Comments Add Comment

नयाँ शक्ति कम्युनिष्ट हुँदैन, प्रजातान्त्रिक हुन्छ

मैले २५ वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताएँ । म त्यो पार्टीको संस्थापक केन्द्रीय सदस्य हुँ । त्यस क्रममा मैले महामन्त्री, प्रवक्ता जस्ता भूमिकामा रहेर काम गरेँ । पाँचवटै महाधिवेशनमा म केन्द्रीय सदस्यमा चुनिएँ । तर, ०७२ चैत्र १९ गते राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेको घोषणा गरे र नयाँ शक्तिमा जोडिएँ ।

Parshuram-Khapung
लेखक

पुरानो पार्टी छाड्नुको मुख्य कारण परिवर्तित समय अनुसार नेपालमा देखिएका समस्या र जनताले भोगेका पीडाहरु समाधान गर्न त्यो पार्टीले नसक्ने भयो । पुरानो पार्टी अर्थात् राष्ट्रिय प्रजातन्त्र पार्टीको त्यो हैसियत रहेन ।

म त्यहाँ बस्दा राप्रपालाई त्यो हैसियतमा पुर्‍याउन धेरै प्रयास गरेँ । तर, सफल हुन सकिँन । किनकि राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको विचारधाराले समयको मागअनुसार अगाडि बढ्ने हैसियत राखेन । राष्ट्रिय प्रजातन्त्र पार्टीमा विधिसम्मत निर्णयहरु पनि भएनन् र परिवर्तित समयमा कसरी अगाडि बढ्ने भन्ने ठोस विचार र दृष्टिकोण पनि भएन ।

अब पुरानो पार्टी र पुरानो विचारले कहीँ कतै पुगिँदैन । त्यसलाई छाडेर अघि बढ्नुको अर्को विकल्प थिएन । त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेको हुँ ।

ऊबेला राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएकोे विचारसँग म सहमत थिएँ ।  जनताको पक्षमा काम पनि गरेँ । राजनीतिमा विचार मुख्य कुरा हो । त्यसैले को कति वर्ष राजनीतिमा लाग्यो भन्दा पनि जनताको पक्षमा के कस्ता काम गर्‍यो भन्ने मुख्य कुरा हो ।

बाबुरामसँगको भेट

नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग मेरो भेट भयो । उहाँले नयाँ चुनौतिहरुलाई समाधान गर्न मुलुकको जुन वस्तुगत परिस्थिति छ, त्यसलाई राम्रोसँग केलाएर अगाडि बढ्न मिलेर नयाँ पार्टी गठन गरौं भन्नुभयो । मिलेर गराँै, भनेपछि उहाँको विचार दृष्टिकोण र मेरो विचार दृष्टिकोण नजिक हुन आयो ।

बाबुरामजीलाई जसले जे आरोप लगाएका छन्, त्यो आरोप पुष्टि गर्न सकेका छैनन् । बाबुरामजीले जे भनिरहनु भएको छ, त्यो सत्य छ । तर, नयाँ कुरा आउँदा सबैले मान्न तयार हुन्नन् । विज्ञानकै कुरा गर्नुस्, पहिला पृथ्वी गोलो छ भन्दा झुण्डाएर मार्न खोजे । संसारमा नयाँ कुरा ल्याउँदा चुनौति आउँछ । त्यो स्वभाविक हो ।

बाबुरामजीले लिएको विचारमा अरुले आलोचना गर्न सक्छन् । सबैले स्वतन्त्र भएर आफ्ना विचार राख्ने अधिकार सबैलाई छ  । तर, उहाँको विचार सही छ ।

पहिलाको कालिदासको कथा छ, टुप्पोमा चढेर फेद काट्ने बाबुराम स्वंयम एमाओवादीबाट प्रधानमन्त्री बन्नुभएको व्यक्ति संविधान निर्माणको मुल कमिटीको संयोजक हुनुभएको तर, संविधान जारी भएपछि उहाँले पार्टी छाड्नुभयो ।

सायद उहाँले एमाओवादीले ल्याएको मार्क्सवाद, लेनिनवाद, माओवादले अब काम गर्दैन भन्ने ठान्नुभयो । उहाँले गठन गर्ने पार्टी कम्युनिष्ट पार्टी हुँदैन, प्रजातान्त्रिक पार्टी हुन्छ । उहाँसँग यो विषयमा मेरो कुरा भएको छ । हिजो को कहाँ थियो भन्ने भन्दा पनि परिवर्तित सन्दर्भमा मुलुकलाई कसरी अगाडि बढाउने र हामी कसरी बढ्ने भन्ने कुरा हो । मैले कालिदास भनें नि, ती पछाडि जसरी विद्धान  भए, त्यस्तै हुन्छ ।

उहाँ उग्रवामपन्थी विचारधारा छोडेर समाजवादी विचारधारामा आउनुभएको छ । अब म हिजो कहाँ थिएँ, बाबुरामजी कहाँ हुनुहुन्थ्यो भन्ने भन्दा पनि हामी एक भएर मुलुकको परिस्थितअनुरुप मुलुकको सेवा गर्दछौँ ।

मैले पहिलो संविधानसभा विघटन हुनासाथ मुलुकका यावत समस्या समाधान गर्न समावेशी समानुपातिक समानता कायम राख्ने पार्टी चाहिन्छ, भन्ने सोचे । तर, त्यो मैले एक्लै गर्न सक्ने थिइँन । न त मधेसवादी वा एमाले, कांग्रेस, एमाओवादीले त्यो समस्या समाधान गर्न सक्ने अवस्था थियो र छ । यस्तो अवस्थामा नयाँ शक्ति चाहिने थियो ।

यो अभियानमा डा. भट्टराई हिँड्नुभएकाले अभियानमा सँगसँगै हिँड्ने नयाँ पार्टी बनाई मुलुक र जनताको अपेक्षामा शान्ति र सम्वृद्धि दिने समावेशी विचारसँग नजिक भएकालेसँगै मिलेर पार्टी बनाउने सोचेँ । त्योअनुसार पार्टीले भावी कार्यदिशा तय गर्दैछ । सोही अनुसार यही जेठ ३० गते काठमाडौंको दशरथ रंगशालाबाट पार्टी घोषणा गर्दैछौँ ।

जेठ ३० गते हुन लागेको राष्ट्रिय भेलाले समृद्ध नेपाल बनाउने भिजनसहित पार्टीको विधि विधान बनाउँछ । डा. भट्टराईले अगाडि सारेको विचारलाई अझ परिस्कृत बनाएर लैजान्छौँ । उहाँविरुद्ध लाग्ने आरोपको हामीले सामूहिकरुपमै काम गरेर जवाफ दिनेछौँ ।

भारत र चीनको  विरोध गर्दैमा राष्ट्रवादी भन्ने होइन ।  हाम्रो मुलुकको परिस्थिति कस्तो छ । त्यो हेरेर अगाडि बढ्नु पर्दछ

हामीले समावेसी समानुपातिक लोकतान्त्रिक अभ्यास गर्दैछौँ । पार्टी र राज्यमा भैरहेको जातीय, क्षेत्रीय र लंैगिक विभेदमा परेका वर्गलाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउँछौं । विकासको प्रतिफल पनि सबैमा पुग्ने गरी नीति अपनाउँछौं । वर्गीय जातीय र लैंगिक उत्पीडनको अन्त्य गरेर समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेका छाँै यसलाई व्यवहारमा कार्यान्वय गरेर जान्छौँ ।

भारत र चीनको  विरोध गर्दैमा राष्ट्रवादी भन्ने होइन ।  हाम्रो मुलुकको परिस्थिति कस्तो छ । त्यो हेरेर अगाडि बढ्नु पर्दछ । उहाँलाई के आरोप लाग्छ भनेर पछि लाग्ने होइन ।  नयाँ शक्तिले कस्तो विदेश नीति बनाउँदैछ भन्ने कुरालाई सबैले ध्यान दिनुपर्छ । मैले बुझेको के हो भने भारत र चीनलाई सँगै लिएर अगाडि बढ्यो भने नेपालको विकास हाम्रै पालामा  सम्भव छ ।
नेपालको भौगोलिक बनोट जुन किसिमको छ, त्यो हेर्दा हामीले भारत र चीन दुबैलाई समानरुपमा, समान कुटनैतिक सम्बन्ध कायम गरेर अगाडि बढ्नुपर्छ । नेपाली जनताको आर्थिक लाभ र मुलुकको सार्वभौमिकता र स्वतन्त्रताका लागि हामी दुवै देशसँग सँगसँगै मिलेर अगाडि जानुपर्छ  ।

म परिवर्तन चाहने, जनताको भलो चाहने व्यक्ति हुँ । त्यसैले मेरा लागि जनताको विश्वास ठूलो कुरा हो, जुन मैले पाइरहेको छु । मन्त्री वा सांसद भन्ने कुरा मेरा लागि गौण हो । मन्त्री नपाउँदैमा पार्टी छाड्ने भए मैले पहिले नै छाड्थें होला । कुनै पनि नेताको विचार र दृष्टिकोणसँग मुलुकका सबै व्यक्ति सहमत हुँदैनन् ।

एमाओवादीले १० वर्ष जनयुद्ध गरेको लिगेसी यो पार्टीले बोक्दैन । राप्रपाबाट म आएँ भन्दैमा राप्रपाको लिगेसी यो पार्टीले बोक्दैन । नयाँ विचार, नयाँ सोच र नयाँ संगठन निर्माण गरेर यो देशको आर्थिक समृद्धिका लागि अगाडि बढेका छौँ

राजनीतिमा समस्या हुन्छन् । त्यसलाई सामना गरेर अगाडि बढ्ने नेता कार्यकर्ताले नै मुलुकको समस्या समाधान गर्दछन् ।
बाबुरामजीले सबै माओवादीलाई मात्र लिएर पार्टी गठन गर्न खोजेको भए एमाओवादी छाड्नु हुने थिएन होला । वा पार्टी फुटाएको घोषणा गर्नुहुने थियो । उहाँ त एक्लै निस्कनुभयो । म पनि राप्रपाबाट एक्लै निस्किएँ । मलाई लाग्यो, म जुन पार्टीमा २५ वर्ष बसे, अब त्यसले काम गर्दैन । उहाँले पनि एमाओवादीले अब काम गर्दैन भनेर छाड्नुभयो ।

एमाओवादीले १० वर्ष जनयुद्ध गरेको लिगेसी यो पार्टीले बोक्दैन । राप्रपाबाट म आएँ भन्दैमा राप्रपाको लिगेसी यो पार्टीले बोक्दैन । नयाँ विचार, नयाँ सोच र नयाँ संगठन निर्माण गरेर यो देशको आर्थिक समृद्धिका लागि अगाडि बढेका छौँ । हामीले हुलका हुल भन्दा एक्लाएक्लै पार्टी परित्याग गर्‍यौँ । मूल शक्ति जनता हुन् जनताले हामीलाई हामीले उचित दृष्टिकोण दिन सके जनताले साथ दिन्छन् ।

यो पार्टीमा देशलाई समृद्ध बनाउने सोच बोकेका मानिसहरु संगठित भएका छौँ । त्यसैले अगाडि बढ्न समस्या हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment