२४ जेठ, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी ओली पार्टी र गुटको स्वार्थमा चलेको आरोप लगाएका छन् । ओलीकै कारण संविधानको कार्यान्वयन जटिल मोडमा पुगेको उनले दाबी गरे ।

रिपोर्टर्स क्लबले सोमबार कठमाडौंमा गरेको साक्षात्कारमा माओवादी केन्द्रका नेता शर्माले मधेस समस्या समाधान गर्न र भूकम्प पीडितलाई राहत दिन सरकार असफल भएको आरोप लगाए । प्रधानमन्त्री ओली मधेसमा केही समस्या छैन भनेर जिम्मेवारीबाट पन्छिएको र त्यसकै परिणाम संविधान कार्यान्वयन जटिल भएको शर्माको भनाइ छ ।
सीमांकनको विषयमा मधेसवादी दलहरुले उठाएका विषय, संविधानको कार्यान्वयन, भूकम्प प्रभावित संरचनाहरुको पुनर्निमाण मुलुकका मुख्य एजेण्डा सम्बोधनका लागि नेतृत्व गर्ने क्षमता प्रधानमन्त्री ओलीमा नरहेको शर्माको आरोप छ ।
पूर्वमन्त्री समेत रहेका शर्माले सीमांकनको समस्या समाधान नगरेसम्म संविधान कार्यान्वयन सम्भव नहुने बताए । उनले मधेसवादी दलहरुसँग वार्ता गर्नका लागि विश्वासिलो वातारण बनाउनुको साटो प्रधानमन्त्री ओली मधेसमा केही समस्या छैन भनेर जिम्मेवारीबाट पन्छिएको उनले आरोप लगाए ।
साक्षात्कारमा एमाले नेता केशव बडालले भने सरकारले पटक-पटक आह्वान गर्दा पनि मधेसवादी दलहरुले बेवास्ता गरेका कारण वार्ता हुन नसकेको बताए । उनले संविधानको कार्यान्वयनका लागि सरकारलाई मुख्य प्रतिपक्षी नेपाली कांग्रेस र मधेसवादी दलहरुले सहयोग गर्नुपर्ने बताए ।
साक्षात्कारमा तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मधेसका जिल्लामा दुई प्रदेश कायम हुने सुनिश्चितता गरे मात्र आफूहरु वार्तामा बस्ने बताए ।
प्रतिक्रिया 4