७ जेठ, काठमाडौं । सरकारले विदेशी नागरिकहरु कुनै पनि आन्दोलनमा सहभागी भए देश निकाला गरिने बताएको छ ।
संघीय गठवन्धनको आन्दोलनमा विदेशी नागरिक संलग्न भएको घटना सार्वजनिक भएपछि अध्यागमन विभागले विदेशीहरुका लागि सूचना नै निकालेको छ ।
पर्यटक, विद्यार्थी, पत्रकार तथा अन्य कुनै पनि भिसा बोकेर नेपाल प्रवेश गरेका विदेशी नागरिकले पारिश्रमिक पाउने गतिविधिमा संलग्न हुन नपाउने विभागले बताएको छ ।
त्यसो गरेमा अध्यागमन कानुनको उल्लंघन हुने भन्दै विभागले भिषा रद्द गर्ने र ५० हजारसम्म जरिवाना गर्ने बताएको छ । अध्यागमन विभागले आफ्नो सूचनामा भनेको छ, ‘नेपालमा आउने विदेशी नागरिकहरुले जुन प्रयोजनका लागि भिषा दिएका छन्, त्यो बाहेकका अरु गतिविधि गर्न पाइँदैन ।’
राजनीतिक गतिविधिमा संलग्न भएको आरोपमा २ विदेशी नागरिक कारबाहीमा परिसकेका छन् ।
सूचना प्रविधिसम्बन्धी एक कम्पनीमा काम गर्ने भिसा लिएर नेपाल बसेका क्यानेडियन नागरिक रोबर्ट पेनरलाई हालै देश निकाला गरेको थियो भने आन्दोलनमा सहभागी भएका एक बेलायती नागरिकलाई पक्राउ गरेर दूताबासको जिम्मा लगाएको थियो ।
प्रतिक्रिया 4