामा मात्रै तीन हजारको हाराहारीमा कान नसुन्ने व्यक्तिहरु रहेको अनुमानित आँकडा छ । चौधरीले विस्तारै सबै गाविसमा सर्भेक्षण गरेर संख्या पत्ता लगाउने काम गरिने बताए । कुनै क्षेत्रबाट कुनै पनि किसिमको सहयोग नपाउँदा केहि गर्न नसकिएको उनको गुनासो छ ।
‘स्थानीय निकायमा अपाङ्ता भएकाहरुका लागि पनि बजेट आउँछ भन्ने सुनेको छु । तर त्यो पाउने अवसर हामीले पाउन सकेका छैनौं,’ उनले भने, ‘कम्तीमा त्यो बजेटबाट दोभाषे नियुक्त गरेर हाम्रो जीवनलाई सामान्य गर्ने प्रयास गरिनुपर्यो ।’ त्यसो भएमा कान नसुन्ने कुनै व्यक्ति महत्वपूर्ण कामका लागि आए दोभाषेको मद्दतले गर्न सकिने उनको भनाई छ ।
महिला तथा बालबालिका कार्यालयले मात्र एक जना दोभाषे राखेको छ । ‘तर तलव पाँच हजार मात्रै तोकिँदा उनी पनि छोड्ने मनस्थितिमा छन्’ चौधरीले भने, ‘स्थायी रुपमा दोभाषे राख्नु जरुरी छ । जसले गर्दा हामीलाई कुरा बुझ्न सहज हुनेछ ।’
यसबारेमा जिल्ला विकास समितिसहित बिभिन्न सरकारी कार्यालयहरुमा गएर कुराकानी गर्दा समेत कसैले कुनै चासो नलिएको उनले गुनासो गरे ।