Comments Add Comment

केपी ओलीको चिठीः ‘त्योचाँहि अलि ज्यादै आग्रहयुक्त भयो !’

यस्तो छ मधेसी मोर्चालाई प्रधानमन्त्रीले लेखेको दुईपन्ने पत्र

KP Oli११ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ मधेसी मोर्चाका नेताहरुलाई वार्ताको औपचारिक आह्वान गर्दै दुई पन्ने पत्र पठाए ।  ‘पहाडे कागज’मा लेखिएको पत्र ‘साहित्यिक’ तर ‘प्रुफ मिस्टेक’ले भरिएको छ ।

विभिन्न ६ वटा बुँदामा समेटिएको पत्रमा कमल थापाको बचाऊ गर्दै संविधान र गणतन्त्रप्रतिको उनको निष्ठामा शंका नगर्न मधेसी मोर्चाका नेतालाई आग्रह समेत गरिएको छ ।

मधेसी मोर्चाका नेताहरुलाई संविधान राम्रोसँग अध्ययन गर्न पनि प्रधानमन्त्रीले सुझाएका छन् । तर, सरकारले वार्ता र सम्वादकै माध्यमबाट समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।

पत्रको छैठौं नम्बर बुँदामा कमल थापाको संयोजकत्वमा गठित समितिबारे मोर्चाका नेताले उठाएको प्रश्नबारे प्रधानमन्त्रीले जवाफ दिएका छन् ।

प्रधानमन्त्री ओलीले कमल थापामाथि मोर्चाका नेताले उठाएको प्रश्नलाई ‘अलि ज्यादै आग्रहयुक्त भयो’ भनेका छन् । उपप्रधानमन्त्री कमल थापाको नाम उल्लेख नगरी प्रधानमन्त्री ओलीले पत्रमा लेखेका छन्- ‘जहाँसम्म सीमा सम्बन्धी मागलाई सम्बोधन गर्न सरकारद्वारा गठित समिति र संयोजक बारेको प्रसंग छ, त्यो चाँहि अलि ज्यादै आग्रहयुक्त भयो । नेपालको संविधान स्वीकार्ने जो कोही नेता वा कार्यकर्ताको लोकतन्त्र, संघीयता र त्यसले दिएको अधिकारप्रतिको निस्ठामा प्रश्न नगर्न म आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले मानवअधिकारप्रतिको आफ्नो निष्ठामाथि शंका नगर्न आग्रह गर्दै मोर्चाका नेतासमक्ष मधेस आन्दोलनका सहीद भएकाहरुको परिवारलाई राहत पठाइसकिएको र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन् । कहीँ कतै समस्या रहेको भए वार्तामा बसेर त्यसलाई समाधान गर्न तयार रहेको ओलीले स्पष्ट पारेका छन् ।

ओलीको पत्रको पहिलो बुँदामा विगतमा पटक पटक भएका वार्ताहरुबाट केही न केही उपलिब्धहरु भएको बताएका छन् । समस्या समाधानका लागि ती वार्ताहरु सहायक बन्न पुगेको प्रधानमन्त्रीको ठहर छ ।

पत्रको दोस्रो बुँदामा प्रधानमन्त्री ओलीले मधेसी मोर्चाकै आग्रहमा संविधान संशोधन गरेको र त्यसले नागरिकता लगायतका विषयहरुलाई सम्बोधन गरेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले मोर्चाका नेताहरुलाई संविधान राम्रोसँग अध्ययन गर्न आग्रह गर्दै भनेका छन्- ‘मोर्चाद्वारा गरिएका मागहरु जस्ताको त्यस्तै सम्बोधन भएनन् कि भन्ने भान परेको हुन सक्छ । सरकारको तर्फबाट म आग्रह गर्दछु, संशोधित दफाहरु ध्यानपूर्वक अध्ययन गरे उठाइएका मुद्दाहरुलाई त्यसबाट सम्बोधन गर्न सकिने कुरा मोर्चाका मित्रहरुले महसुस गर्न सक्नुहुनेछ ।’

प्रधानमन्त्रीको पत्रमा भाषिक त्रुटी पनि प्रशस्तै छन् । जस्तो ‘संविधान संशोधन’ लेख्नुपर्नेमा संविधान संवोधन लेखिएको छ । ‘सहकार्य’लाई ‘सहार्य’ लेखिएको छ । ‘फेरि’ लेख्नुपर्नेमा जोगीको ‘फेरी’ लेखिएको छ ।

हेर्नुहोस् प्रधानमन्त्रीको पत्र

PM letter 1 PM Letter 2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment