Comments Add Comment

युरो २०१६ः समूह ‘ए’ मा फ्रान्स बलियो

euro cup_franceसहभागिता र चर्चाका हिसावले विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोकपको १५औं संस्करण आगामी जुन १० देखि फ्रान्समा सुरु हुँदैछ । सन् १९६० यता प्रत्येक चार-चार बर्षमा हुने यस प्रतियोगिताको फ्रान्सले दोस्रो पटक आयोजना गर्ने अवसर पाएको हो ।

यसअघिका संस्करणमा भन्दा अहिलेको युरोकप केहि फरक देखिनेछ । पहिलो पटक युरोकपमा युरोपका २४ मुलुकका टोलीहरुले सहभागिता जनाउनेछन् ।

यसअघि १६ टोलीहरुको मात्र सहभागिता रहने गर्थ्यो । त्यसैले यसपालीको युरोकपमा नयाँ टोलीहरुको सहभागिता रहनेछ । वेल्स, अल्वानिया, आइसल्याण्ड र स्लोभाकियाले पहिलो पटक युरोकप खेल्दैछन् ।

जुन १० देखि जुलाई १० सम्म हुुने युरोकपमा जम्माजम्मी ५१ खेलहरु हुनेछन् । फ्रान्सका विभिन्न १० शहरमा प्रतियोगिताका खेलहरु खेलाइनेछ । प्रतियोगितामा छनौट भएका २४ टोलीलाई ६ समूहमा बिभाजन गरिएको छ ।

प्रत्येक समूहबाट समूह बिजेता र उपबिजेताले अन्तिम १६ मा स्थान बनाउनेछन् । ६ समूहमध्ये प्रत्येक समूहबाट तेस्रो हुने मध्ये उत्कृष्ट चार टोलीले पनि ‘राउण्ड अफ सिक्स्टिन’ अर्थात पि्रक्वाटरफाइनलमा प्रबेश पाउनेछन् ।

आज हामी समूह एको चर्चा गर्दैछौं । जहाँ आयोजक फ्रान्ससहित रोमानिया, अल्वानिया र स्वीट्जरल्याण्ड छन् ।

फ्रान्स

jrizman_pogba_france

आसन्न युरोकपको समूह ए मा आयोजक फ्रान्ससहित रोमानिया, स्वीट्जरल्याण्ड र पहिलो पटक युरोकप खेल्न लागेको अल्वानियाबीच प्रतिस्पर्धा हुनेछ । युरोकपको उदघाटन खेल जुन १० मा फ्रान्स र रोमानियाबीच हुनेछ ।

यस समूहमा फ्रान्स अर्को चरणका लागि दावेदार टोली हो । त्यसो त फ्रान्सलाई उपाधिकै दावेदारको रुपमा हेरिएको छ । सुरुवातदेखि ८ पटक युरोकपमा सहभागिता जनाएको फ्रान्सले दुई पटक उपाधि उचालिसकेको छ । १९८४ मा घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जितेको फ्रान्सले २००० मा दोस्रो पटक उपाधि जितेको थियो । फ्रान्स विश्व बरियतामा १७औं स्थानमा छ ।

फ्रान्सले प्रतियोगिताको लागि गोलकिपर हृयुगो लोरिसको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । इंग्लिस क्लव टोटनहृयामका गोलरक्षक लोरिस सन् २०१२ देखि निरन्तर राष्ट्रिय टोलीको कप्तानका रुपमा छन् ।

यसपटकको युरोकपमा फ्रान्सेली समर्थकको सबैभन्दा आकर्षणमा रहनेछन् एथ्लेटिको म्याडि्रडका स्ट्राइकर एन्टोइनी ग्रिजम्यान र युभेन्टसका मिडफिल्डर पाउल पोग्वा हुनेछन् । आर्सलनबाट खेल्दै आएका टोलीका सबैभन्दा अनुभवी स्ट्राइकर ओलिभर जिरोडबाट पनि फ्रान्सले धेरै अपेक्षा गरेको छ । उनले राष्ट्रिय टोलीबाट ४८ क्याप जितेका छन् भने १५ गोल गरेका छन् । रियल म्याडि्रडका स्टार करिम बेञ्जिमाको अनुपस्थिति फ्रान्सेली समर्थकलाई खल्लो हुन सक्नेछ ।

यता रक्षापंक्तिमा कप्तान लोरिसपछि सबैभन्दा धेरै ७२ क्याप जितेका पूर्वकप्तान प्याटि्रक एभ्रा, आर्सनलका लोरेन्ट कोसेल्नी, म्यान्चेस्टर सिटीका बेकेरी साँगासहितका अनुभवी खेलाडीले फ्रान्सको रक्षापंक्ति बलियो बनाएको छ ।

आयोजकको नाताले फ्रान्स युरोकपका लागि सिधै छनौट भएको हो । दावेदारी प्रस्तुत गरेका टर्की र इटालीलाई पछि पार्दै २८ मे २०१० मा फ्रान्सले युरो आयोजना गर्ने अनुमति पाएको हो ।

स्वीट्जरल्याण्ड

स्वीट्जरल्याण्ड समूह ए को अर्को बलियो टोली हो । प्रतियोगिताको पहिलो खेलमा स्वीट्जरल्याण्डले युरोकपको नयाँ टोली अल्वानियासँग ११ जुनमा खेल्नेछ ।

Switzerland_euroस्वीट्जरल्याण्डको युरोकपमा यो चौथो सहभागिता हो । यसअघि १९९४, २००४ र २००८ मा मात्र स्वीट्जरल्याण्डले युरोकप खेलेको छ । यसअघिको संस्करणमा पनि स्वीट्जरल्याण्ड प्रतियोगितामा छनौट हुन सकेको थिएन । युरोकपमा स्वटि्जरल्याण्डले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन ।

छनौट चरणको समूह ‘इ’ मा रहेको स्वीट्जरल्याण्डले उपविजेताका रुपमा प्रतियोगिताको लागि छनौट भएको हो । यस समूहबाट इंग्ल्याण्ड समूह विजेताका रुपमा युरोकपमा छनौट भएको हो । छनौट चरणका १० खेलमध्ये ७ मा जीत हासिल गरेको स्वीट्जरल्याण्डले छनौट चरणमा २४ गोल गरेको थियो भने ७ गोल खाएको थियो ।

टोलीका सबैभन्दा अनुभवी खेलाडी तथा युभेन्टसका डिफेण्डर स्टेफन लिच्स्टेनरको कप्तानीमा स्वीस् टोली मैदानमा उत्रदैछ । मिडफिलडर शेर्दान साक्वीरी स्वीस टोलीका सबैभन्दा आशा गरिएका खेलाडी हुन् । स्ट्रोक सिटीका २४ बर्षीय यी स्टारले छनौट चरणमा स्वीस टोलीका लागि ४ गोल गरेका थिए । त्यस्तै टर्कीस् क्लव कासिमपासाबाट व्यवसायिक फुटबल खेलिरहेका टोलीका अनुभवी स्ट्राइकर इरेन डेर्डियोकबाट पनि स्वीस टोलीले ठूलै अपेक्षा गरेको छ ।

रोमानिया

पाँचौं पटक युरोकप खेल्न लागेको रोमानियाले समूह ए मा रहेर उदघाटन खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । १९८४, १९९६, २००० र २००८ का संस्करणमा सहभागिता जनाएको रोमानियाले २००० मा भएको प्रतियोगितामा क्वाटरफाइनलसम्म पुगेको थियो ।

Lorik Canaविश्व वरियतामा २२औं स्थानमा रहेको रोमानिया छनौट चरणमा समूह ‘एफ’ बाट समूह उपविजेताका रुपमा प्रतियोगिताका लागि छनौट भएको थियो । छनौट प्रतियोगितामा रोमानियाले अपराजित नतिजा निकालेको थियो । रोमानिया १० मध्ये ५ खेलमा जीत हासिल गरेको थियो भने ५ खेलमा बराबरीको नतिजा आत्मसाथ गरेको थियो । छनौट प्रतियोगितामा जम्मा ११ गोल गरेको रोमानियाले २ गोलमात्र खाएको थियो । छनौट प्रतियोगिताको नतिजालाई आधार बनाउँदा रक्षात्मक फुटबलमा यो टोली माहिर मानिन्छ ।

नापोलीका डिफेण्डर भ्लाड चिरिचेसको कप्तानीमा रोमानियाले युरोकप खेल्नेछ । त्यस्तै २८ बर्षीय फरवार्ड बोग्डान स्टान्कु रोमानियाले आशा गरेको खेलाडी हुन् ।

अल्वानिया

२४ टोलीलाई सहभागी गराएर प्रतियोगिता अञ्चालन गर्ने निर्णय भएपछि भाग्यमानी रहँदै पहिलो पटक युरोकपमा सहभागी हुन पाउने सौभाग्य अल्वानियाले पाएको छ । स्वीट्जरल्याण्डसँग पहिलो खेल खेल्ने अल्वानियाले छनौट चरणमा उत्कृष्ट नतिजा निकालेर सबैलाई चकित पारेको थियो ।

समूह ‘आइ’ बाट उपविजेताका रुपमा युरोकपमा छनौट भएको अल्वानियाले छनौट चरणको पहिलो लेगमा पोर्चुगललाई पराजित गरेर सनसनी मच्चाएको थियो । मैत्रिपूर्ण खेलमा २ बर्षको बीचमा अल्वानियाले फ्रान्सलाई १ पटक पराजित गरेको छ भने एक पटक बराबरीमा रोकेको छ । छनौट प्रतियोगिताको ८ मध्ये ४ खेलमा जीत, २ खेलमा बराबरी र २ खेलमा पराजयको नतिजा निकालेको थियो । यो टोलीले ८ खेलमा १० गोल गरेको छ भने ५ गोल खाएको छ ।

फिफा बरियताको ४२ औं स्थानमा रहेको अल्वानियाको टोली मूख्यतः युवा खेलाडीले भरिएको छ । अल्वानियाका ६ खेलाडीले मात्र २० भन्दा बढि अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तर युवा खेलाडीहरुबीचको सन्तुलन यो टोलीमा देख्न सकिन्छ । ९१ क्याप जितेका डिफेण्डर तथा कप्तान लोरिक काना टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनी २००२ देखि टोलीका सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment