Comments Add Comment

उनी चिया पकाउँथिन्, म ग्राहक बोलाउँथेँ

RP Bhattrai

२०५५ सालको एसएलसी परिक्षाको पहिलो दिन मैले उनलाई स्कुलमा देखेँ । उनी परिक्षा दिन आएकी थिइन् । म चाहिँ भाईलाई बाइकमा स्कुल पुर्‍याउन ।

दुई चुल्ठो बाटेकी, जिउ लरक्क परेकी केटी देख्दैमा म सम्मोहित भएँ । पहिलो हेराईमै उनलाई आँखा झिम्क्याइदिएँ । तर उनी अर्कोपट्टी फर्किइन् । भाई मलाई हेर्दै रहेछ ।

‘मेरो साथी हो’ मैले केही सोध्नु अगावै भाइले भन्यो ।

‘नाम के हो ?’

‘कस्को’

‘तेरो साथीको ?’

‘सरु ।’

सरु के ?

‘भट्टराई’

थरले मलाई खुशी बनायो । पारिवारिक कारणले गर्दा म मेरो जीवनसाथी सकभर आफ्नै जातकी होस भन्ने चाहन्थेँ । भाइले सरुको बारेमा थाहा भए जति सूचना मलाई दियो । मैले सानोमा देखिरहेकी मंगलबारेकी फुच्ची रहिछ । अहिले यति लोभलाग्दी भइछ ।

भोलि यसलाई प्रपोज हान्छु भनेर मनमनै योजना बनाएँँ । त्यतिबेला म २२ वर्षको नौजवान थिए । विराटनगरमा हाम्रो घर थियो । जग्गाजमिन प्रशस्त भएका हामी खातापिता परिवारमै गनिन्थ्यौं ।

म कानून विषयमा ‘इन्टरमिडियट’ पढ्दै थिएँ । पढ्दै थिएँ के भन्नु, क्याम्पस भर्ना भएको थिएँ । मेरो मुख्य कर्म राजनीति थियो । मारमुङ्ग्री सहितको राजनीति । म अन्याय सहन नसक्ने मात्र होइन, अरुमाथि अन्याय भएको पनि देख्न नचाहने । त्यस्तोमा मारमुङ्ग्री गर्न अघि सरिहाल्थेँ । कतिलाई पिटियो र कतिको पिटाइ खाइयो लेखाजोखा छैन । कति (मामाघर) भित्रबाहिर गरियो हिसाबकिबताब छैन । भिडन्तमा थुप्रै पटक बालबाल बाँचेको छु ।

०००

सरु मेरो नाम र कामसँग भलिभाँति परिचित थिइन् । मैले उनकै गाउँमा गएर पनि थुप्रै लफडा गरेको थिएँ ।बिराटनगरदेखि मंगलबारेसम्म मलाई लफङ्गाको रुपमा चिन्थे । सरुले मलाई मन पराउने प्रश्नै थिएन । तर, मन नपराएर सुख्ख !

दोस्रो दिनको परिक्षा सकिएपछि मैले उनलाई पछ्याउने प्रयास गरेँ । तर, मैले नभेट्दै फुत्त गाडी चढिन् । उनी र म जानुपर्ने बाटो विपरित दिशामा थियो । म निराश भएर बाटो लागेँ । तेस्रो दिन मैले उनलाई पछ्याउनै भ्याइनँ । एवम् रितले एसएलसीको अन्तिम दिन आइपुग्यो । यसपटक मौका गुमाउनु थिएन ।

सरु एउटा पसलमा उभिएर बस पर्खिरहेकी थिइन् । बाइक अड्याएर म सोझै उनीतिर गएँ । दुस्साहस र घमण्डको ममा कमी थिएन । उनको सिधा अगाडि उभिएर भनेँ, ‘सरु, म तिमीलाई मन पराउँछु, आइ लभ यू ।’

उनी ‘सक्ड’ भइन् । केहीबेर मौन रहिन् । सोझै मलाई रिजेक्ट गर्ने आँट उनीसँग छैन भन्ने म जाँदथेँ ।

‘मेरो घरमा आएर बुवा-आमासँग कुरा गर्नुस् । मलाई केही थाहा छैन,’ उनले भुईंतिर हेरेर त्रशित भावमा जवाफ दिइन् ।

‘मैले तिम्रो बुवाआमासँग लभ गर्न लागेको हो र ?’ मैले अलि कडा स्वर बनाएर भनेँ । उनी झन् डराइन् । माया लागेर आयो ।

‘तिमी कुन स्कुलमा पढ्छेउ ?’ मैले मायालु भाकामा सोधेँ ।

‘गाउँको मान्छे, गाउँकै स्कुलमा पढ्छु,’ अब उनको स्वर कडा भयो ।

‘कस्तो सन्केको जवाफ दिएको, स्कुलको नाम त होला नि ?’ मैले फकाउने प्रयास गरेँ । तर त्यति नै बेला उनको गाडी आयो र उनी चढेर हिँडिन् ।

०००
मैले सरुको विषयमा थप चियोचर्चो गर्न थालेँ । उनको बारेमा जति नयाँ सुचना पाउँथेँ, उति बढि प्रभावित बन्थेँ । उनी पारिवारिक संस्कार र अनुशासमा हुर्केकी केटी हुन् भन्ने मैले बुझेँ । मलाई यस्तै केटीको खोजी थियो ।

RP Bhattrai 810

मेरो बिहे गर्ने उमेर भइसकेको पनि होइन । तर, राजनीतिमा लागेर बिग्रेको भनेर बुवाआमाले बिहे गरिदिने निधो गरिदिनुभएको थियो । बिहे गरेपछि मारपिट गर्ने र जाँडरक्सी खाने बानी सुधि्रएला भन्ने उहाँहरुको अपेक्षा थियो सायद । कामधाम केही नभए पनि विहे गर्ने भनेपछि म त्यसै फुर्किएको थिएँ ।

एक दिन बुवाले बोलाएर भन्नुभयो, ‘मंगलबारेमा फलानोकी छोरी छे । एसएलसी दिएर बसेकी । शिलस्वभाव असाध्यै राम्रो भएकी र घर गरेर खाने खालकी छ अरे । हेर्न जा न एकचोटी ।’

मलाई के गोज्छस कानो आँखो भइहाल्यो । मंगलबारेकी एसएलसी दिएकी केटी भन्नेबित्तिकै मेरो मन फुरुङ्ग भयो । राजदुत मोटरसाइकल चढेर कुदिहालेँ । केटीको नामसम्म सोधिनँ । पक्कै सरु नै हो भन्ने ढुक्क थिएँ ।

एउटा विवाहमा बुवाले त्यो केटीलाई भेट्नुभएको रहेछ । उनको चालचलन निकै मन परेछ । उनलाई बोलाएर लामै कुरा पनि गर्नुभएछ । परिवारको विषयमा सबै कुरा सोध्नुभएछ ।

मंगलबारेमा मेरो एउटा साथी थियो । उसले मलाई सरुको घरमा पुर्‍यायो । तर, सरु धान रोप्न गएकी रहिछन् । उनकी विवाहीत दिदीसँग गफगाफ भयो । बेलुकी मात्र आउने भनेपछि म फर्केँ । भोलिपल्ट आउँदा पनि भेट भइनन् । दिदीलाई भेटेर फर्केँ । ३ पटकसम्म जाँदा सरुसँग भेट भएन । तर, यतिञ्जेलमा दिदीसँग राम्रो सम्वन्ध बनाएँ ।

दिदीबाटै मैले के थाहा पाएँ भने सरुको एउटा केटासँग विहेको कुरा चलिरहेको छ । उहाँकै घरपट्टीको आफन्त पर्ने व्यक्तिसँग आजभोलिमै कुरा छिनिन सक्ने अवस्था रहेछ । यद्यपि, दिदी मप्रति सकारात्मक हुनुभयो । उहाँले भविष्यवाणी नै गर्नुभयो, ‘मेरी बहिनीको विवाह अन्तिममा तपाईंसँगै हुन्छ ।’

चौथोपटक म साँझमा सरुको घर पुगेँ । दिदीले सरु भान्सामा छे भन्नुभयो । म सरासर भान्सामा गएँ । उनी रोटी पकाउँदै थिइन् । भान्सा कोठामा मेरो उपस्थिति नै उनका लागि अप्रत्याशीत थियो । त्यसमाथि मैले उनलाई ठाडै सोधेँ, ‘तिमी मसँग बिहे गर्ने हो कि होइन ?’

‘म त पढ्ने हो, अहिले बिहे गर्दिन,’ उनले मेरो आँखामै हेरेर भनिन् ।

‘बिहेपछि हामी तिमीलाई पढाइहाल्छौं नि,’ मैले आश्वासन दिएँ ।

यत्तिकैमा उनको हजुरआमा भित्र आउनुभो । उहाँले भन्नुभो, ‘हजुर ढुक्क हुनुस, मेरी नातिनी हजुरलाई दिएँ ।’

उतिबेलाका बुढाबुढीहरु छोरी दिने भन्नासाथ राम्रो खान्दान र जग्गाजमिन भएको परिवार हेर्ने गर्थे । मेरो परिवारको बिराटनगरमा राम्रै प्रतिष्ठा थियो र जग्गाजमिन पनि मनग्गे थियो । त्यही भएर हजुरआमा मप्रति सकारात्मक हुनु स्वभाविक नै भयो ।

परिस्थितिले गर्दा मैले सरुसँग तुरुन्तै बिहे गर्नुपर्ने देखियो । अन्यथा मैले उनलाई गुमाउन सक्ने अवस्था थियो । म साहसिक निर्णय लिन हिच्किचाउने मान्छे थिइनँ । सरुको बुवा आएपछि कुरा राखेँ । उहाँले आफ्ना इस्टमित्रसँग सल्लाह गरेर प्रस्ताव दिनुभयो, ‘विवाह भोलि नै गरौं ।’

म सहमति भइहालेँ । त्यसरात म मेरो साथीकै घरमा बसेँ ।

भोलिपल्ट मैले बुवालाई फोन गरेँ । ‘बुवा म भोलि बिहे गर्दैछु’ भनेपछि बुवा स्तब्ध हुनुभयो । उहाँ मेरो निर्णयमा सहमत हुनुभएन । स्वभाविक नै थियो । छोराको बिहे कत्रो तामझामले गरुँला भन्ने थियो होला । मैले बुवालाई ‘भरे बुहारी लिएर आउँछु’ भनेर फोन राखिदिएँ । अन्य एकाध आफन्तलाई पनि फोन गरेँ । कसैले पनि मेरो निर्णय चित्त बुझाएनन् । तर, म पछि हट्ने अवस्था थिएन ।

तर, भोलिपल्ट बिहानसम्म सरु बिहेका लागि तयार भएकी रहिनछिन् । बिहान छिमेकीको खेतमा धान रोप्न जान ठिक्क परेको बेला बुवाले राम्ररी सम्झाउनभएछ । अनि आँखाभरी आँशु पार्दै स्वीकृति दिइछन् ।
०००
मंगलबारेमा रहेको प्रहरी चौकीमा मेरा धेरै साथीहरु थिए । तीनै प्रहरी साथीहरुलाई जन्ति बनाएर म बिहेका लागि मन्दिरमा हिँडे । बिहेको सबै चाँजोपाँजो उनीहरुले मिलाए । बिहेमा मेरो परिवारका कोही पनि आएनन् । सरुको परिवारका सबै हुनुहुन्थ्यो । २ घन्टाजतिमा बिहे सकेर म उनलाई लिएर घर हिँडेँ ।

घरमा बुहारी भित्र्याउने सबै तयारी गरिएको रहेछ । आमाले सबै विधि गरेर बुहारीलाई घरमा भित्र्याउनुभयो । अपर्झट बिहे गरेकोमा असन्तुष्ट भए पनि आफैंले छानेको बुहारी भएकाले बुवा भित्रभित्रै खुशी हुनुुहुन्थ्यो । उहाँले भोलिपल्ट खसी काटेर सारा गाउँलेलाई भोज खुवाउनुभयो । भोज खुवाउने क्रममा उहाँले मलाई औंल्याउदै भन्नुभयो, ‘यसले अब आइन्दा यसरी बिहे गर्दिन भनेर मसँग माफी माग्नुपर्छ कि पर्दैन ?’ बुवाले ठट्टामा होइन, गम्भीर रुपमा भनिरहनुभएको थियो । बुवाका दुई श्रीमती भएकाले पनि उहाँको भनाइमा गम्भीरता मिसिएको हुनुपर्छ । यद्यपि सबै जना हाँसे ।

०००

बिहे गरेको दुई दिनपछि दुल्हन फर्काउन गइयो । ससुराली गएको दिन म बाहिर घुम्न निस्केको थिएँ । सरुकी दिदीको आफन्त पर्ने व्यक्तिहरु दलबलसहित मेरो ससुरालीमा आएछन् । सरुसँग कुरा छिन्ने उद्देश्यसहित गाडी लिएर आएका उनीहरु सरुलाई सिन्दुरपोतेमा देखेपछि ठाडै खुट्टा फर्केछन् ।

त्यस रात राति सुतेको मात्रै के थियौं, कसैले ढोका ढक्ढक्यायो । सरुले ढोका खोलिन् । सासुआमा हुनुहुँदो रहेछ । उहाँ सरुलाई खासखुस गर्दै केही कुरा सम्झाउँदै हुनुहुन्थ्यो, ‘मैले भनेको गरिस् त ?’

‘अहँ, आज थाकेकी छु ।’

‘त्यसो भनेर हुँदैन । हरेक दिन गर्नुपर्छ ।’

‘हुन्छ’ भन्दै सरुले ढोका लगाइन् । ओछ्यानमा आएर मेरो गोडाबाट सिरक हटाइन् अनि धमाधम गोडा थिच्न थालिन् । मैले पर्दैन भनेर हटाएँ । उनी ‘आमाले भन्नु भएको’ भन्दै जिद्दी गर्दै थिइन् । तर मैले दिइनँ ।

०००

मैले राजनीतिमा लागेर पढाई बिगारेँ । आइए पनि पास गर्न सकेको थिइनँ । बिहे गरेपछि पारिवारिक दायित्व महसुस हुनथाल्यो । एक वर्षपछि छोरा पनि जन्मियो । मैले राजनीति छाडेर व्यवसायमा हात हाल्ने प्रयास गरेँ, तर जिल्लामा मेरो छवि राम्रो नभएकाले सफल हुन सकिनँ । त्यसपछि हामीले काठमाडौं गएर संघर्ष गर्ने निर्णय गर्‍यौं । अब मेरो जीवनको अर्को अध्याय सुरु भयो ।

काठमाडौं आउँदा २५ हजार दाम बोकेर आएका थियौं । साथमा थियो ६ महिनाको छोरो । मभित्र सानैदेखि अभिनयको भोक थियो । सानोमा काठमाडौं बस्दा केही टेलिसिरियलमा बालकलाकारको रुपमा अभिनय गरेको पनि थिएँ । थुप्रै कलाकार साथीहरु चिनेका थिए । मैले आफ्नो कलाकारितालाई अगाडि बढाएको हेर्न चाहन्थिन् सरु ।

गुजाराका लागि हामीले एउटा कस्मेटिक्स पसल खोल्यौं । सरुले सानो छोरो र पसल दुवै सम्हाल्थिन् । म खासाबाट सामानहरु ल्याउँथेँ । बाँकी रहेको समय विभिन्न सिरियलहरुमा कामको खोजी गर्दै बिताउन थालेँ । कसैले स-सानो रोल दिने आशा देखाउँथे । दिनभरी सुटिङ स्पटमा मेकअप गराएर राख्थे । बुम समात्नेदेखि अनेक काम लगाउँथे ।

अन्तिममा ‘आज भएन, भोलि तिम्रो सुटिङ है’ भन्दै हिस्स पार्थे । म चप्पल पड्काउँदै कोठामा फर्किन्थेँ । श्रीमतीलाई सुनाउँथे । उनले सान्त्वता दिँदै भन्थिन्, ‘एकैचोटीमा कसले रोल दिन्छ र । संघर्ष गर्दै गर्नुपर्छ, विस्तारै सफलता पाइहालिन्छ नि ।’

त्यतिबेला मलाई विनाशकाले विपरित बुद्धि भनेजस्तो भयो । जोरपाटीको पसल राम्रै चलिरहेको थियो । तर मलाई अब यस्तो सानोतिनो व्यवसाय गरेर हुँदैन भन्ने लाग्न थाल्यो ।

Rp Bhattrai wife Saru

मेरो एक जना साथीले ट्रक चलाएर मालामाल पैसा कमाएको देखेको थिएँ । मलाई पनि त्यसैगरी पैसा कमाउने धुन सवार भयो । श्रीमतीले नमान्दानमान्दै जेारपाटीको पसल एक लाख ७५ हजारमा बेचिदिएँ । उनले यसबाट ३० हजार मलाई दिनुस्, म अर्को पसल चलाउँछु भनेकी थिइन् । तर मैले भने, ‘अब तिमी दुःख गर्ने होइन । आरामले घरमा महारानी भएर बस । म पैसा कमाउछु ।’

आफूसँग भएको पैसा र बैंकबाट लोन लिएर एउटा ट्रक किनेँ । १६ लाखमा किनेको ट्रकले राम्रै आम्दानी दिन थाल्यो पनि । स्याउदेखि लसुनसम्म बाहिरबाट काठमाडौंमा ढुवानी गर्थेँ । एउटा ड्राइभरलाई १६ हजार तलव दिएर राखेको थिएँ । अरुको ट्रक भाडामा लिएर पनि फलफुल-तरकारीहरु काठमाडौंमा ओसार्न थालेको थिएँ । हामी जोरपाटीको कोठा छाडेर फ्ल्याट लिएर बस्न थाल्यौं । तर, त्यो सबै निभ्नुअघि बत्ति धिपिक्क बलेको जस्तो क्षणिक तुजुक रहेछ । मलाई ठूलो बज्रपात त्यतिबेला पर्‍यो, जब मुग्लिनमा पहिरो गएर सवारी आवागमन महिनौंसम्म ठप्प भयो ।

५८ सालको जेठमा मुग्लिन बाह्रविसेमा भीषण पहिरो गयो । फलफुल लोड गरेर आएको मेरो ट्रक बाटोमा अड्कियो । आफ्नो ट्रक मात्रै होइन, मैले अरुका ७-८ वटा ट्रक भाडामा लिएर फलफुल ओसारेको थिएँ । खरिदकर्ताबाट पैसा उठाइसकेको थिएँ । तर, उनीहरुलाई माल दिन सकिनँ । महिनौंसम्म बाटो नखुल्दा ट्रकमा ल्याएका सबै फलफुल कुहिएर नष्ट भए । मलाई करोडौं घाटा लाग्यो । म रातारात करोडपतिबाट रोडपतिमा परिणत भएँ । म मर्ने कि बहुलाउने जस्तो अवस्थामा पुगेँ ।

०००

मैले भित्रैदेखि हार खाइसकेको थिएँ । एकातर्फ ऋणको बोझले थिचिएर टाउकै उठाउन नसक्ने अवस्था थियो भने अर्कोतर्फ परिवारको गुजारा गर्ने आधार केही थिएन । त्यतिबेला सरुले आँट नदिएको भए म काठमाडौंबाट पलायन भइसक्थेँ । तर, म बिराटनगर फर्किँए भने पुरानै संगत र कुलतमा फस्छु भनेर सरुले काठमाडौंमै बस्ने अडान लिइन् । परिवारको पेट पाल्ने जिम्मेवारी आफ्नो काँधमा बोकिन् ।

म डिप्रेसन भएर केही काम गर्न सक्ने अवस्थामा थिइनँ । अर्कोतर्फ ऋणदाताहरुले ताकेता गर्न थालेपछि म कोठाभित्रै भूमिगत भएर बस्नुपर्ने अवस्था आएको थियो । यस्तो परिस्थितिमा पनि सरुले हिम्मत हारिनन् । कहिल्यै मेरो अगाडि मुख अँध्यारो पारिनन् । मलाई गुनासो र कचकच गरिनन् ।

सरुले कताकताबाट २५ हजार रुपैयाँ जुटाएर चुच्चेपाटीमा एउटा बेकरी सप खोलिन् । बिहान ३ बजे उठेर पसल खोल्न जान्थिन् र बेलुका फर्किन्थिन् । सानो छोरो जन्मिसकेको थियो । नातिहरुले स्याहार पाएनन् भनेर घरबाट बुवाले एउटा सहयोगी पठाइदिनुभएको थियो । सरुले उसलाई स्कुल भर्ना गरिदिइन् । बिहान-बेलुकी उसले घरको काम गर्थ्यो ।

एक दिन आठ बजे राति कोठामा फर्किने क्रममा मैजुबहालको ओरालो झर्दा ट्यापेहरुले उनलाई घेरेछन् । उनी ह्वारै दौडेर एउटा घरभित्र पसेर ज्यान जोगाइछन् । त्यस रात घर आएर मसँग धेरै रोइन् । त्यसको भोलिपल्टदेखि म पनि पसल जान थालेँ । बिहान चारबजेदेखि नै पसल चल्न थाल्थ्यो । उनी भित्र चिया पकाउथिन् । म बाहिर बाटोमा उभिएर नमस्ते गर्दै ग्राहक बोलाउँथे । दिनमा ५-६ क्यारेट दुधको चिया विक्री हुन थाल्यो । अलिअलि गर्दै पैसा जोगाएर ऋण तिर्न थाल्यौं । फुटकर ऋण तिरे पनि ठूलो ऋण तिर्न भने यसरी सम्भव थिएन । ऋण तिर्ने काममा मलाई परिवारबाट खासै सहयोग भएन ।

०००

बेकरी सप चलाइरहेको बेला एकपटक बुवा घरबाट आउनुभयो । बुहारीले चिया पकाएर बेचेको, छोराले गिलास पखालेको दृष्य उहाँलाई मन परेन । उहाँले सरुलाई बिराटनगर फर्किन निकै जोडबल गर्नुभयो । तर, उनले मान्दै मानिनन् ।

केही महिनापछि हामीले त्यो बेकरी सप ७५ हजारमा बेच्यौं र अर्को ठाउँमा फेरि २५ हजार लगानी गरेर खोल्यौं । उब्रेको ५० हजार ऋण तिर्‍यौं । यसरी नै किन्दै, नाफा गरेर बेच्दै र ऋण तिर्दै गर्ने सिलसिला चल्यो । तर, अझै पनि ठूलो ऋण बाँकी थियो ।

पछि मैले म्यानपावर कम्पनी खोलेँ । त्यसले मलाई माथि उकास्यो । म्यानपावरबाट भएको कमाइले गर्दा नै म धेरै ऋणबाट मुक्त भएँ । करिब सात वर्ष लाग्यो ऋण तिरिसक्न । करिब ५० लाख त ब्याज नै तिरेँ । ऋणबाट उक्सिसकेपछि मैले म्यानपावर पनि छाडेँ र कलाकारितामा केन्द्रित भएँ ।

०००

जिन्दगीमा धेरै पेशा अंगाले पनि मेरो लाइफलाइन भने कलाकारिता नै हो । सात वर्षसम्म थुप्रै सिरियलहरुमा बिना पारिश्रमिक अभिनय गरेँ । कहिलेकाहीँ बाटोखर्च भनेर ५ सय रुपैयाँ दिन्थे त्यत्ति हो ।

५२ घुस्सा ५३ ठक्कर भन्ने सिरियलले मलाई चिनायो । केही वर्षदेखि भुँडी अस्वभाविरुपमा बढिरहेको थियो । त्यही भुँडीले तितो सत्यमा ‘लाजालाम’को रोल प्राप्त भयो । यही क्यारेक्टरका कारण स्टेजहरुमा मेरो डिमाण्ड बढ्न थाल्यो । स्वदेश तथा विदेशका कार्यक्रमहरुमा व्यस्त भएँ । अहिले पनि यो क्यारेक्टरको उत्तिकै डिमाण्ड छ । ७२ सालमा भूकम्प र नाकाबन्दीले त्यति राम्रो भएन । नत्र कलाकारिताबाट चित्तबुझ्दो आम्दानी भइरहेको छ ।

कलाकारिताकै बलमा हालसालै गौरीघाटमा घर पनि बनाएँ । ६ महिनाअगाडि आफ्नै घरमा सर्‍यौं । तीन तल्लाको घर, तल्लो तल्ला भाडामा दिएका छौं । सरुले घरमै बसीबसी आफ्नै व्यवसाय चलाइरहेकी छिन् । महिनाको एक-डेढ लाख त्यसै पनि कमाइ हुन्छ । हामीले चिया बेच्ने गरेको चुच्चेपाटीको पसल अहिले पनि छ । हामी कहिलेकाहीँ गाडी चढेर त्यहाँ जान्छौं । अहिले पनि मान्छेहरुले लादालामले बेचेको पसल भनेर चिन्दा रहेछन् । त्यहाँ जाँदा हामीलाई निकै सम्मान गर्नुहुन्छ ।

मेरो कलाकारितालाई सरुले निकै माया गर्छिन् । बीचमा मैले धेरैपटक कलाकारिता छाड्ने निर्णय गर्दा उनैले दिइनन् । आफूलाई जून क्षेत्रमा लगाव छ, त्यो छाड्नुहुँदैन, ढिलो चाँडो सफलता पाइन्छ भनिरहन्थिन् । नभन्दै कलाकारितामा आज स्थापित बनेको छु । उनीसँगै बाटोमा हिँड्दा मानिसहरुले जिस्क्याउँछन् । उनले कहिल्यै नराम्रो मान्दिनन् । बरु खुशी हुन्छिन् । धेरै मानिसहरुले चिन्नु नै ठूलो कुरा हो भन्छिन् । आफूलाई लादालामकी श्रीमतीका रुपमा चिनाउँदा गर्व गर्छिन् ।

०००

वास्तवमा मैले श्रीमतीका रुपमा गार्जियन पाएको छु । उनले मलाई पाइला-पाइलामा आड भरोसा दिइन् । म लड्न लागेको बेलामा सहारा दिइन् ।

काठमाडौंमा हामीले कठिनभन्दा कठिन दुख व्यहोर्‍र्यौं । उनले सँधै मुटु दह्रो बनाएर हिँड्न सिकाइन् । उनको मार्गदर्शन नमान्दा, नटेर्दा मैले धेरै दुख पाएँ । उनले भनेको बाटोमा हिँड्दा सँधै सफल भएँ । म आज जून ठाउँमा छु, त्यसमा मेरोभन्दा श्रीमतीको ठूलो योगदान छ ।

प्रस्तुतीः चिरञ्जीवी पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment