+
+
Shares

एक नर्सको अनुभूतिः कहिलेकाहीँ बिरामीसित गाढा माया बस्छ

बिरामी कुरुवाले प्रेम प्रस्ताव राख्थे, मैले वास्ता गरिनँ

भारती भेटवाल भारती भेटवाल
२०७३ जेठ १८ गते १०:३५

विगत दुई दशकदेखि नर्सिङ्ग पेशामा आवद्ध भारती भेटवाल हाल हेल्पिङ ह्याण्ड अस्पतालमा नर्सिङ निर्देशकका रुपमा कार्यरत छिन् । आफ्नो करिअरमा थापाथली अस्पताल, धरानको विपी मेमोरियल स्वास्थ्य प्रतिष्ठानमा तीन वर्ष नर्सिङ इन्चार्जको रुपमा काम गरेर मोडल अस्पतालमा झण्डै चार वर्ष नर्सिङ सुपरभाइजरको रुपमा काम गरेकी उनी विगत आठ वर्षदेखि हेल्पिङ ह्यान्डस्मा आवद्ध भएकी हुन् ।

उनका श्रीमान बिदुर सापकोटा एमाले संसद हुन् । भेटवालसित अनलाइनखबरकर्मी ऋचा अर्यालले गरेको कुराकानी:

Bharati bhetuwal
भारती भेटवाल

नर्सिङ पेशा किन रोज्नु भयो ?

सुरुमा मलाई यो पेशा के हो भन्ने थाहा थिएन । अस्पतालमा नर्सहरुले लगाएको सेतो साडी र क्याप सहितको युनिर्फम देख्दा निकै आकषिर्त हुन्थेँ । पछि जेठी दिदीलाई अस्पताल भर्ना गर्दा नर्सहरुले गरेको व्यवहार राम्रो रहेन । त्यसपछि बुवाले यस पेशामा लाग्न प्रेरणा दिनुभयो ।

सुरुमा काम थाल्दा कत्तिको गार्‍हो अनुभव भयो ?

तीन वर्षे नर्सिङ्ग कोर्सका दौरान हामीले प्राक्टिकल गर्नुपथ्र्यो । त्यसबेला म पनि त्यही १६/१७ वर्ष उमेरको  । एउटै जस्तो उमेर भएको अर्को पुरुष विरामीको नाडी छाम्नु पर्ने, व्लड प्रेसर जाच्नुपर्ने हुँदा निकै असजिलो महसुस हुन्थ्यो । यतिसम्म कि, बीचमै पढाई छोडुँ कि भन्नेसम्म नलागेको होइन । तर, पछि काम गर्दै जाँदा यो पेशा ठीक लाग्न थाल्यो ।

विरामीसित २४ सै घण्टा भइने हुँदा उनीहरु प्रति माया जाग्न थाल्यो । र, मैले अंगाल्नु पर्ने पेशा नै रहेछ भन्ने महसुस भयो ।

विरामीलाई स्याहार्दा मनमा कस्तो भाव उत्पन्न हुन्छन् ?

सुरु सुरुमा पढाईकै क्रममा विरामीको सेवा गर्नुपर्ने हुन्थ्यो । त्यतिबेला असजिलो हुन्थ्यो । पछि आफ्नो जिम्मेवारी बोध भयो । अर्को कुरा विरामीको सेवा गर्नुपर्छ भन्ने भावना भित्रैदेखि आएपछि समस्या भएन ।

बुढाबुढी तथा ‘फोहोरी’ विरामीहरु स्याहार्न झर्को लाग्छ कि लाग्दैन ?

विरामी नै स्याहार्छु भनेर आइसकेपछि ‘फोहोरी’ भन्ने भान हुँदैन । फेरि मैले आफ्नो कामको सुरुवात नै थापाथली अस्पतालबाट गरे । त्यहाँ आउने भनेका निम्न तथा मध्यमवर्गीय व्यक्तिहरु नै हुन् । त्यस्ता विरामीलाई जति राम्ररी हेर्न सक्यो, त्यति नै हामीलाई प्राक्टिस हुने हो ।

यद्यपि मलाई मनमा कता-कता पुरुष बिरामीलाई हेर्न नपरे हुन्थ्यो भन्ने लाग्थ्यो ।  बरु बुढाबुढी नै आए हुन्थ्यो भन्ने सोच्थेँ । गाह्रो नै भएको महसुस चाहिँ गरिनँ ।

कामको दौरान विरामी अथवा कुरुवाले जिस्क्याउने वा दुव्र्यवहार गर्ने घटना कति भए ? कसैले प्रेम प्रस्ताव नै राखे कि ?

जिस्क्याउने घटना त धेरै हुन्थ्यो । कतिले सिधै जिस्क्याउथे भने कतिले घुमाउरो पाराले । कुरुवाले हेर्ने दृष्टिकोण पनि फरक हुन्थ्यो । त्यस्ता प्रस्ताव पनि नआएका हैनन् । यतिसम्म कि विवाहपश्चात पनि फोन गर्ने, समय माग्ने, भेटाैं भन्ने धेरै हुन्थ्यो । जुन कुरालाई मैले सुरुबाटै वेवास्ता गर्दै गए । पछि बुझ्दै जाँदा यो सामान्य नै रहेछ भन्ने लाग्यो ।

लामो समय हेरेको विरामी डिस्चार्ज हुँदा कस्तो महसुस हुँदो रहेछ ?

यो विषय पढ्ने बेलादेखि नै म आमाबुबाबाट टाढा भएँ । त्यसैले पनि घरको याद त आइरहन्थ्यो । त्यसै दौरान मैले एक जना विरामी (आमा)लाई २६ दिनसम्म हेरेँ । उहाँ सुगरको रोगी हनुहुन्थ्यो । पिसाब र अन्य इन्फेक्सन भएर आउनु भयो । उहाँको उपचार गर्दै जाँदा यति गाढा माया बस्यो कि डिस्चार्ज हुने बेला रुवावासी नै भयो । परिवारको एकजना सदस्य नै छोडेर गए जस्तो । पछि उहाँले घरमा पुगेर पनि फोन गर्नुभयो । त्यो सम्झदा भने अहिले पनि निकै रमाइलो लाग्छ । अझ विशेषगरी उहाँले तपाईको बोली कति राम्रो भनेर भनिदिँदा निकै खुशी लागेको थियो ।

कस्तो रोगका विरामीलाई स्याहार्न गार्‍हो हुन्छ ?

रोगको कुरा गर्नुपर्दा विशेषगरी सरुवा रोग र एचआईभी पोजेटिभहरुलाई सम्हाल्न निकै गार्‍हो हुन्थ्यो । कतिपय अवस्थामा रोगबारे जानकारी हुँदाहुँदै पनि अस्पतालमा स्रोत र साधन नहुँदा हामीलाई रोग सर्न सक्ने जोखिम पनि उत्तिकै हुन्थ्यो ।

डाक्टर र नर्सको सम्बन्ध कस्तो हुन्छ ? 

डाक्टर र नर्सको सम्बन्ध भनेको टिम वर्क हो । यसमा दुवैको आ-आफ्नै भूमिका हुन्छ । दुवैको भावना भनेको विरामीलाई सन्तोष हुने गरी उपचार गर्ने हो । त्यो भन्दैमा सबै ठाउमा सबैको सम्बन्ध एउटै हुन्छ भन्ने हैन । कुनै ठाँउमा डाक्टरले समस्या उत्पन्न गरेका घटना पनि हुन्छन् । तर, मेरो हकमा मैले आफ्नो २० वर्षे कार्यकालमा यस्तो कुराको कहिल्यै अनुभव गर्नु परेन ।

डाक्टरको गाली खानु भएको घटना त होला नि ?

पहिलो कुरा त हामी नर्सहरु कहिल्यै पनि डाक्टरको अण्डरमा रहेर काम गर्दैनौं । हाम्रो आफ्नै टिम हुन्छ । त्यसो भन्दैमा डाक्टरले गाली नै नगर्ने भन्ने हैन । कहिलेकाही विना कारण विरामीकै अगाडी नर्सलाई गाली गर्दा समस्या हुने हो । मेरो हकमा मैले यस्तो समस्या कहिल्यै बेहोर्नु परेन ।

विरामीको पीडा बुझेर उनीहरुलाई व्यवहार गर । हैन भने एकपल्ट आफैँ विरामी भएर बेडमा सुतेर हेर । अनि बल्ल तिमीलाई विरामीको पीडा महसुस हुनेछ

विरामीलाई त गाली गर्नु भएको छ होला नि ?

त्यसो त सबै नर्सको स्वभाव आफैँमा फरक हुन्छ । तर, कतिपय अवस्थामा विरामीलाई गाली गर्नुपर्ने हुन्छ । विशेषगरी इमरजेन्सीमा र लेबर रुपमा विरामी आत्तिदा ठूलो समस्या आउने खतरा हुन्छ । त्यो अवस्था आउँन नदिन नचाहँदा नचाहँदै पनि हामी कडा हुनु पर्ने हुन्छ ।

आफु पनि त कहिले विरामी भएर अस्पताल बस्नु परेको होला । त्यो बेला डाक्टर र नर्सले गरेको व्यवहार कस्तो लाग्यो ?

म विरामी नै भएर अस्पताल बसेको भनेको जम्मा दुई पटक हो । छोरी जन्मदा र एपेन्डिक्सको अपरेसन गर्दा । सायद त्यसबेलाको अनुभवले गर्दा नै होला, आज म विरामीको पीडा बुझ्न सक्छु । विशेषगरी म नर्स हुँदा इन्जेक्सन हान्ने त हो नि जस्तो लाग्छ । तर, आफै विरामी भएर अस्पताल बस्दा भने भने विरामीको पीडा महसुस भयो । नर्स तथा डाक्टरहरुले आफू प्रति गर्ने व्यवहारमा फरक पाएँ । त्यसपछि मैलै सबैलाई यही भन्ने गरेको छु । ‘सक्छौ भने विरामीको पीडा बुझेर उनीहरुलाई व्यवहार गर । हैन भने एकपल्ट आफैँ विरामी भएर बेडमा सुतेर हेर । अनि बल्ल तिमीलाई विरामीको पीडा महसुस हुनेछ ।’ साच्चै भन्नु पर्दा त्यसबेला म आफैँ विरामी नभएको भए मैले चाहेर पनि उनीहरुको पीडा महसुस गर्न सक्दिनँ थिए होला ।

यो पेशामा दुःखको पक्ष के हो ?

सबैभन्दा ठूला कुरा त चाडवाड भन्न नपाउने । सामाजिक हुन नपाउने । यतिसम्म कि डेढ महिनाको बच्चा छोडेर पनि अस्पतालमा रातभरी ड्युटी गर्नु पथ्र्यो ।

नर्सलाई हेर्ने सामाजिक दृष्टिकोणमा कत्तिको पविर्तन आएको छ जस्तो लाग्छ ?

पहिले र अहिलेमा त निकै परिवर्तन छ । बीस वर्ष अगाडिसम्म पनि यसलाई फोहोरी पेशाको रुपमा हेरिन्थो । एकल महिलाले गर्ने पेशाको रुपमा लिइन्थ्यो । अहिले हेर्ने दृष्टिकाणमै परिवर्तन आएको छ । अहिले यसलाई इज्जतका साथ लिइन्छ । हरेक घरमा एकजना नर्स भएदेखि राम्रो हन्थ्यो भन्ने जमात बढ्दो छ । यतिसम्म कि दुरदराजका मानिस, जसले अस्पताल नै राम्ररी देखेका छैनन्, उनीहरु पनि आफ्ना छोरीहरुलाई नर्स बनाउन चाहन्छन् ।

श्रीमान्ले तपाईको पेशालाई कसरी लिनु भएको छ ?

श्रीमान्को कुरा गर्नुपर्दा सुरुबाटै उहाँको साथ रह्यो । हरेक मोडमा उहाँले सहयोग गर्नुभयो । परिवारले पनि मेरो पेशा बुझिदिए । कतिपय घरमा केटीमान्छे रातभरी नहुँदा अनेकौ समस्या आइपर्छन् । तर, मेरो हकमा कहिल्यै यस्तो भएन ।

अनि तपाईँलाई श्रीमानको राजनीति पेशा मन पर्छ कि पर्दैन?

मेरो विवाह भएको २५ वर्ष भयो । माइतीमा राजनितिक चेतना भएको र उहाँ राजनिति गर्नुहुन्छ भन्ने पहिले नै थाहा भएकोले पनि होला, त्यति समस्या भएन । तर, पछि बुझ्दा र सहकार्य गर्दै जादा चाहिँ नर्सिङ र राजनीति पेशा एक आपसमा अमिल्दो पेशा रहेछ भन्ने चाहि भान भयो  । कयौ पटक त मैले ‘कानुनमा स्नातक गरेको मान्छे किन राजनितिमा लागेको होला ? बरु त्यसैलाई अगाडी लैजानुसम्म पनि भनेँ ।’ तर, उहाँ पनि यसमा लाग्नु भएको ३५/३६ वर्ष भइसक्यो । भन्नासाथ आफूले गरिरहेको काम झ्वाट्ट छोड्न सकिँदो रहेनछ  ।

पछि आफैलाई पनि कस्तो-कस्तो लाग्थ्यो । मान्छेले दिएको सम्मान र इज्जत त्यसै कहाँ फाल्न सकिदो रहेछ र ? अझ हामीले कमाउने भनेको सम्पत्ति भनेकै यही मान/सम्मान हो भन्ने भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?