Comments Add Comment

झण्डै २ करोडको मुद्दा मिलाउन खोज्ने माओवादी कमाण्डरलाई ६ वर्ष जेल

२६ जेठ, काठमाडौं । व्यक्ति अपहरणको मुद्दामा माओवादी पूर्वलडाकु प्रविण वोगटीलाई जिल्ला अदालत काठमाडौंले ६ वर्षको जेल सजायँ सुनाएको छ । माओवादीले भने वोगटीलाई झूठो मुद्दामा फसाइएको जनाएको छ ।

Prabin-Bogatiकाठमाडौं जिल्ला अदालतको ५ नम्बर इजलाशमा उनीविरुद्ध विगत २८ महिनादेखि मुद्दा चलिरहेको थियो । अदालतले मंगलबार अन्तिम फैसला गर्दै ६ वर्ष जेल सजायँ सुनाएको हो । वोगटीलाई नख्खु कारागार चलान गरिएको छ ।

कालिकोट घर भएका वोगटी पूर्वजनमुक्ति सेना नेपालका व्रिगेड कमाण्डर हुन् । तत्कालीन एमाओवादी विभाजनपछि उनी वैद्य माओवादीमा थिए । कपनमा बस्दै आएका उनी काठमाडौं ४ नम्बर निर्वाचन क्षेत्रका इञ्चार्ज थिए ।

यस्तो छ केस

बोगटीमाथि कपनको त्रिज्योति उच्चमाविका सञ्चालक नरकान्त राईलाई बन्धक बनाएको आरोपमा २०७० फागुनमा पक्राउ परेका थिए । राईसँग  माओवादी पार्टी कार्यालयमा लगेर बन्धक बनाई १ करोड ७८ लाख ७६ हजार रुपैयाँको कागज गराएको आरोप उनीमाथि लागेको छ ।

वोगटीले गत माघ १४ गते काठमाडौंको तिलगंगाबाट त्रिज्योतिका संचालक राईलाई अपहरण गरी ललितपुरको कुपण्डोलस्थित माओवादी नेवाः राज्यसमितिको कार्यालयमा लगेर आठ घन्टा बन्धक बनाएको आरोप लागेको छ । बन्धकबाट छुटेपछि राइले हनुमानढोका प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

‘झूठो आरोपमा फँसाइयो’

माओवादी नेताहरुले भने वोगटीलाई फँसाइएको दावी गर्दै आएका छन् । वैद्य माओवादीका एक नेताकाअनुसार राईले खत्री थरका एक व्यक्तिलाई १ करोड ९० लाख रुपैयाँ दिनुपर्ने थियो । उनीहरुबीच त्यस सम्बन्धि कागजसमेत भएको थियो । तर, ८-१० वर्षसम्म पनि राईले पैसा नदिएपछि खत्रीले वैद्य माओवादीलाई सहजकर्ताको भूमिका खेलिदिन आग्रह गरेका थिए । सोही आग्रहअनुसार वोगटीले दुबै पक्षलाई कार्यालयमा बोलाएर छलफल गर्दै आएका थिए । एक दिन छलफल गरिरहेकाबेला केहि व्यक्तिहरुले वोगटीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइदिए । उनलाई व्यक्ति अपहरणको आरोप लगाइयो ।

राई एमाले युवा संघको कार्यकर्ता भएको र उनले राजनीतिक प्रतिशोधमा वोगटीलाई फँसाएको माओवादीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment