+
+
Shares

वैदेशिक कामदारमा किन बढ्दै छ आत्महत्या ?

नेपालमा आत्महत्या १० प्रतिशतले बढ्दैछ

डा गोकर्ण दहाल डा गोकर्ण दहाल
२०७३ जेठ ९ गते १४:१६

मानसिक स्वास्थ्य समस्याले हरेक समाजमा विकराल रुप लिँदै गएको छ । विश्वमा अकालमा आत्महत्या गरी वाषिर्क १० लाख मानिसले जीवन गुमाउन बाध्य छन् । जसको प्रमुख कारण मानसिक दुरावस्था नै हो ।

नेपालमा आत्महत्या सम्बन्धमा खासै अध्यन नगरिए पनि बर्षेनी यो १० प्रतिशतले बढ्दै गएको छ । छिमेकि देश भारतमा युबाहरुमा हुने मृत्युको तेस्रो कारणमा आत्महत्या पर्दछ । नेपालमा आत्महत्यालाई खाली सामाजिक समस्याको रुपमा मात्र लिने गरिएको छ, जबकि यो एउटा मानसिक समस्याको चरम रुप  हो ।

विगत वर्ष कोरिया, मलेसिया लगायतका खाडी देशमा  कामको खोजीमा गएका युवाहरुको आत्महत्याका दुखद समाचार महिनैपिच्छे नेपाली सञ्चार माध्यममा आइरहे ।

विश्वमा डिप्रेशन एबं निरासामा बााचेका करिव ५० प्रतिशतले मात्रैै उपचार गर्ने गरेको तथ्याङ्क बिश्व मानसिक स्वास्थ्य सर्भेक्षणले देखाएको छ

घर परिवारको बढी अपेक्षा, अपरिपक्व र कलिलै उमेरमा घर परिवारसँगको बिछोड, बिदेश आएर सोचेजस्तो धन आर्जन गर्ने सपना पूरा नहुँदा र नेपाल फर्केर गरीखाने उपयुक्त आधार पनि नदेख्दा धेरैजसो युवाहरुले आत्महत्याको  बाटो रोजेको देखिन्छ ।

कति बैदेशिक कामदारहरु मानसिक लगायतका स्वास्थ्य समस्याका कारण वीचैमा स्वदेश फर्की सिधै बिमानस्थलबाट मानसिक अस्पतालमा जान बाध्य छन् । कति असन्तुलित मानसिकताका कारण हिंसात्मक ब्यवाहार देखाउने गरेका छन् । भर्खरै  साउदी अरबका राजदुत माथि गरिएको आक्रमण यसको ज्वलन्त उदाहरण हो ।

 धेरैजसो मानसिक समस्या १५ देखि ५९ बर्ष सम्मका मानिसमा  देखिने र प्रमुखरुपमा निरासा तथा मनोखिन्नताले ओगटेको पाइन्छ ।

विश्वमा डिप्रेशन एबं निरासामा बाँचेका करिव ५० प्रतिशतले मात्रैै उपचार गर्ने गरेको तथ्याङ्क बिश्व मानसिक स्वास्थ्य सर्भेक्षणले देखाएको छ । यस्तो अवस्थामा नेपालमा कति प्रतिशतले डिप्रेशनको उपचार गर्दाहुन् आफै अनुमान लगाउन सकिन्छ ।

करिब नब्बे प्रतिसत आत्महत्याका कारणहरुमा डिप्रेसनलाई लिने गरिन्छ । डिप्रेशन बिशेष प्रकारको काउन्सिलिङ र मनोबैज्ञानिक उपचार पद्दतिबाट ठीक हुन्छ । तर, यति सानो कुरामा नेपाली कामदारहरुले उचित उपचार पाइराखेका छैनन् ।

भाषागत समस्या, सम्वन्धित देशको स्वास्थ्य सेवा तथा अस्पतालप्रति जानकारी नहुनु, स्वास्थ्य बिमाको  अभाव र पैसाको अभावमा रोग लुकाउने प्रवृति जस्ता कारणहरुले काममा गएका नेपाली नागरिक स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् ।

यी र यस्ता मानसिक समस्याले एकातिर कमाएको पैसाजति उपचारमा खर्च गर्नुपरेको छ भने अर्कातिर  बिदेश जाँदा लागेका ऋणका कारण परिवारले अझ ठूलो आर्थिक बोझ खप्नुपरेको छ । एक अनुसन्धानका अनुसार परिवारमा एकजनालाई मानसिक समस्या देखियो भने उक्त परिवारको समग्र आर्थिक उत्पादनमा १६ देखि ३३ प्रतिशतले कमी हुन्छ ।

यति मात्र नभई दिनभर काम गरेर राति साथीभाइहरुसँग मिली स्थानीयस्तरमा अवैधरुपमा तयार गरिएको गुणस्तरविहीन रक्सी -घरेलु रक्सी) पिउने गर्नाले कति नेपालीहरुले अकालमा ज्यान गुमाइरहेका छन् भने कति लागू पदार्थको दुब्र्यसनीको  शिकार भएका छन् ।

Gokarna-Dahal
लेखक

बैदेशिक रोजगारमा गएका कतिपय महिला दिदीबहिनीहरु यौनजन्य हिंसाका घटनाबाट पनि प्रताडित भएको पाइन्छ, जसको असरले मानसिक सन्तुलन गुमाउनेदेखि आत्महत्यासम्म गर्ने प्रयास गरेको पाइन्छ ।

पछिल्लो समय फेसबुक, टि्वटर लगायतका सामाजिक  सञ्जालहरुका कारण हुने गरेको साइबर बुलिङ पनि आत्महत्या बढ्ने कारण बन्दै गएको छ ।

आफूसँगै बिदेश आएको साथीले राम्रो आम्दानी गर्ने तर आफ्नो आम्दानी कम भएको वा काम राम्रो नभएको भन्ने सोचले कामदारमा बिस्तारै निराशा पैदा हुन्छ । यसको समयमै व्यवस्थापन भएन भने यसले आत्महत्याको पनि रुप लिन सक्छ ।

बैदेशिक रोजगारका  कारण समाजमा देखिएका केही बेथितीहरुले पनि मानसिक समस्यालाई बढाएको देखिन्छ । श्रीमान् र श्रीमतीवीच सम्बन्ध विच्छेद जस्ता घटना एकातिर बढिरहेका छन्, जसका कारण दुबैमा मानसिक समस्या त देखिएको छ नै, कलिला बालबच्चाहरुमा समेत आफ्ना बाबुआमाको राम्रो हेरचाह नपाउँदा उनीहरुको बाल मस्तिष्कमा असर पर्न गई भविश्य चौपट बन्ने प्रायः निश्चित छ ।

मानिस आखिर किन चाहन्छन् मर्न ?

विश्वका करिब ४५ करोड मानिसमा कुनै न कुनै प्रकारको मानसिक सम्ास्या छ । विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनले प्रत्येक १० जनामा १ जनासँग कुनै न कुनै प्रकारको मानसिक रोग भएको तथ्याङ्क प्रक्षेपण गरेको छ ।

विश्वले मानसिक समस्याका कारण देखिने यी र यस्ता  हरेक पक्षलाई सम्बोधन गर्न करिव ६ टि्रलीयन अमेरिकी डलर खर्चनु पर्ने तथ्य विश्व स्वास्थ्य संगठनले बाहिर ल्याएको छ ।

बदलिँदो जीवनशैली, नसर्ने रोगहरुको बढ्दो चाप, १० बर्षे सशस्त्र द्वन्द्व, बेला-बेलामा आउने प्राकृतिक विपत, वातावरणीय प्रदुषण, गरीबी र बेरोजगार समस्याका कारण नेपालमा पनि ८५ लाखभन्दा बढी व्यक्तिमा कुनै न कुनै मानसिक समस्या रहेको एक तथ्याङ्कले देखाएको छ ।

बढ्दो बैदेशिक रोजगारसँगै राज्यले लत्रिएको अर्थतन्त्र धान्ने गरी  रेमिट्यान्स त भित्र्याएको छ । तर, सँगसँगै उर्जाशील युवाहरुको मानसिक स्वास्थ्यमा देखिएका असरहरुको बोझ पनि बोकिरहेको छ ।

पछिल्लो समय बैदेशिक कामदारहरुमा आत्महत्याका घटना दिनानु दिन बढिरहेको छन् । घरपरिवार ,समाज र आफ्नो भविष्यका   लागि सुनौलो रंगीन सपना बनाएर कामदार बिदेसिन्छन् १ तर विडम्बना परिवर्तित वातावरण, घरायसी तनाव, केटी साथीको  बिछोड, आर्थिक संकट र आफ्नो अहमको  कारणले आत्महत्या गर्ने गरेका छन् ।

वैदेशिक रोजगारमा जाने १५ देखि ५८ बर्ष सम्मका कामदारहरुमा मानसिक समस्या बढी देखिने कुरा अन्तराष्ट्रिय श्रम संगठनको एक प्रतिवेदनमा उल्लेख छ ।

विश्वका झण्डै १ सय १० देशमा नेपाली युवा युवतीले वैधानिकरुपले श्रम बेच्ने इजाजत प्राप्त गरेका छन् । तर तीमध्ये ६ देशसँग मात्रै श्रम सम्झाैता गरिएको छ । यो  तथ्याङ्कले जोखिमयुक्त वैदेशिक रोजगारीको झल्को दिन्छ ।

साउदी, कतार, मलेसिया, कोरिया, इजरायाल जस्ता मुलुकमा काम गर्ने नेपालीले चर्को मानसिक कष्ट भोगिरहेका छन् ।

एउटा व्यक्ति प्रवासन हुँदा धेरै कुराको सामना गर्नु पर्दछ । जस्तै- परिवार तथा सामाजिक सम्बन्ध, परिर्वतित वातावरण, भाषागत अज्ञानता, एवम् सांस्कृतिक फरकपन आदि ।

बढी आम्दानी र आरामदायी काम पाइने आशामा खाडी छिरेका नेपाली युवाहरुको दैनिक आउने तीनवटा शव, नेपालीलाई बेला-बेलामा दिइने मृत्युदण्डका समाचार, सामाजिक सञ्जालमा पोष्ट हुने गरेका कारुणिक तस्वीरले कमजोर बैदेशिक रोजगार व्यवस्थाको चित्रण गर्दछ ।

विदेश जाँदा ठूलो सपना बोकेका श्रमिकहरुले बिदेशमा भनेजस्तो काम नपाउने, काम पाइहाले पनि सम्झौता भएअनुसार पारिश्रमिक नपाउने, एक प्रकारको काममा भनेर ल्याई अर्कै प्रकारको काममा लगाउने, कामको करार अवधि सकिएपछि पनि रोजगारदाताले नेपाल नपठाउने, नेपालमा आफ्ना परिवारका सदस्यहरुको निधन हुँदा समेत रोजगारदाताले विदा नदिने, पारिवारिक बिछोड वा समस्या  एवं कामको प्रकृति पनि अप्ठयारो र जोखिमयुक्त भएका कारण बैदेशिक कामदारका मनमा निराशा, तनाव र मानसिक उद्वेग जस्ता लक्षण विस्तारै सुरु हुन्छन् । यी समस्या बेलैमा सम्बेाधन नहुँदा आत्महत्या गर्ने प्रवृति पनि पछिल्लो समयमा देखिँदै आएको छ ।

के गर्नुपर्छ ?

मानसिक तथा अन्य  रोगहरुको उपचार र पहिचानमा भाषा र संस्कृतिको ठूलो महत्व रहने भएकाले राज्यस्तरबाटै बढी कामदार भएको देशमा तत्कालै हेल्थ डेस्कको व्यवस्था गर्नुपर्दछ । वैदेशिक रोजगार विभागले वैदेशिक कामदारलाई दिँदै आएको अभिमुखीकरण तालिममा तनाव व्यवस्थापनको विषयलाई पनि समेट्नु पर्दछ ।

मानसिक क्षेत्रमा काम गर्ने सामाजिक अभियन्ता, संघ संगठन एवं नागरिक समाज पनि अझ बढी उर्जाशील हुनुपर्ने देखिन्छ भने परिवार र समाजले मानसिक समस्याका कारण फर्किएका बैदेशिक कामदारहरुलाई समाजमा उचित स्थान दिई सकारात्मक व्यवहार गर्नु जरुरी छ ।

(दहाल हान्याङ स्कुल अफ मेडिसिन्, दक्षिण कोरियामा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?