Comments Add Comment

नेपाली बालकः जसले बार्सिलोनाको एकेडेमीमा खेल्ने अफर अस्वीकार गरे

saswat rana (2)६ जेठ, काठमाडौं। व्यवसायिक फुटबलमा सबैखाले सफलताहरुको रेकर्ड बनाएको विख्यात क्लव हो बार्सिलोना । विश्वका एक से एक फुटबलरले यस गौरवशाली स्पेनिस क्लवमा जोडिने सपना पालेका हुन्छन् ।

भेटौं, ९ वषिर्य नेपाली बालक शास्वत रानालाई, जसले बार्सिलोनाको एकेडेमीबाट खेल्न आएको प्रस्ताव अस्वीकार गरे । केही दिनअघि नेपाल आएका शास्वतलाई उनका बुवाले डोर्‍याउँदै अनलाइखबरको कार्यालयसम्म लिएर आएका छन् ।

सन् २००३ मा डेनमार्क पुगेका नेपालका राष्ट्रिय सितेरियो कराँते खेलाडी विवेक रानाले उतै घरजम गरे । सन् २००७ मा शास्वतको जन्म डेनमार्कको राजधानी कोपनहेगनमै भयो । आफ्नो खेलजीवनको उत्कृष्ट समयमा बिदेश पलायन भएपछि विवेकले आफ्ना बाँकी सपनाहरु छोरामा हस्तान्तरण गरे ।

बाबुकै सोच अनुसार शास्वतले पनि सानैदेखि खेलकुदमै रुची देखाउन थाले । विवेक सम्झन्छन्- ‘प्राय बालबालिकाहरु सानोमा गुडियासँग र भाडाकुटी खेल्छन्, तर मेरो छोरो भने फुटबलसँगै खेल्थ्यो । राति सुत्ने बेलामा पनि फुटबल च्यापेर सुत्थ्यो । बाहिर सपिङमा जाँदा शास्वतलाई अरु केहि नचाहिने, तर फुटबल नकिनि सुख दिदैनथे ।

शास्वत बार्सिलोनामा खेल्न इच्छुक देखिएनन् । किनभने उनको टोली डेनमार्कको राष्ट्रिय च्याम्पियन भइसकेको थियो । बार्सिलोनाबाट खेल्दा राष्ट्रिय लिग खेल्न पाइदैन भन्ने थियो उनलाई

यात्रा यसरी सुरु भयो

व्यवसायिक फुटबलर बनाउनको लागि युरोपमा ३/४ बर्षको उमेरदेखि नै बालबालिकालाई एकेडेमीमा भर्ना लिइन्छ । विवेक छोरालाई उपयुक्त एकेडेमीमा भर्ना गर्नेबारे सोचिरहेका थिए ।

४ बर्षको छँदा स्कुलका शिक्षकले पनि शास्वतको फुटबलप्रतिको मोह देखेर उनलाई राम्रो एकेडेमीमा भर्ना गरिदिन सल्लाह दिए । विवेकले मध्य कोपनहेगनको एउटा क्लवमा आवेदन दिए । तर एकेडेमीमा भर्नाकै लागि लाइन बस्नुपर्‍यो । दुई बर्षसम्म पेण्डिङमै राखियो । यता शास्वतको उमेर बढ्दै थियो ।

दुई बर्षसम्म पालो नआएपछि विवेकले आफ्ना साथीमार्फत अन्य क्लव बुझ्न थाले । त्यसपछि शास्वतलाई उत्तरी कोपनहेगनको हेलरोप क्लवमा भर्ना गरियो । व्यवसायिक फुटबलमा पहिलो पाइला राखेका शास्वतले त्यसपछि आफ्नो प्रतिभा देखाउन थाले ।

सामान्यभन्दा दुई बर्ष ढिला गरी भर्ना भएका उनी एक महिनाको अवधिमा एकेडेमीको उत्कृष्ट ११ मा पर्न सफल भए, करिव १०० प्रतिस्पर्धीलाई उछिनेर । हेलरोप दोस्रो डिभिजनको क्लव हो । खेलाडी उत्पादनमा डेनमार्कको अव्वल एकेडेमीमा पर्छ यो ।

saswat rana (3)हेलरोपबाट तिखारिएको शास्वतको कला

एकेडेमीमा छनौट भएको एक महिनामै आफ्नो उमेर समूहको उत्कृष्ट ११ मा पर्न सफल शास्वतले त्यसयता उत्कृष्ट खेल प्रस्तुत गर्दै गए । उनी सबै पोजिसनबाट खेल्थे ।

‘सानो उमेर समूह भएका हुनाले प्रशिक्षकले सबै पोजिसनबाट खेलाएका छन्’, बाबु विवेकले भने-‘१५/१६ बर्षको उमेर नभएसम्म पोजिसनको कुरा आउँदैन । तर उसले डिफेन्सिभ मिडफिल्ड र गोलकिपिङमा राम्रो प्रदर्शन गर्दै आएको छ ।’

क्लवका प्रशिक्षक तथा व्यवस्थापकहरुले उनको प्रदर्शनको सराहना गरेका छन् । उनको उमेरसमूहमा शास्वत उत्कृष्ट तेस्रा खेलाडी हुन् । प्रशिक्षकहरुले पनि शास्वतले यस्तै प्रदर्शनलाई निरन्तरता दिएमा डेनमार्कको राष्ट्रिय टोलीमा पर्न सक्ने बताएका छन् ।

एकेडेमीमा भर्ना भएको १ बर्षपछि नै २०१५ मा उनी सम्मिलत अण्डर-८ को टोली डेनमार्कको राष्ट्रिय च्याम्पियन बनेको थियो । २०१६ मा अण्डर-९ को टोलीपनि उमेर समूहमा च्याम्पियन बन्यो । दुवै प्रतियोगितामा १५ टोलीलाई पछि पार्दै शास्वतको टोली च्याम्पियन बनेको थियो ।

यसका अलावा उनले नेदरल्याण्ड्स, जर्मनी, नर्वे लगायतमा मुलुकका आफ्नै उमेर समूहका टोलीसँग फुटबल खेलेका छन् । इंग्लिस क्लव चेल्सी, लिभरपुल, बेल्जियकको एण्डरलेक्ट, फ्रान्सको पिएसभी लगायतका टोलीसँग पनि उनले फुटबल खेलेका छन् ।

आगामी जुलाइदेखि उनी १० बर्ष लाग्नेछन् । अगष्टदेखि सुरु हुने अर्को सिजनमा उनले एकेडेमीको अण्डर १० टोलीबाट खेल्नेछन् ।

बार्सिलोनाको एकेडेमीमा जान मानेनन्

स्पेनिस महारथी टोली बार्सिलोनाको एकेडेमी ला मासियामा प्रशिक्षणका लागि उनी छनौट भएका थिए । तर जान मानेनन् । केहि महिनाअघि बार्सिलोनाका अधिकारीले डेनमार्कमा खेलाडीको छनौटका लागि आएका थिए । करिव ८०० जना बालकहरुमध्ये शास्वत उत्कृष्ट १२ भित्र पर्न सफल भएका थिए ।

बाबु विवेकका अनुसार शास्वत बार्सिलोनामा खेल्न इच्छुक देखिएनन् । किनभने उनको टोली डेनमार्कको राष्ट्रिय च्याम्पियन भइसकेको थियो । बार्सिलोनाबाट खेल्दा राष्ट्रिय लिग खेल्न पाइदैन भन्ने थियो उनलाई ।

saswat rana (1)बाबु विवेकका अनुसार खासमा शास्वतले ट्रायलमा पनि जान मानेका थिएनन् । तर उनकी मम्मी सुशीला हमालको मनपर्ने टोली बार्सिलोना भएकाले छोरालाई मनाएकी थिइन् । विवेक भन्छन्- ‘५० प्रतिशतपछि ट्रायल पुरा दिएको थिएन तर ला मासियाका अधिकारीले उसलाई छनौट गरे ।’

तर बार्सिलोनाका अधिकारीले भने १५/१६ बर्षको उमेरसम्ममा पनि उनले चाहेमा आउन सक्ने बचन दिएका छन् । त्यसो त शास्वतको मनपर्ने टोली बार्सिनोला नै हो । लियोनल मेस्सी मनपर्ने फुटबलर बताउने उनी भने डेनमार्कको राष्ट्रिय टोलीमा खेल्ने धोको पुरा गर्नकै लागि बार्सिलोना जान मानेनन् ।

युरोपियन च्याम्पियन्स लिग खेलाउने सपना

शास्वतका बाबु विवेक पनि छोराले डेनमार्कको राष्ट्रिय टोलीबाट खेलेको हेर्न चाहन्छन् । एकेडेमीका प्रशिक्षकहरुले पनि उनमा राष्ट्रिय टोलीबाट खेल्न सक्ने क्षमता रहेको बताएका छन् ।

उनको त्यो भन्दा ठूलो इच्छा भनेको छोराले युरोपियन च्याम्पियन्स लिग खेलेको हेर्ने छ । युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग खेल्नका लागि भने उनले डेनमार्क भन्दा बाहिरका क्लवहरु हेरिरहेका छन् । बार्सिलोना बाबु विवेकको सपनाको क्लव हो । अहिले नमाने पनि छोराले कालान्तरमा बार्सिलोनाबाट खेलेको हेर्ने आफुहरुको इच्छा पूरा हुनेमा विवेक विश्वस्त छन् ।

नेपालको फुटबलका विषयमा भने शास्वतलाई खासै केही थाहा छैन । उनी नेपालका विमल घर्तिमगरलगायत एकाध खेलाडीहरुलाई मात्र चिन्छन् । यद्यपि भविष्यमा नेपाली राष्ट्रिय टोलीका लागि योगदान दिने अवसर पाए खुशीसाथ स्वीकार्ने बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment