Comments Add Comment

सिंहदरवारमा प्रधानमन्त्रीले रोपेको बोधिचित्त गायव !

बालुवाटारमा चोरी भयो भन्दै निवेदन

PM

२६ जेठ, काठमाडौं । केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षाका लागि नेपाली सेना र नेपाल प्रहरी २४ सैं घण्टा ड्युटीमा खटिएका हुन्छन् । तर, प्रधानमन्त्री कार्यालयको पूर्व भागमा प्रधानमन्त्रीले रोपेको बोधिचित्तको विरुवा दुइहप्तामै हराएको छ ।

करिब दुई महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा विभिन्न प्रकृतिका विरुवा रोपेर सिंहदरबारलाई हरियाली बनाउने अभियान थाल्दै बोधिचित्तका दुई वटा विरुवा रोपेका थिए ।

तर, दुई महिनापछि प्रधानमन्त्री आफैँले रोपेको विरुवा हराएको हो । ‘शुक्रबार पानी हालेर घर गयौँ भोली फर्केर आउँदा एउटा विरुवा नै हराएछ’ प्रधानमन्त्री कार्यालयको वगैँचा हेर्ने माली सुनील श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मैले प्रधानमन्त्री कार्यालयका सरहरुलाई जानकारी गराएको थिए, अर्को शुक्रबार त फेरि अर्को पनि हराएछ । ‘

सुनील श्रेष्ठ चारबर्ष देखि प्रधानमन्त्री कार्यालयको वगैँचा हेरचाह गर्दै आएका छन् ।

अहिले विरुवा हराएको भाग खाली रहेको छ । ‘कहिले गमलानै हराउँछ, कहिले फुल पनि हराइरहेको हुन्छ’ अर्का माली रिता घिमिरेले भनिन् ।

बालुवाटारमा चोरी भयो भन्दै निवेदन

चोरीको कुरा सिंहदरवारमा मात्र होइन, बालुवाटारमा पनि हुने गरेको भन्दै उजुरी समेत परेको छ । प्रधानमन्त्रीका सचिवालय सदस्यहरुले प्रधानमन्त्री निवास बालुवाटारका लागि भन्दै सामान मगाउने र आफ्नै घर लाने गरेको भन्दै उजुरी परेको हो ।

यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको बेडरुमबाट झण्डै १२ लाख चोरी भएको खबर आएको थियो । अहिले केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेलामा पनि चोरी भएको भन्दै उजुरी परेको छ ।

निवेदकले आफ्नो नाम नखुलाइ वालुवाटारको भलो सोच्ने व्यक्ति भन्दै जेठ २१ गते दर्ता गराएको निवेदनमा सचिवालयका अधिकृतदेखि पिएसम्मको मिलेमतोमा भ्रष्टाचार भइरहेको दाबी गरिएको छ ।

यस्तै माग गरिएको भन्दा बढि सामानको विल बनाएर प्रधानमन्त्रीका सचिवालय सदस्यहरुले भुत्तानी लिने गरेको समेत उजुरीमा आरोप लगाइएको छ ।

‘प्रधानमन्त्री फेरिने वित्तिकै निवासका सामान वालुवाटारका कर्मचारी र भवन संभार डिभिजनका कार्यालयका कर्मचारीले उठाएर लैजान्छन् ।’

२०७३ साल जेठ २१ गते प्रधानमन्त्री कार्यालयको वेबसाइटबाट प्रधानमन्त्री कार्यालय र निवासको खाजा र खाद्यान्न खर्चका नाममा ६ लाख ६९ हजार ५ सय २७ रुपैँया भुत्तानी भएको बिल सार्वजनिक गरेको थियो । निवेदकको दावी अनुसार सचिवालय सदस्यहरुको मिलेमतोमा खर्चभन्दा बढी रकमको बिल बन्ने गरेको उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयमा दर्ता भएको निवेदनमा सत्यतथ्य पत्ता लगाइ कारबाही गर्न माग गरिएको छ । निवेदनमा वालुवाटारमा रहेका सचिवालयका हाकिमदेखि पिएनसम्म मिलेर व्यापक भ्रष्टाचार गरेको उल्लेख छ ।

सचिवालयका सदस्यहरुले बालुवाटारका लागि मगाइएको चिया, चिनी, दुध, कफी, विस्कुट देखि मिनिरल वाटरसमेत घरमा लाने गरेको दाबी छ । ‘प्रधानमन्त्री फेरिने वित्तिकै निवासका सामान वालुवाटारका कर्मचारी र भवन संभार डिभिजनका कार्यालयका कर्मचारीले उठाएर लैजान्छन्, त्यो कसले हेर्ने ?’ निवेदनमा प्रश्न गरिएको छ ।

यस्तै सचिवालयका सदस्यहरुले नक्कली हस्ताक्षर गरेर विभिन्न शिर्षकमा भवन सम्भार डिभिजन कार्यालयबाट सामान मगाउने र उत्त सामान आ-आफ्नो घरमा लाने गरेको दावी गरिएको छ । निवेदनमा भनिएको छ, ‘विहान खाली झोला बोकेर जान्छन्, बेलुका फर्किँदा झोलाभरी सामान लिएर जान्छन् । तर सुरक्षाकर्मीले पनि चेकजाँच गर्दैन ।’

वालुवाटारबाट मिलेमतोमा सामान घर लैजानेमा सचिवालय अधिकृतकै नाम उल्लेख गरेका छन् । निवेदकले यी कुरामा विस्वास नलागे जेठ महिनाको चिया, चिनी, कफी, दुध जस्ता बस्तुको बिल हेर्न भनेका छन् ।

निवेदकले यो पत्र गोप्य राखिदिन र प्रधानमन्त्रीका साथै मुख्य सचिवलाई समेत जानकारी गराइदिने आग्रह समेत गरेका छन् ।

हेर्नुहाेस निवेदनको पूर्णपाठ

hello sarkar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment