Comments Add Comment

प्रहरीकै अगाडि सिंहदरबारमा रातो रंग छ्याप्ने दुई पक्राउ

आइतबार छुटेका व्यक्तिले फेरि रंग छ्यापे

Sihadarbar

१२ जेठ, काठमाडौं । देशको प्रमुख प्रशासकीय भवन सिंहदरबारको पूर्वी पर्खालमा रातो रंग छ्याप्ने कार्यमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका उनीहरुलाई तीन दिन म्याद थप गरिएको छ ।

पक्राउ पर्नेमा आफूलाई राजनीतिक अभियन्ता बताउने इसान अधिकारी र पत्रकारसमेत रहेका शेषनारायण झा छन् । सोमबार राति साढे १० बजे सिंहदरबारको पर्खालमा रंग छ्यापेर भाग्ने प्रयास गर्दा उनीहरु पक्राउ परेका हुन् । घटनास्थलबाट एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी प्रजित केसीका अनुसार उनीहरु दुई दिनमा दोस्रोपटक पक्राउ परेका हुन् । पहिलोपटक आइतबार बेलुकी साढे आठ बजेतिर उनीहरुले रंग छ्यापेका थिए ।

त्यतिबेला प्रहरीले दुवैलाई अब आइन्दा यस्तो नगर्ने शर्तमा दुई घन्टापछि छाडेको थियो । ‘उनीहरुले आफूसँग अन्य ४-५ जना पत्रकारहरु पनि ल्याएका थिए,’ डीएसपी केसीले भने, ‘घटनामा संलग्न देखिएका दुईजनालाई समात्यौं, पत्रकारलाई केही गरेनौं ।’

प्रहरी हिरासतमा रहेका शेषनारायण र इशान्त
प्रहरी हिरासतमा रहेका शेषनारायण र इशान्त

दोस्रोपटक सोमबार राति इसान र शेषनारायण सहित सन्तोष ओझा नामका व्यक्ति पनि पक्राउ परे । रंग छ्याप्ने कार्यमा इसान र शेषनारायण संलग्न भएको प्रहरीको दाबी छ । सन्तोषले अलि पर बसेर फोटो खिचेका थिए ।

पछि बयान लिँदा सन्तोषले आफूलाई सगरमाथा टेलिभिजनको पत्रकार भएको बताए । प्रहरीले खोजी गर्दा उनको भनाइ सत्य देखिएपछि छोडिएको डीएसपी केसी बताउँछन् ।

शेषनारायणले पनि आफू पत्रकार भएको र त्यहाँ फोटो खिच्न मात्र आएको प्रहरीलाई बयान दिएका छन् । यद्यपि उनीसँग क्यामरा नभएको प्रहरीले जनाएको छ । क्यामेरा खोइ त भनेर सोध्दा उनले ‘यसैबाट फोटो खिच्छु’ भन्दै मोबाइल देखाए । शेषनारायणलाई पनि पत्रकार भएको आधारमा हाजिरी जमानीमा छाड्ने प्रहरीले तयारी गरेको छ ।

नेपाल पत्रकार महासंघको ललितपुर शाखाले पत्रकारलाई फोटो खिच्ने क्रममा प्रहरीले पक्राउ गरेको भन्दै विज्ञप्ति निकालेको छ ।  विज्ञप्तिमा शेषनारायणलाई तुरुन्तै रिहा गर्न माग गरिएको छ ।

शाखाका अध्यक्ष लेखनाथ न्यौपानेले निकाल्ने समयवोध साप्ताहिकमा शेषनारायणले काम गर्छन् । न्यौपानेले शेषनारायण मोटरसाइकलमा सिंहदरबारको बाटो भएर गइरहेका बेला रंग छ्यापेको देखेपछि फोटो खिच्न खोज्दा पक्राउ परेको दाबी गरेका छन् । ‘उनी विशुद्ध पत्रकार हुन्, रंग छ्याप्ने काममा संलग्न छैनन्,’ न्यौपानेले अनलाइनखबरसँग भने ।

घटनामा संलग्न प्रमुख व्यक्ति इशानले भने रंग छ्यापेको स्वीकार गरेका छन् । उनले ‘संसारका अगाडि सिंहदरबारको अपराध उदांगो पार्न’ रातो रंग पोतेको बयान दिएका छन् ।

डीएसपी केसीका अनुसार केही आन्दोलनकारीले आफ्नो हात चक्कुले काटेर सिंहदरबार गेटमा रगत पोत्ने योजना बनाएको सूचना प्रहरीकहाँ आएको थियो । त्यसपछि सिंहदरबार गेट अगाडि निगरानी बढाएको उनले बताए । ‘तर, बाल्टिनमा रंग बोकेर आएका व्यक्तिलाई शंका गरिएन,’ केसीले भने ।

को हुन् इशान ?

सेतो बस्त्र लगाएर हिँड्ने इशान अधिकारी काठमाडौंमा जन्मेका एक किशोर हुन्, जो मधेसका मुद्दाहरुमा सहानुभूति राख्छन् । नाकाबन्दीको बेलामा उनी ३७ दिनसम्म मधेसको पैदल यात्रा गरेर फर्केका थिए ।

मधेस यात्राबाट फर्केपछि अनलाइनखबरको कार्यालयमा समेत आइपुगेका उनले आफू ‘सेन्ट जेभियर्स स्कुलमा १० कक्षा पढ्दापढ्दै विद्यालय छाडेको बताएका थिए ।

इशानले एउटा पर्चा पनि निकालेका छन्, जुन प्रहरीको हातमा परेको छ । पर्चामा मधेस आन्दोलनमा प्रहरीले दमन गरेकाले आफू त्यसविरुद्ध अभियानमा रहेको उल्लेख गरेका छन् । उनले प्रहरीलाई आफू आइतबारदेखि निर्जल ब्रतमा रहेको समेत बताएका छन् ।

प्रहरीले उनी पछिल्लो समय संघीय लिम्बुवान पार्टीसँगनिकट रहेको दाबी गरेको छ । सो पार्टीका अध्यक्ष कुमार लिङ्देनले भने इशान अधिकारी नामको व्यक्तिलाई आफूले नचिनेको अनलाइनखबरसँग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment