Comments Add Comment

कति महत्वपूर्ण छ बिहानको समय ?

morning walkअंग्रेजीमा एउटा भनाइ छः  अर्ली टू बेड एण्ड अर्ली टू राइज, मेक्स अ म्यान हेल्दी, वेल्दी एण्ड वाइज । अर्थात् जो मानिस रातमा छिटै सुत्ने र बिहान सबेरै उठ्ने गर्दछन् उनीहरु स्वस्थ, बुद्धिमान तथा धनी हुन्छन् । के यो भनाई वास्तविक हो त ?

बेलायतका टिम पावेललाई बिहान उठ्न मनै लाग्दैन । तरपनि उनी बिहान ६ बजेभन्दा पहिले नै उठ्दछन् । त्यसपछि जिमखाना जान्छन् र फर्केर काममा जाने तयार गर्छन् ।

बिहान ९ बजेअफिस सुरु हुनुभन्दा अगाडि नै उनी कार्यालय पुगिसक्छन् र काम सुरु गर्नु पहिले कार्यालय पपरिसरमा रहेको पार्कमा केहीबेर टहल्छन् । बिहिबार त उनी बिहानै पाँच बजेनै उठेर जर्मन भाषा सिक्न जान्छन् । उनी हरेक दिन आधा घण्टा कडा व्यायाम गर्दछन्, बसेर आरामले नास्ता गर्दछन्, केही बेर पार्कमा टहल्छन्, जर्मन भाषा सिक्दछन् र यी सबै काम आफ्नो अफिसको काम सुरु हुनुभन्दा अघि नै भ्याइसक्छन् ।

टिम हरेक हप्ता ७० घण्टा काम गर्दछन् । उनी नटिंघम सहरका पेटेन्ट सम्बन्धी वकिल हुन् । उनी आफ्नो त्यो पेशाको कारण बिहानै उठ्नु पर्दछ, नत्र उनले अरु काम गर्नै भ्याउँदैनन् ।

बिहान सबेरै उठ्न सुरु सुरुमा उनलाई निकै मुस्लिक परेको थियो । उठेपछि निकै अल्छी लाग्ने र कहिलेकाहीँ त फेरि सुत्ने गर्थे उनी । तर अहिले भने बिहान सबेरै उठ्ने बानी परिसक्यो ।

धेरै कामकाजी मानिसहरु बिहान सबेरै उठेर आफ्नो जरुरी काम कुनै डिस्टर्ब विना नै गर्न मन पराउँछन् । चर्चित पत्रिका भोगका सम्पादन एना विन्टोरको दिन बिहान पौने ६ बजे सुरु हुन्छ । उनी काम सुरु हुनुभन्दा पहिले एक घण्टा टेनिस पनि खेल्छिन् ।

विज्ञहरुका अनुसार बिहान उठ्ने र अफिस जाने बीचको समय निकै महत्वपूर्ण हुन्छ । यो बीचमा केही यस्ता काम सक्न सकिन्छ जो मानिसका लागि निकै महत्वर्पूर्ण हुन्छन् । ती कार्यालयसँग सम्बन्धित काम नहुन सक्छन् । व्यक्तित्व विकाश तथा अतिरिक्त आय लगायतका काम पनि हुनसक्छन् ।

तर बिहान उठ्ने बानी कसरी बसाल्ने ? अस्ट्रेलियावको पर्थ विश्वविद्यालयका प्राध्यापक मार्टिन ह्यागरका अनुसार मानिसको समयतालिका धेरै हदसम्म आफ्नो आनीबानीमा निर्भर गर्दछ । उनका अनुसार यदि समयतालिकामा सुधार ल्याउने हो भने मानिसले आफ्ना धेरै आनीबानीमा पनि सुधार गर्न सक्दछ । समयतालिकामा सुधार गरेर रातमा अबेरसम्म जागै रहने मानिस समेत बिहान सबेरै उठेर निर्धारित काम भ्याउन सक्दछ । त्यसैले रातमा सुत्नुअघि नै भोलिको समयतालिका बनाएर घडीमा अलार्म लगाएर सुत्नुपर्दछ ।

सबैभन्दा सफल मानिसहरुले बिहानको नास्ता अगाडि के गर्दछन्  ? नामक किताबकी लेखिका लारा वान्डरकमका अनुसार बिहानको समय तपाइँको आफ्नै हुन्छ । कसैले पनि तपाइँको यो समय हडप्न सक्दैन । दुनियाका अन्य सबै जिम्मेवारी तपाइँले दिउसोे निभाउन सक्नुहुन्छ । तर बिहानको समय भने आफ्नै लागि खर्चिनुपर्छ ।

उनले निकै कामकाजी तथा व्यस्त मानिसहरुको समयतालिकाको अध्ययन गरिन् । मानिस जति व्यस्त भएपनि बिहानको समय भने आफ्नै लागि छुट्टाउने गरेको उनले पाइन् । कसैलाई स्वास्थ्य सुधार्ने लगाव हुन्छ त कतिलाई केही नयाँ कुरा सिक्ने अनि कतिलाई परिवारसँग समय बिताउने ।

शोधकर्ताहरुका अनुसार रात अबेरसम्म जागै रहनेहरुले समेत बिहानको समयमा बढि सिर्जनात्मक काम गर्न सक्दछन् । अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका प्राध्यापक राय बामिस्टरका अनुसार बिहानको समयमा आफ्नो जागिरसँग सम्बन्धित समस्याहरुलाई पनि राम्रोसँग समाधान गर्न सकिन्छ ।

बिहानको समयमा मानिसको इच्छाशक्ति उच्च हुन्छ र दिन लाग्दै गएपछि यसमा कमी आउँछ । त्यसैले बिहानको समयमा सिर्जनात्मक सोँचाइ, समस्या समाधान जस्ता विषयमा बढि प्रभावकारी बन्दछ । त्यसैले बिहानको समयलाई बुद्धिमत्तापूर्ण उपयोग गर्नु आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment