Comments Add Comment

थानकोटबाट चन्द्रागिरी डाँडा केबुलकारमा सरर (फोटो फिचरसहित)

Chandragiri cable car (11)

३ जेठ, चन्द्रागिरी । राजधानीबासीले अबको एक महिनापछि केवलकार चढ्नका लागि थानकोट काटिरहनु पर्नेछैन ।छिट्टै थानकोटको गोदाम चौरबाट चन्द्रागिरी डाँडासम्म केवलकारको यात्रा गर्न पाइने छ ।

अहिले केवलकारको परीक्षण सञ्चालन भइरहेको छ । केही हप्ताको परीक्षणपछि व्यवसायीक रुपमा सुरु गर्ने काठमाडौं फनपार्क प्रालीका अध्यक्ष चन्द्र ढकालले बताए । असारसम्म राजधानीबासीले केवलकार चढ्न पाउने उनको भनाइ छ ।

केवलकार साढे दुई किलोमिटर लामो छ । यो दुरी केवलकारले ९ मिनेटमै पुरा गर्छ । केवलकारको अधिकतम गति प्रतिसेकेन्ड पाँच मिटर रहेको छ । थानकोटबाट चन्द्रगिरीसम्म ११ वटा पोल रहेका छन् । सबैभन्दा अग्लो पोलको उचाई ४२ मिटर रहेको अध्यक्ष ढकालले अनलाइनखबरलाई बताए ।Chandragiri cable car (2)

केवलकारमा ३८ वटा डब्बाहरु छन् । एउटा डब्बामा ८ जना बस्न मिल्छ । एक घण्टामा एक हजार जनालाई बोक्न सक्छ । शनिबार र विदाको दिन दैनिक १० हजार मानिस चन्द्रागिरी पुग्ने अनुमान कम्पनीले लगाएको छ ।

अहिलेसम्म चन्द्रागिरी केवलकारको करीव ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ । केवलकारसँगै अन्य संरचनाहरुको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

Chandragiri cable car (8)

चन्द्रागिरी डाँडामा ‘इच्छापुरेश्वर महादेव’को मन्दिर निर्माण भइरहेको छ । अहिले धमाधम मन्दिरको रंगरोगन तथा फिनिसिङको काम भइरहेको छ । केवलकारबाट ओर्लिएपछि मन्दिरमा पुगेर दर्शन गर्न सकिन्छ । जहाँ एउटामात्रै कुरा माग्दा जे माग्यो त्यही पुरा हुने जनविश्वास रहेको बताउँछन् अध्यक्ष ढकाल ।

झन्डै २६ सय मिटर उचाइमा रहेको चन्द्रागिरी डाँडाबाट काठमाडौं उपत्यका पुरै देख्न पाइन्छ । यसको अलवा यहाँबाट १८० डिग्रीको रेञ्जमा हिमाल, वरीपरी पहाड, दक्षिणतर्फ तराईको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

चन्द्रागिरी डाँडाको मौसम छिनछिनमै परिवर्तन हुने हुँदा त्यहाँ पुग्नेहरुलाई रमाइलो महसुस हुन्छ । चन्द्रागिरी डाँडालाई काठमाडौंको महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्ने योजना छ ।

Chandragiri cable car (7)

डाँडामा मन्दिरको अलवा भ्यू टावर बनाइएको छ । तीन तल्ला अग्लो भ्यू टावरमा दुईवटा रेष्टुरेन्ट हुनेछन् । जहाँ मिठो परिकार खाँदै दृश्यावलोकन गर्न पाइन्छ । भ्यू टावरको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

Chandragiri cable car (6)

यसैगरी डाँडामा बनाइएको फोर डी हलको पनि फिनिसिङको काम भइरहेको छ । साथै, बाटो पिच गर्ने काम पनि तीव्र रुपमा भइरहेको छ । ‘भौतिक संरचना निर्माण सँगसँगै ब्युटिफिकेसनको काम पनि भइरहेको छ’ अध्यक्ष ढकालले भने ।

चन्द्रागिरीमा पाँचतारे स्तरको रिसोर्ट बनाउन लागिएको छ । रिसोर्ट निर्माणको कामसमेत सुरु भइरहेको ढकालले बताए । करिव १ अर्ब लगानी हुने रिसोर्टमा १०० कोठाहरु हुनेछन् । यो रिसोर्टमा खर्चालु पर्यटक भित्राउने लक्ष्य राखिएको छ । मध्यमस्तरका पर्यटकका लागि अर्को होटल खोल्ने योजना छ ।

Chandragiri cable car (1)

काठमाडौं फनपार्कले सरकारसँग ४० वर्षका लागि ७२० रोपनी जग्गा लिजमा लिएर परियोजना सञ्चालन गर्न लागेको हो । परियोजनाको कूल लागत ३ अर्ब रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment