Comments Add Comment

उमेर बढ्दै जाँदा किन घट्छ निद्रा ?

sleepingअक्सर पाका मानिसहरुको गुनासो हुन्छ की उनीहरुलाई निद्रा कम लाग्छ । उमेर ढल्केका कम्तिमा पनि आधाजसो मानिसहरु निद्राको समस्याको सामना गरिरहेका हुन्छन् । एक तिहाइ देखि एक चौथाइ पाका मानिसरुमा निद्रा नै नआउने समस्या हुन्छ ।

पाको उमेरका मानिसहरुमा निद्राको यस्तो समस्याले दुइ प्रकारले दुख दिन्छ । रात पर्ने बित्तिकै उनीहरु सुत्न जान्छन् । उनीहरुको निद्रा छिटै खुल्दछ तर त्यसपछि निद्रा लाग्दैन र जागै रहन्छन् । कहिलेकाहीँ बिमारीका कारण उनीहरुलाई सुत्न मुस्किल हुन्छ । कोही पनि स्वस्थ हुँदाहुँदै पनि राम्रोसँग सुत्नै सक्दैनन् ।

लामो समयसम्म राम्रोसँग सुत्न नपाउँदा स्वास्थ्यमा विभिन्न खाले नकारात्मक असर पर्दछन् । पर्याप्त निद्राको अभावमा जिउको रोग प्रतिरोधी क्षमतामा ह्रास आउँदछ । दिनमा आलस्यता आउने, दिक्क लाग्ने हुनुका साथै कुनै दुर्घटनाको सिकार हुने जोखिम बढ्दछ । त्यसैले राम्रो स्वास्थ्यका लागि राम्रो निद्रा आवश्यक हुन्छ ।

तर जब जब हाम्रो उमेर बढदै जान्छ जिउको खोज्ने निद्राको आवश्यकता पनि कम हुँदै जान्छ । त्यसैले यदि बुढो उमेरमा निद्रा कम लाग्दछ भने धेरै चिन्ता मान्नुपर्ने हुँदैन ।

यद्यपि यो ठ्याक्कै भन्न मुस्लिक हुन्छ की कुन उमेरका मानिसलाई कति निद्रा आवश्यक पर्दछ । तर हामीले कुन मानिस कति घण्टा सुत्दछ भन्ने कुरा थाहा पाउन चाहीा सक्दछौँ । यसबाट यो पत्ता लगाउन सकिन्छ की जवान मानिसहरुको तुलनामा पाका मानिसहरु कम सुत्दछन् । यसबाट बुढापाकाहरु कम सुत्ने कुरा त थाहा हुन्छ तर के उनीहरुलाई निद्राको आवश्यकता नै कम भएको हो ? भन्ने चाहीँ पत्ता लगाउन सकिँदैन ।

कतिपय मानिसको तर्क के हुन्छ भने बुढापाकाहरु दिउसोमा अन्य काममा व्यस्त हुनु नपर्ने भएकाले दिउसै उँघ्ने, झुल्ने वा केही समय झपक्क निदाउने भएकाले उनीहरु रातमा कम सुत्दछन् ।

बुढापाका मानिसहरुमा निद्रा नआउने समस्यालाई प्रायः डाक्टरहरुले गम्भीर रुपमा लिँदैनन् । एभ सर्भेक्षणका अनुसार सयमा ६९ जना बुढापाका मानिसहरुलाई राम्रोसँग निद्रा नै आउँदैन । यसले निद्रा नआउने समस्या लिएर डाक्टरकोमा पुगेका मध्ये ८१ प्रतिशतको गुनासो चाहीँ आफ्नो समस्याप्रति डाक्टरले ध्यान नै नदिएको भन्ने हुन्छ ।

केही छिनका लागि मानौँकी बुढापाकालाई धेरै निद्राको जरुरत पर्दछ । यदि त्यसो हो भने उनीहरु किन कम सुत्दछन् त ? यसको एउटा कारण यो पनि हुन सक्दछ की उमेर बढेसँगै उनीहरुको निद्रामा खलल पुग्दछ र उनीहरु छिटै जाग्दछन् ।

कतिपय अनुसन्धानले यो तर्कलाई सही सावित पनि गरेका छन् । पाका मानिसहरु रातमा छिटै सुत्ने र बिहान छिटै उठ्ने गर्दछन् । उनीहरुको जिउलाई सायद अझै निद्राको आवश्यकता हुन्छ तर उनीहरु सुत्न सक्दैनन् । कहिलेकाहीँ जबरजस्ती सुत्लान् पनि तर गहिरो निद्रा नै पर्दैन ।

हालै रुसमा १३० जना मानिसलाई प्रयोगशालामा दिनरात जागै राखियो । बीचबीचमा उनीहरुलाई कत्तिको निद्रा लागेको छ भनेर सोधियो । अलग अलग समयमा उनीहरुलाई अलग अलग प्रकारको निद्राको झप्को आइरहेको पाइयो । यसको कारण यो थियो की दिनको अलग अलग समयमा सरीरबाट मेलाटोनिन हर्मोन निस्कने प्रक्रिया पनि फरक हुन्छ ।

यो अध्ययनबाट अर्को तथ्य के पनि पत्ता लाग्यो भने जवान मानिसहरुको तुलनामा पाका मानिसहरुलाई निद्रा आउने समय पनि फरक हुँदोरहेछ ।

शोधकर्ता अर्केडी पुतिलोभका अनुसार उमेर बढेसँगै गहिरो निद्रा ल्याउने मस्तिष्कको तरंग कमजोजर बन्दछ । जसका कारण बुढापाकालाई निदाउन मुस्किल पर्दछ । यसका साथै बुढापाकाहरुको सरीरको जैविक घडी पनि सुस्त भैदिन्छ । सरीरको तापक्रम पनि घट्दछ र निद्रा लगाउने मेलाटोनिन हर्मोन पनि कम निस्किन्छ ।

अमेरिकाको मिचिगन विश्वविद्यालयका एन आर्वरले विश्वका ५ हजार मानिसको सुत्ने आनीबानीका बारेमा सर्भेक्षण गरे । त्यसमा उनले एउटा एपको सहयोग लिए । त्यस क्रममा उनले युवाहरुमा सुताइको आनीबानी फरक फरक हुने तर प्रायः सबैजसो बुढापाकाहरुको सुताइको आदत एकै प्रकारको हुने तथ्य पत्ता लगाए ।

धेरैजसो पाका मानिसहरु रातमा छिटै सुत्ने र बिहान छिटै जागा हुने गर्दछन् । अझ अर्को रोचक तथ्य त के भने मानिसहरु ४० वर्षको उमेरमा सबैभन्दा कम सुत्दछन् ।

सन् २००८ मा अमेरिकाको बि्रंघम वुमेन अस्पतामा निद्रा सम्बन्धी एउटा अर्को अध्ययन गरियो । त्यहाँ केही मानिसहरुलाई १६ घण्टा सम्म सुत्ने मौका दिइयो । त्यसक्रममा ६० देखि ७२ वर्षसम्मका मानिसहरु औषतमा साढे ७ घण्टासम्म निदाए । त्यस्तै १८ देखि ३२ वर्षसम्मका मानिसहरु नौ घण्टासम्म निद्राको मज्जा लिए ।

यसबाट के निष्कर्ष निकाल्न पनि सकिन्छ की बुढापाकाको तुलनामा जवानहरुलाई बढि निद्राको आवश्यकता पर्दोरहेछ । तर अरुको तर्क के पनि हुन्छ की जवान मानिसहरु कामले बढि थाकेका हुन्छन् त्यसैले उनीहरुलाई बढि निद्रा लाग्दछ । शोधकर्ताहरुका अनुसार रातमा निद्रा नपर्ने वा राम्रोसँग सुत्न नसकेका बुढापाकाहरु दिनमा चाहीँ मज्जाले घुरेर सुती निद्राको आवश्यकता पूर्ति गर्ने गर्दछन् ।

अमेरिकाको नेसनल स्लीप फाउन्डेसनका अनुसार वयस्क मानिसलाई ७ देखि ९ घण्टासम्मको निद्रा आवश्यक हुन्छ भने ६५ वर्षभन्दा बढि उमेरका मानिसहरुलाई ७ देखि ८ घण्टाको निद्राको आवश्यकता हुन्छ ।

रातमा अबेरसम्म जागै रहने र बिहान उठेर थकाइ महसुस गर्नु स्वास्थ्यका लागि राम्रो होइन । यस्तो अपर्याप्त निद्राले स्वास्थ्यमा खराब असर पार्दछ । त्यसैले यसलाई गम्भीरतापूर्वक लिएर आफ्नो सुताइको आनीबानीलाई नियमित तथा सन्तुलित बनाउनु पर्दछ । होइन भने तपाइँको स्वास्थ्य अझै बिगि्रन सक्दछ । त्यसैले राम्रोसँग सुत्नुहोस् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment