Comments Add Comment

५ वर्षभित्र सबै सवारीमा इम्बोस्ड प्लेट, के छन् यसका विशेषता ?

४ अर्ब ५ कराेड रूपैयाँमा विदेशी कम्पनीलार्इ ठेक्का

Embossed-Number
३१ जेठ, काठमाडौं । अबको ५ वर्षभित्र सबै सवारीसाधनका परम्परागत नम्बर प्लेटलाई ‘इम्बोस्ड नम्बर प्लेट’ले विस्थापित गर्ने भएको छ ।

सरकारले इम्बोस्ड नम्बर प्लेट लागू गर्न एक विदेशी कम्पनीलाई ठेक्का दिएको छ । यातायात व्यवस्था विभागले बंगलादेश र अमेरिकन संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीसँग इम्बोस्ड नमबर प्लेट लागू गर्न सम्झौता गरेको हो ।

इम्बोस्ड नमबर प्लेट लागू गर्न कम्पनीले भ्याट बाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ कराेड रूपैयाँमा ठेक्का पाएको हो । टेण्डरमा आवेदन दिएका ४ कम्पनीमध्ये आर्थिक तथा प्राविधिक क्षमताका आधारमा डेकाटुर टाइगरसँग सम्झौता गरिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले अनलाइनखबरलाई बताए ।

लाईसेन्सलाई स्मार्टकार्डमा रुपान्तरण गर्न सुरु गरेको यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटको आपूर्तिका लागि टेण्डर आहृवान गरेको थियो ।जसमा २४ वटा फारम बिकेपनि ४ वटा कम्पनीले मात्रै आवेदन बुझाएका थिए ।

नेपालमै छापिने, २० लाखमा जाेडिने 
अब ठेक्का पाएको कम्पनीले तुरुन्तै प्लेटको छपाइ सुरु गर्ने श्रेष्ठले बताए ।  ‘इम्बोस्ड प्लेट छाप्ने यन्त्र, उपकरण, प्रविधि र सामाग्री ल्याएर नेपालमा छपाइ गरिनेछ’ उनले भने-‘त्यसका लागि विभागले कम्पनीलाई छापाखाना रहने ठाउँको प्रवन्ध गर्नेछ ।’

५ वर्षभित्र २० लाख सवारीमा डिजिटल तथा अत्याधुनिक नम्बर प्लेटको जडान गरिसक्ने लक्ष्य विभागले लिएको छ । अहिले नेपालका सवारीमा १४ किसिमका नम्बर प्लेट छन् ।

अब ६ किसिमका मात्र नम्बर प्लेट रहने गरी यो प्रणाली लागु गर्न तयारी गरेको छ । कर्मसियल, ननकर्मसियल, डिप्लोमेटिक, भीआपी, सरकारी र सार्वजनिक गरी ५ किसिमका प्लेट मात्रै अब प्रयोगमा आउनेछन् ।

सूचनामूलक र उच्च सुरक्षायुक्त हुने इम्बोस्ड नम्बर प्लेट एउटा सवारीको अगाडि र पछाडि राखिने छ । जसभित्र सवारी र सवारीधनिका सबै विवरणहरु राखिनेछ । जसलाई प्रहरीसँग हुने हाते मेसिन र विभिन्न ठाउँमा राखिने ठूला मेसिनहरुले रिड गर्न सक्छन् ।

के हो इम्बोस्ड प्लेट ?
यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ ।

यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । किनभने यो प्रविधिको नम्बर प्लेट जडान गर्न यातायात कार्यालय पुग्नैपर्छ ।

इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले एउटा चीपसहितको स्टीकर टाँस्नेछ । त्यो स्टीकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् । संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टीकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ ।
यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ ।

प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेक जाँच गर्न सक्छ । स्मार्ट ब्लु-बुक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ ।

यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिन सहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ ।

काठमाडौंमा मात्रै ५ वटा स्थानमा नम्बर प्लेट रिड गर्ने मेसिनसहितको गेट राख्ने विभागको योजना छ । विशेष गरी शहरी क्षेत्रका नाका तथा राजमार्गका विभिन्न ठाउँमा यस्ता मेसीनसहितका गेटहरु जडान हुनेछन् ।

यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सुचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्ने महानिर्देशक श्रेष्ठले बताए ।

इम्बोस्ड नम्बर प्लेट राख्न भने सवारी धनीले निश्चित रकम तिर्नुपर्ने छ । एउटा सवारीको नम्बर प्लेट परिवर्तन गर्न ३ हजार रुपैयाँसम्म लाग्ने अनुमान छ । एकपटक इम्बोस्ड नम्बर प्लेट राखेपछि त्यसको आयु १० वर्षको हुनेछ ।

यो प्लेट लागू गरेपछि करको दायरामा नआएका सवारीलाई विभागमा पुगेर राजश्व बुझाउन बाध्यता पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment