२ असार, काठमाडौं । चीनले मुस्ताङ सीमाक्षेत्रको कोरला नाका बुधबारदेखि २५ दिनका लागि खुलाएको छ । बर्सेनि सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाको निरन्तरताका क्रममा नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले दिए ।
उनले बिहीबारबाट व्यापारिक कारोबार सुरू हुने पनि बताए । चीनले एक दशकभन्दा अघिदेखि सीमामा तारबार लगाएर कोरालामा गेट बन्द गरेको छ । त्यसअघि उत्तरी मुस्ताङका बासिन्दा चीनको तिब्बती पठारमा सजिलै आउजाउ गर्थे ।
तर बजारसम्म भने उनीहरुको पहुँच हुँदैनथ्यो । चीनले कोरलाको गेटमा ताला लगाउनु अघिदेखि नै यसरी मेला लाग्दै आएको हो । त्यही परम्परा अनुरुपको मेलाका लागि यो असार १ बाट कोरला नाकाको गेट खुलेको लोमन्थाङका स्थानीय अगुवा इन्द्रधारा विष्टले बताएको अाजको अन्नपूर्णमा समाचार छ ।
कोरला नाकाभन्दा ३ किलोमिटर पल्तिर चीनको तिब्बती भागमा मेला हुन लागेको जानकारी सीडीओ अधिकारीले दिए । बुधबारबाटै गेट खुला भए पनि स्टलहरु सबै तयार नभइसकेकाले बिहीबारबाट मात्रै व्यापारिक कारोबार हुने उनले बताए । मेला लाग्ने भएपछि नेपालले पनि सीमा क्षेत्रको भन्सारलाई सक्रिय पार्ने जानकारी उनले दिए । ‘भन्सार र क्वारेन्टाइन पनि चालु हुन्छ’, उनले भने ।
तिब्बतको ढोङ्बासेन जिल्लाका र उपल्लो मुस्ताङका व्यापारीको सहकार्यमा मेला हुन लागेको लोमन्थाङका स्थानीय अगुवा इन्द्रधारा विष्टले जानकारी दिए । पारिका व्यापारीले ढोङ्बासेन जिल्लाका प्रशासनिक अधिकारीहरुसँग अनुमति लिएर मेला गर्ने सीडीओ अधिकारीले बताए । ‘त्यही जानकारी व्यापारीहरुबाट पाएको हुँदा म आफैं पनि कोरला पुग्दैछु’, उनले भने ।
हिउँदयाममा अत्यधिक चिसो हुने र हिउँसमेत पर्ने हुँदा असार र असोजमा मेला लाग्दै आएको छ । त्यस अनुरुप अनुकुल मौसम हेरेर असारमा मेला सुरु भएको हो । ‘मेलामा मुस्ताङसहित नेपालीहरुले थोक मूल्यमा सामानहरु किन्न पाउने छन्’, सीडीओ अधिकारीले भने ।
उनका अनुसार उपल्लो मुस्ताङका बासिन्दाले ६ महिनालाई पुग्ने गरी यिनै मेलाको अवसरमा सामान किन्छन् । जोमसोम हुँदै कोरलासम्मै मोटरबाटो पुगेको भए पनि सामान ओसार्ने ट्रकहरु गुड्न मिल्ने गरी सडक तयार भएको छैन । त्यसैले पनि उपल्लो मुस्ताङका बासिन्दा नेपालतिरभन्दा चीनको तिब्बती बजारमा निर्भर हुन बाध्य छन् ।
प्रतिक्रिया 4