बसन्त घर्तीमगर माओवादी जनयुद्धको उदगम थलो रोल्पाका हुन् । खुमेल गाविसमा जन्मिएका उनी एसएलसी पास गरेलगत्तै ०४६ सालदेखि प्रचण्ड नेतृत्वको मोटो मशालको राजनीतिमा लागे । दश वर्षे सशस्त्र युद्ध लडेका उनी युद्धकालमै रुपन्देही, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको इञ्चार्ज भएर जिम्मेवारी निर्वाह गरे । २०६० सालमा रुपन्देहीका कृष्णविक्रम शाहको ५ हजार ३ सय विगाहा जग्गा कब्जा, बेनी आक्रमण लगायतका दर्जनौं चर्चित घटनाक्रमसँग जोडिएका उनी एमाओवादी बिभाजनसँगै वैद्यको साथ लागे । वैद्यलाई पनि छाडेर विप्लवतिर लागेका उनी हाल विप्लवको पार्टीबाट विद्रोह गरेर पुनः प्रचण्डको साथमा आएका छन् । हाल माओवादी केन्द्रका पोलिटव्युरो सदस्यको जिम्मेवारी पाएका बसन्त घर्तीमगरलाई हामीले माओवादीको केन्द्रीय समितिलाई त विश्वकै ठूलो आकारको केन्द्रीय समिति बनाइदिने के बाध्यता आइलाग्यो भनेर सोधेका थियौं ।
एकता हुनु नै सैद्धान्तिक रुपमा राम्रो हो, मिल्नु नै सही कुरा हो । यो एकता बडो मिहेनतका साथ गरिएको छ । त्यसैले एकताको सन्देश राम्रो गएको छ । जहाँसम्म केन्द्रीय समितिको आकार ठूलो भयो भन्ने कुरा छ, अहिले संख्या प्रमुख कुरा होइन । एकता हुनु ठूलो कुरा हो ।
पार्टी एकता भइसकेपछि नयाँ भाव दिनुपर्छ । एकताको भावका साथ कार्यविधि बनाउनुपर्छ । नयाँ पार्टीको संगठन र कार्यविधिलाई कसरी व्यवस्थित गर्ने भन्ने जिम्मेवारी पाएको कार्यदलमा रहेका हामीहरु फिल्डमा जो साथी खट्नुभाछ, जसले संगठन होल्ड गर्नुभाछ उहाँहरुलाई छुटाउँदा अन्याय हुन्छ भन्नेमा हामी सबै एकमत थियौं । अध्यक्ष प्रचण्डबाट पनि मुठी कसेर भएन, अलि मुठी फुकाउनुपर्यो भनेर निर्देशन आयो ।
एकताको भाव दिनुपर्यो भनिसकेपछि मुठ्ठी फुकाउने सिद्धान्तको आधारमा कार्यदलले सबैलाई एक पद बढुवा गरिदिने कार्यविधि बनायो । यसबाट के भयो त भन्दा हिजोका राज्य समिति सदस्यहरु केन्द्रीय सदस्य हुने भए, हिजोका केन्द्रीय सदस्यहरु पोलिटव्युरो सदस्य हुने भए, पोलिटव्युरो सदस्यहरु स्थायी समिति सदस्य हुने भए र पहिले स्थायी कमिटीमा भएकाहरु पदाधिकारी हुने भए ।
यही फ्रेमिङको आधारमा साथीहरुलाई सेटिङ गरियो र तीन अंक नबढाउने भन्ने सिद्धान्त भित्रै रहेर हामीले महाधिवेशन आयोजक समिति बनायौं ।
मुठ्ठी फुकाउने नाममा निकै विवादास्पद र कनिष्ठ व्यक्तिहरुलाई पनि केन्द्रीय समितिमा ल्याउन पाइन्छ र भन्या ?
माओवादी एकतालाई कमजोर बनाउने षडयन्त्र यसमा लुकेको हुनसक्छ । अर्को कुरा स्वाभाविक पनि छ । हाम्रो टीमबाट केही जुनियर साथीहरु पर्नुभएको छ ।
एउटा पार्टीको हैसियतमा अर्को पार्टी हुँदैन । एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य र नेकपा माओवादी विद्रोहीको केन्द्रीय सदस्यको हैसियत कहाँ एउटै हुन्छ र ? ठूलो पार्टीको ठूलो हैसियत र सानो पार्टीको सानो हैसियत हुनु स्वाभाविक हो नि । नयाँ पार्टी बनेपछि स्वाभाविकरुपमा नयाँ मान्छे थपिन्छन् र एकता हुनेबेला दुबै पार्टीको केन्द्रीय सदस्यको अस्तित्व बराबर नै हुन्छ ।
हुन त ०३२ सालमा पार्टी सदस्यता लिएकाहरु पनि माओवादीको केन्द्रीय कमिटीमा पुग्नुभएको छैन । तर, जनयुद्धपश्चात शान्ति प्रक्रियामा आएका पनि हाम्रा साथीहरु केन्द्रीय सदस्य भएका छन् । त्यसैले विशिष्ट परिस्थितिको विशिष्ट कारण भएकाले यो कुरालाई गिजोल्नु आवश्यक छैन ।
व्यक्ति-व्यक्ति खोतल्दै जाने हो भने एकता नै हुँदैन । हामीले फेरि निरपेक्ष समानता खोजेका पनि त छैनौं नि । हामीले त सापेक्ष समानताको कुरा मात्रै गरिरहेका छौं ।
अर्को कुरा, विभिन्न केस लागेका साथीहरुलाई पनि ल्याइयो भन्ने जुन कुरा छ, यसबारे पार्टी एकता संयोजन समितिमा पनि राम्रै छलफल चलेको छ । इतिहासमा, सामाजिक, राजनीतिक, साँस्कृतिक घटनाक्रमहरुमा, प्रशासनिक घटनाक्रमहरुमा जोडिएको भन्ने कुरा जो आएको छ, ती साथीहरुले सबै प्रक्रिया पूरा गरिसक्नुभएको छ । कतिपयले सफाइ पाउनुभएको छ भने कतिपयको आरोप गलत भएको पुष्टि भइसकेको छ ।
एकतालाई आन्तरिक व्यवस्थापन गर्ने कुरामा सबैभन्दा तल्लो पार्टी कमिटीसम्मका साथीहरुको चित्त बुझोस् भनेर नै यो काम गरिएको हो ।
कसरी चित्त बुझाएको भन्नुहुन्छ ? कतिपयले पद त्याग गरेको घोषणा नै गरिसके, कतिपय गर्ने तयारीमा छन् भन्ने सुनिन्छ । एकतापछि त झन् भद्रगोल भयो भन्ने लाग्दैन ?
अहिले हामी अन्तरिम विधानमा छौं । पहिलेका सबै विधान खारेज भए, सबै कार्यदिशा खारेज भए । सबै पार्टीले आ-आफ्ना कार्यदिशा छाडे । पार्टी एकता संयोजन समितिले बनाएको अन्तरिम विधानको आधारमा हामी अघि बढिरहेका छौं । त्यो अन्तरिम विधानलाई आगामी महाधिवेशनले फाइनल गर्छ ।
त्यतिबेला केन्द्रीय समिति एघार सयभन्दा ठूलो पनि हुन सक्छ, स्वात्तै घटेर एक सय पनि हुनसक्छ । संख्या कति बनाउने भन्ने कुरा महाधिवेशनले फैसला गर्छ । त्यसैले अहिले केन्द्रीय समितिको आकार भद्दा भयो, भद्रगोल भयो भनेर कसैले चिन्ता लिनुपर्दैन । संक्रमणकालीन परिस्थितिमा यस्तो हुन्छ ।
सत्ता ल्याउने सवालमा बुलेट र ब्यालेटमा विश्वास गर्ने पार्टीका नेताहरु अहिले एकै ठाउँमा आउनुभएको छ । तपाईंहरु फेरि पनि फुट्नु हुँदैन भन्ने के ग्यारेन्टी छ ?
हो, तपाईंले भनेजस्तै ब्यालेटमा विश्वास गर्ने र बुलेटमा विश्वास गर्ने फोर्स एकठाउँमा छौं । यो द्वन्द्वात्मक एकता हो । यसलाई सपार्न सकिएन भने र विगतका कमजोरीहरु सुधार्न सकिएन भने भविष्यमा अप्ठ्यारो त पार्ला, तर हाम्रो सोंच अलि फराकिलो छ ।
हामीले विगतमा धेरै धक्का खाएका छौं । २०४२ देखि ५२ सम्म तयारीमा गयौं, ५२ देखि ६२ सम्म युद्धमा गयौं र ६२ देखि ७२ सम्म शान्ति प्रक्रियामा आयौं । ७२ देखि ८२ सम्म के हो त अब ? हामी त्यसमा छलफलमा छौं । कार्यदिशालाई वैज्ञानिक बनाउन लागिरहेका छौं र अब फुट्ने होइन, सबै माओवादी, देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई माओवादी केन्द्रमा गोलबन्द गर्छौं । देशको नम्बर एक पार्टी बनाउँछौं र जनता-कार्यकर्ताको एक मात्र भरोसाको केन्द्र बनाउँछौं, हेर्दै जानुहोला ।
अहिलेको संविधान जनमुखी छ र यो संविधान प्रतिक्रियावादी छ भन्ने दुई थरी बिचार बोकेका नेताहरु अहिले एकै ठाउँमा हुनुहुन्छ । यस्तो अन्तरद्वन्द्वको बीचबाट माओवादी केन्द्रले कस्तो कार्यदिशा अंगाल्ला ?
संविधानसभाबाट संविधान बन्नु माओवादी जनयुद्धको परिणाम हो । किनकी संविधानबाट समावेशी संविधान बनाउनुपर्छ भन्ने माओवादी नै पहिलो पार्टी हो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना माओवादी जनयुद्धकै तागतमा भयो । १९ दिने जनआन्दोलन पनि माओवादीकै बलमा भएको थियो । माओवादी राजनीतिको कारण जनआन्दोलन भयो र राजतन्त्रको अन्त्य भयो । त्यतिमात्रै होइन संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीको सिद्धान्त पनि माओवादीकै एजेण्डा हुन् । यो संविधानमा भएका सबैभन्दा सवोत्तम विषयहरु यीनै हुन्, यी माओवादीका पुँजी हुन् । माओवादीको कारणले जनताको अधिकार सुनश्चित भएका छन् । जनयुद्धका नारा सम्बोधन भएको संविधान यो हदसम्म सही छ ।
तर सँगसँगै यो संविधान कुन मानेमा सहि छैन भने संविधान त आयो, सरकारमा त पुगियो तर सत्ता अझै आएन । सत्ता भनेको कर्मचारीतन्त्र हो, न्यायालय हो, सुरक्षा शक्ति हो । सरकार कार्यकारी शक्ति त हो तर त्यो भित्रको मेकानिजम अझै पुरानै छ ।
अहिलेको सन्दर्भमा संविधान सबै ठीक हो भनिएमा दक्षिणपन्थी चिन्तनधारा हुन्छ र संविधानबाट केहि पनि उपलब्धी भएको छैन भनिएमा वामपन्थी अतिवाद हुन्छ । क्रान्तिकारी मार्क्सवादले के भन्छ भने यो-यो कुरा ठीक हो, यो-यो कुरा ठीक होइन ।
विप्लवजीले भन्दै आएको एकीकृत जनक्रान्तिको कार्यदिशा भनेको भ्रमको कार्यदिशा हो । यो भ्रम जसले चाँडै बुझ्यो, तिनीहरु चाँडै बाहिरिन्छन्
दक्षिणपन्थी अतिवाद र वामपन्थी अतिवादको बीचबाट हाम्रो कहाँनेर कम्प्रोमाइज्ड भएको छ जनयुद्धबाट जति उपलब्धी हात पर्यो-पर्यो, अब बाँकी रहेका कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिका लागि अघि बढ्नुपर्छ । यो हाम्रंो अन्तरिम कार्यदिशा हो । आगामी महाधिवेशनको अविधिसम्म धेरै छलफल र बहस गरेर अहिलेको कार्यदिशालाई सम्वृद्ध गर्छौं ।
विप्लवजीको साथ छाडेर किन फेरि प्रचण्डसँग आउनुभयो ?
खास गरेर मेरो सैद्धान्तिक मतभेद दुई-तीनवटा कुरामा भयो । सबैभन्दा पहिले त म राजनीतिक कार्यदिशामा स्पष्ट हुन चाहान्थें । मैले एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशाको मार्क्सवादका तीन संगठक अंगसँग के सम्बन्ध छ भनेर सोधेको थिएँ ? यसको दार्शनिक आधार के ? यसको राजनीतिक आधार के ? त्यसको वैज्ञानिक समाजवादी आधार के ? भन्नेमा मेरो चासो थियो । किनभने हामी मार्क्सवादभन्दा बाहिर छैनौं भने मार्क्सवादका तीन संघटक अंगसँग त हिजो नयाँ जनवादी क्रान्तिसँग पनि सम्बन्ध थियो । समाजवादी क्रान्तिसँग पनि सम्बन्ध थियो । अब एकीकृत जनक्रान्तिसँग पनि त सम्बन्ध हुनुपर्यो ।
तर, मेरा जिज्ञासाको जवाफ उहाँले दिनै सक्नुभएन । उहाँले अहिले यस्तो सैद्धान्तिक-बैचारिक सम्बन्धको कुरा गर्ने बेलै भाछैन भन्नुभयो । पछि छलफल गरौंला भन्नुभयो ।
अनि आन्तरिकरुपमा कुरा गर्दा केन्द्रीय समिति बैठकमा यसको सैन्य कार्यदिशा के भनेर पनि मैले प्रश्न गरेको थिएँ । हाम्रो बैज्ञानिक समाजवादको स्वरुप त सैन्य कार्यदिशा हुन्छ, युद्धको स्वरुप हुन्छ । त्यसैले मैले लडाइँको स्वरुप कस्तो हुन्छ हाम्रो भनेर सोधेको थिएँ । उहाँले त्यो पनि अहिले कुरा गर्ने बेला भा’छैन भन्नुभयो । धेरै कुरा गर्दा गोपनीयता भंग भइहाल्छ, अलि सेक्रेटमा गर्नुपर्छ भन्नुभयो । अनि सेक्रेटमै कुरा गर्दा पनि, जनरलहरुसँग कुरा गर्दा पनि अहिले भन्नेबेला भाछैन भन्नुभयो ।
यसबाट के स्पष्ट हुन्छ भने उहाँ भ्रमको राजनीति गर्दै हुनुहुन्छ । विप्लवजीले भन्दै आएको एकीकृत जनक्रान्तिको कार्यदिशा भनेको भ्रमको कार्यदिशा हो । यो भ्रम जसले चाँडै बुझ्यो, तिनीहरु चाँडै बाहिरिन्छन् । यो भ्रम जसले बुझ्दैनन् तिनीहरु त्यहीँ डल्लो परिरहन्छन् ।
तपाईं त निष्कृय बस्नुभएको थियो क्यारे, कसरी फेरि राजनीतिमा सक्रिय हुने जाँगर चल्यो ?
तपाईंले विप्लव कमरेडले प्रचार गरेको आधारमा यो प्रश्न सोधेको जस्तो लाग्यो मलाई । कमरेड विप्लवको नेतृत्वमा चलिरहेको नेकपा माओवादीबाट विद्रोह गरेर हामी तिलक परियारजीको नेतृत्वमा एकतामा आइसकेपछि उहाँले हामीलाई निष्कृय भएको भनेर गलत प्रचारबाजी गर्नुभयो । तर, यो सरासर गलत हो ।
हामीले विद्रोह गरेपछि विप्लवजी घाइते मृग जस्तो छटपटाइरहनुभएको छ । बढी चोट लाग्यो भने बढी छटपटी हुन्छ नि, हो त्यस्तै भइरहेको छ विप्लवजीलाई
वास्तवमा हामी पार्टीभित्र ‘नेकपा माओवादी विद्रोही’ बनाएर एकताको अभियानमा जोडिराखेका थियौं । सम्पूर्ण माओवादी पार्टीहरु एउटै केन्द्रमा आउनुपर्छ भन्ने अभियानमा हामी थियौं । विप्लवजीको परिभाषामा हामी निष्कृय त भयौं होला तर, वास्तविकतामा हामी अध्यक्ष कमरेड प्रचण्डसँग, कमरेड महरासँग निरन्तर छलफल, बहस र एकताको तयारीमा थियौं ।
हामीले विद्रोह गरेपछि विप्लवजी घाइते मृग जस्तो छटपटाइरहनुभएको छ । बढी चोट लाग्यो भने बढी छटपटी हुन्छ नि, हो त्यस्तै भइरहेको छ विप्लवजीलाई । लासहरु प्रचण्डसँग गए भनेर पनि प्रवक्ता प्रकाण्डलाई विज्ञप्ति निकाल्न लगाउनुभयो । यस्ता अराजक कुरा गर्ने नेता र पार्टीको औकात के रहेछ भन्ने कुरा अहिले झन् स्पष्ट भएको छ ।
माओवादी एकता त वास्तवकितामा देखिएन नि है ? वैद्यजी पनि आउनुभएन, विप्लवजी पनि आउनु भएन । यो एकताको उपलब्धी के हो ?
माओवादी राजनीतिको अस्तित्व जोगाउन पनि एकता अपरिहार्य थियो । जनताको चिन्ता र निराशा तथा कार्यकर्ताको अकर्मण्यता र विसर्जन वा पलायनलाई रोक्नलाई पनि एकता जरुरी थियो । टुटफुट र गुटले विक्षिप्त माओवादी आन्दोलन, माओवादी राजनीति फेरि माथि उठेको छ । हतियार उठाउँछु भन्ने विप्लव माओवादीभित्रबाट पनि विद्रोह गरेर आउनेहरु र सरकारमा सहभागी भएको पार्टीसमेतको एकता भयो । सदनदेखि सडकसम्म र मधेसदेखि पहाडसम्म युनिफिकेसन बडो राम्रो भएको छ । मातृका दाइहरु आएपछि मधेसको चाबी माओवादी केन्द्रको हातमा आएको छ । त्यसैले यो एकतालाई मैले एकताको नयाँ मोडेल र मौलिक भन्छु ।
माओवादीहरुको यो एकताले अरु पार्टीमा पनि तिव्र बहस, छलफल र ध्रुवीकरण भइरहेको छ । दुई-तीनवटा पार्टीका नेताहरुसँग एकताको छलफल चलिरहेको छ । तर, अहिले पार्टीहरुको नाम खुलाउँदिन । अहिले आउन नसकेका पार्टी वा नेताहरुपछि माओवादी केन्द्रमै आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।
अहिले माओवादीमा भएका नेता-कार्यकर्ताहरुलाई के भन्नुहुन्छ ?
विप्लवजीको पार्टीका धेरै साथीहरु क्रान्तिकारी ध्रुवीकरणमा हुनुहुन्छ, माओवादी एकताको पक्षमा हुनुहुन्छ । तर, कुरा कहाँनेर गडबडी छ भने मुख्य लिडरसिपको सोच नै एकताको विपक्षमा भएपछि माओवादी एकताको पक्षमा भएका साथीहरु पनि लिडरसिपलाई क्रस गर्ने आँट गरिरहनुभएको छैन ।
अहिले उहाँहरु भावनात्मक हिसाबले मात्रै एक ठाउँमा हुनुहुन्छ । अहिलेसम्म सँगै बसियो, यहाँसम्म आइहालियो, झोला बोकेर कति वर र पर गर्ने भनेर विप्लव दाइलाई नछोडम् भन्नुहुन्छ क्या कतिपय साथीहरुले । यस्तै-यस्तै भावनात्मक कुरा गरेर साथीहरु त्यहाँ बसिरहनुभएको छ ।
तर, खासमा भन्नुहुन्छ भने नेपालमा नयाँ प्रकारको राजनीति गर्ने हो भने, नेपालमा अधुरो क्रान्ति पूरा गर्ने हो भने र नेपालमा कम्युनिष्ट सत्ता ल्याउने हो भने जनयुद्धका उपलब्धी संस्थागत गर्ने हो भने माओवादी, देशभक्त, क्रान्तिकारी शक्तिहरुबीच एकताको विकल्प छैन ।
मलाई विप्लवजीले भनेको कुरा याद आउँछ बेला-बेलामा । उहाँले के भन्नुहुन्थ्यो भने- एकता त गर्ने नै हो, तर अझै बेला भएको छैन, हाम्रो हैसियत माथि उठ्या छैन । हैसियत माथि उठाएपछि एकता गरम्ला भन्नुहुन्थ्यो उहाँले । विप्लव जीहरुले हैसियत कहिले कायम गर्नुहुन्छ, त्यो मलाई थाहा छैन । तर, हैसियत छिटो उठाउनुस् र एकतामा आउनुस् । किनकि जनयुद्ध र जनआन्दोलनका उपलब्धी तपाईं-हामी मिलेर संस्थागत गर्नुपर्छ ।
प्रतिक्रिया 4