Comments Add Comment

एनसेल टावरमा आक्रमण गर्नेलाई कानुनको दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह

'मापदण्ड विपरितका ग्यास सिलिण्डरको बिक्री वितरणमा रोक लगाऊ'

१ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले संचार सेवा प्रदायक संस्था एनसेल टावरहरुमा आगजनी र तोडफोड गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका कार्यकर्ताहरुलाई कानुनको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगले पीडित पक्षलाई क्षतिपूर्ति प्रदान गर्न पनि भनेको छ ।

NHRCविप्लव माओवादीका कार्यकर्ताहरुले देशका बिभिन्न जिल्लामा रहेका एनसेलका टावरहरुमा क्षति पुर्‍याएका छन् । यसबाट स्वतन्त्रपूर्वक एक अर्कासँग सञ्चार सम्पर्क गर्न पाउने अधिकारबाट नागरिकहरु बन्चित भएका छन् । जबकी नेपालको संविधानको धारा (१९) ३ मा सञ्चारको हकमा कानून बमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोन लगायत सञ्चार साधनलाई अवरुद्ध गर्न नपाइने उल्लेख छ ।

आयोगकी प्रवक्ता मोहना अन्सारीले बुधबार विज्ञप्ति निकालेर एनसेल टावरहरुमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति प्रदान गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

यसैगरी आयोगले गत जेठ ७ गते ललितपुरको होगल इलाछे मंगलबजारस्थित एक पसलमा ग्यास सिलिण्डर पड्केर तीन जना व्यक्तिको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

मापदण्ड विपरित सिलिण्डरहरुको अनियन्त्रित प्रयोग भइरहेको सन्दर्भमा त्यस्ता मापदण्ड विपरितका सिलिण्डरहरुको बिक्री वितरणमा तत्कालै रोक लगाउन समेत आयोगले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको । आयोगले आजै उक्त घटनाको सम्बन्धमा स्थानीय प्रशासन तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा पत्राचार समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment