Comments Add Comment

रुकुममा पहिलो यार्सा महोत्सव सुरु

सभामुखसहित माओवादी नेताहरुको बाक्लो उपस्थिति

Onsari-Gharti९ जेठ, रुकुम । बहुमूल्य जडिवुटी यार्सागुम्बाको संरक्षण तथा जलवायु परिवर्तनबारे सचेतना फैलाउन रुकुममा आयोजना गरिएको प्रथम पुपाल यार्सा महोत्सव आजदेखि सुरु भएको छ ।

नेपालमा आयोजना भएका महोत्सवमध्ये सबैभन्दा उचाई (४५०० मिटर) मा बिकट पहाडी जिल्ला रुुकुमको उत्तरी पूर्वी क्षेत्र रन्मामैकोट गाविसमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर आयोजना गरिएको हो ।

जीवन बुटीको रुपमा परिचित यार्सागुम्वाको महत्वबारे र रुकुमको पर्यटकीय विकासका लागि पुपाल यार्सा महोत्सव आयोजना गरिएको हो ।

‘यार्सा हिमाल र शिकार क्षेत्र रन्मामैकोटको परिचान, पर्यटन प्रवर्धनका लागि हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको उद्घाटन सभामुख ओनसरी घर्तीमगरले गरेकी हुन् ।

उद्घाटनपछि सम्बोधन गर्दै सभामुख घर्तीले आफ्नै उदाहरण दिँदै गाउँ गाउँका जनताको अधिकार स्थापित हुने संविधान बनेकै कारण जनताका छोराछोरी मुलुकको उच्च पदमा पुग्नसक्ने वातावरण बनेको बताइन् ।

उनले भनिन्-‘म पनि एउटी ग्रामिण महिला थिएँ, जनयुद्धदेखि २०६२/६३ को जनआन्दोलन हुदै गणतन्त्र स्थापित भएकै कारण म जस्ताले अधिकार पाइरहेका छन् ।’

यस्तै उनले यार्सागुम्वा नेपालमा मात्र पाइने बहुमूल्य जडिवुटीको संरक्षण र प्रवर्धनमा मैकोटवासीले पहिलो पटक यस्तो महोत्सव गरेकोले नेपाललाई फेरि एक पटक अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान दिलाउन टेवा पुगेको विश्वास व्यक्त गरिन् ।

त्यस्तै प्राकृतिक श्रोत साधनको समान उपयोगमा स्थानीयको पहुँचको नीति बनेको भन्दै अधिकारका लागि आफै अग्रसर हुन सुझावसमेत दिइन् ।

त्यस्तै महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्दै वनमन्त्री अग्निप्रसाद सापकोटाले यार्सागुम्वाजस्तो दुनियाकै महत्वपूर्ण जडिवुटी जलवायु मानवीय कारणले लोप हुने अवस्था आएको भन्दै यसलाई जोगाउन गम्भीर भएर लाग्नुपर्ने बताए । उनले विज्ञ र स्थानीयले समन्वय गरेर अध्ययन गरेर यसको संरक्षणमा लाग्न सापकोटाले सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्नै आपूर्तिमन्त्री गणेशमान पुनले एकतन्त्रीय शासनपछि रुकुमको मैकोट, हुकाम, ढोरपाटन लगायतका क्षेत्रहरु आर्थिक सामाजिक विकासतर्फ अघि बढेको बताए ।

रुकुम क्षेत्र नम्बर १ का सांसदसमेत रहेका पुनले सहिद मार्ग, गुरिल्ला मार्ग र मगर सांस्कृतिक संग्रहालय निर्माणका लागि आफु प्रतिबद्ध रहेको बताए ।

उनले एक अर्व बढिको बजेट पारेर रुकुम रोल्पाको हरेक गाविसमा मोटरबाटो पुर्‍याउन लागि परेको बताए ।

रुकुम क्षेत्र नम्बर १ का सांसद जनार्दन शर्माले यार्सागुम्बा मार्गनै निर्माण गरेर यस क्षेत्रको पर्यटकीय र समग्र विकासको लागि योजना बनाइरहेको दावी गरे ।

पुपाल यार्सा महोत्सव मुल आयोजना समितिका संयोजक लक्ष्मीप्रसाद पुनले रन्मामैकोट र पुपाल क्षेत्रको बिकासको लागि आयोजित महोत्सव अन्यभन्दा पृथक र नवीन सोच अनुसार आयोजना गरिएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment