Comments Add Comment

विद्रोह गरेर संविधान खारेज गर्ने उपेन्द्र यादवको चेतावनी

यादवका नजरमा यस्ता छन् संविधानका कमजोरी

upendra yadav

२८ जेठ, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा अहिलेको संविधान नश्लवादी रहेकाले पुनर्लेखन नभए विद्रोह हुने चेतावनी दिएका छन् । विद्रोहले अहिलेको संविधान खारेज गर्ने र नयाँ संविधान लेख्ने चेतावनी यादवले दिए ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा यादवले नयाँ संविधानमा आफ्ना असन्तुष्टिहरु सार्बजनिक गरे । यादवले संघीय संरचना, नयाँ संवैधानिक आयोग, नागरिकता सम्बन्धि व्यवस्था लगायतमा भएका ‘कमजोरी’हरु औंल्याए ।

यादवका अनुसार क्षेत्राधिकार विनाका संवैधानिक आयोगहरुको अर्थ छैन । हाल संविधानमा मधेसी, मुस्लीम, आदिवासी जनजाती लगायतका संवैधानिक आयोगहरु थप गरिएका छन् । ति आयोगहरुको क्षेत्राधिकार नतोकिएको र १० वर्षपछि पुनर्गठन हुनसक्ने संवैधानिक व्यवस्था गलत रहेको यादवको तर्क छ ।

‘क्षेत्राधिकार विनाको पनि आयोग हुन्छ ?’ संघीय गठबन्धनका संयोजकसमेत रहेका यादवले भने, ‘१० वर्षपछि पुनर्गठन गर्ने भनिएको छ । पुनर्गठनको अर्थ पछि कायम नहुन पनि सक्छ र खारेज हुन पनि सक्छ, त्यसैले यो काम छैन ।’

उनले संघीय संरचना नै गलत भएको दाबी गरे । संविधानमा उल्लेख प्रदेश, इकाई र केन्द्रीय संरचना संघीयतामा नहुने उनले बताए । ‘संघीयतामा प्रदेश र केन्द्रमात्र हुन्छ तर इकाई पनि थपेर भ्रम छर्ने काम भएको छ ।’

नागरिकता सम्बन्धि विशेष व्यवस्था भनिए पनि अन्तरिम संविधान जति पनि नभएको उनले बताए ।

सेना-प्रहरीलाई समावेशी नबनाइएको र न्यायाधीश पुनर्नियुक्तीको व्यवस्था हटाइएकाले पनि अहिलेको संविधान असमावेशी र प्रतिगमनकारी भएको यादवको भनाइ छ ।

यादवले भने, ‘यी सबै कुराले संविधान नश्लवादी छ । पुनर्लेखन नगरी हुँदैन । पुनर्लेखन भएन भने विद्रोह हुन्छ । विद्रोहले संविधान खारेज पनि गर्नसक्छ र पुनर्लेखन पनि हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment