Comments Add Comment

काठमाडौंमा बल्ने भो युरोपको जस्तै ट्राफिक लाइट !

'आइल्याण्ड' हुनेछन् सहयोगी, ट्राफिक प्रहरी हटाइने

traffic-light८ असार, काठमाडौं । काठमाडौंमा अबको एक वर्षपछि मुख्य चोकहरुमा तपाईंले हात हल्लाउँदै गरेका ट्राफिक प्रहरी देख्न पाउनुहुने छैन । र, सवारी साधनहरु पनि ट्राफिक लाइटको सिग्नललाई फलो गरेर रोकिने र गुड्ने छन् । यो जोडेपछि पैदलयात्रुलाई बाटो काट्न पनि अहिलेजस्तो लामो समयसम्म कुर्नुपर्ने छैन । जेब्रा क्रसिङसँगै पोलमा राखिएको ‘पुस बटन’ दबाएपछि केही समयभित्रै गाडी रोकिनेछन्  र सजिलै बाटो काट्न पाइनेछ ।

युरोप र अमेरिकीसहित विकसित देशहरुमा प्रयोग भएका लाइट सिस्टममा आधारित आधुनिक ट्राफिक व्यवस्थापनका लागि काठमाडौंमा फेरि नयाँ प्रयास थालिँदैछ । पहिले प्रयोग गरिएका ट्राफिक लाइट प्रयोगमा नआएपछि नयाँ प्रविधिको लाइट राख्ने तयारी भएको हो ।

लाइट राख्ने पूर्वाधारका लागि काठमाडौंका विभिन्न चोकहरुमा भटाभट त्रिकोणात्मक नयाँ ट्राफिक आइल्याण्डहरु बन्दै छन् । झट्ट हेर्दा शहर सडककोे सौन्दर्यता बढाउन यस्ता आइल्याण्ड बनिरहेको जस्तो लाग्न सक्छ ।

traffic island (2)
तर, यस्ता आइल्याण्ड निर्माण गुर्नुको मुख्य उद्देश्य हो, सवारीलाई ‘च्यानलाइज्ड’ गर्नु । यस्तै यी आइल्याण्ड सिस्टमको निगरानीमा बस्ने ट्राफिक प्रहरीको लागि पनि प्रयोग हुनेछन् ।

काठमाडौं उपत्यका दिगो शहरी यातायात परियोजनाको सडक विभाग एकाइले अहिले यस्ता ठूला ट्राफिक आइल्याण्ड बनाइरहेका छन् । जमल, घण्टाघर, रत्नपार्क, वीर अस्पताल, सुन्धारा लगायत थुप्रै चोकमा यस्ता आइल्याण्डहरु निर्माणाधीन छन् ।

यसअघि आइल्याण्ड नभएका ठाउँमा यस्ता आइल्याण्ड राखिएपछि अर्को चरणमा काठमाडौंमा २६ वटा चोकका ३७ ठाउँमा आधुनिक ट्राफिक लाइटहरु जोडिने छन् ।

माइतीघरदेखि तीनकुनेसम्म, जयनेपालदेखि थापाथली हुँदै जाउलाखेलसम्म, नारायणगोपाल चोकदेखि त्रिपुरेश्वरसम्म र राजदरबार दक्षिणढोकादेखि कमलपोखरी हुँदै भद्रकालीसम्म यस्ता ट्राफिक लाइट जडान हुनेछन् ।

नयाँ ट्राफिक लाइटको प्रयोगका लागि सवारीलाई आफ्नो बाटोमा ‘च्यानलाइज्ड’ गर्न र जथाभावी सवारी मोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ट्राफिक आइल्याण्डहरु निर्माण भइरहेको हो । यो परियोजनाका लागि एडीबीले सहयोग गरेको छ ।

टेण्डर भइसक्यो

ट्राफिक प्रहरीका प्रवक्ता लोकेन्द्र मल्लका अनुसार पहिले २० ठाउँमा जोडिएका ट्राफिक लाइटमध्ये अहिले एउटाले पनि काम गर्दैनन् । त्यसैले अब ती लाइटलाई झिकेर नयाँ लाइटहरु जोड्ने योजना तयार भएको हो ।

अब जोडिने लाइट पहिलेकोभन्दा आधुनिक प्रविधिको हुने छ । साथै यसले सवारीचालक र यात्रुहरुले ठाउँ-ठाउँमा भोग्नुपर्ने सवारी जामका समस्यालाई कम गर्ने विश्वास गरिएको छ ।

अत्याधुनिक प्रविधिसहितको नयाँ ट्राफिक लाइटका लागि आयोजनाले टेण्डर आह्वान गरिसकेको एकाइका परियोजना व्यवस्थापक खडगलाल श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । टेण्डर प्रक्रिया टुंगिएको मितिले एक वर्षभित्र तोएकिा रुटका मुख्य चोकमा आइल्याण्डसहितको ट्राफिक लाइट जडान हुनेछ ।

traffic island (1)

छुट्टै कन्ट्रोलिङ युनिट

‘अब जोडिने लाइटहरुको व्यवस्थापनका लागि ट्राफिक प्रहरीको केन्द्रमा छुट्टै कन्ट्रोल युनिट स्थापना हुनेछ । कन्ट्रोलमा बसेर चोक-चोकमा सीसी क्यामाराको सहयोगमा लाइटमार्फत नै सवारीको आवागमन र यात्रुको बाटो काट्ने व्यवस्थालाई सहज गराइनेछ’ व्यवस्थापक श्रेष्ठ भने ।

यसका लागि सबै चोकहरुमा सीसी क्यामरा सवारी डिटेक्टर सेन्सरहरु पनि जडान गरिनेछन् । ट्राफिकको केन्द्रबाट नै रातो, पहँेलो र हरियो लाइटहरु नियन्त्रण गरिनेछ । सीसी क्यामारा र सेन्सरले चोक-चोकको ट्राफिक व्यवस्थापन कन्ट्रोल युनिटमै बसेर लाइटमार्फत सम्हाल्नेछ । रातिका समयमा भने यसलाई अटोमेटिक सिस्टममा राखिनेछ  ।

यसअघि प्रयोग गरिएका लाइटहरु जतिबेलामा पनि टाइमिङका आधारमा अटोमेटिक रुपमा चल्थे । तर, सवारी चापअनुसार त्यसलाई कन्ट्रोल गर्न नसक्दा त्यसको प्रभावकारी प्रयोग हुन सकेको थिएन । अब भने आवश्यक्ता अनुसार कन्ट्रोल युनिटबाटै सबै लाइटको नियन्त्रण गरिने श्रेठको भनाइ छ ।

सवारी जामको अवस्था हेरेर लाइटहरु प्रयोग गर्न कन्ट्रोल रुमबाट ट्राफिक प्रहरी, यातायात इञ्जिनियरले लाइट सञ्चालनको काम गर्नेछन् ।

push-bottomलाइटहरुलाई लिंक गरिने

अब जोडिने लाइटहरु एक चोक र अर्को चोकसँग लिंक गरिने भएको छ । यसरी लाइटलाई एउटै सिस्टम लिंक गर्दा अघिल्लो चोकबाट जाममा परेर उम्किएका सवारीलाई त्यस लगत्तैको चोकमा नरोक्ने गरी सवारी व्यवस्थापन गर्न सहज हुने श्रेष्ठले बताए ।

‘भर्खरै रेड लाइट पार गरेका सवारीलाई अर्को चोकमा पनि रोकिन नपोरोस् भन्नका लागि यस्तो लिंक गर्न लागिएको हो’ श्रेष्ठले भने-‘कन्ट्रोल रुमलाई गाइड गर्न लाइटहरुलाई एक-अर्काको अपरेसन सिस्टममा जोडिनेछ ।’

पुस बटन

यो सिस्टम प्रयोगमा आएपछि पैदलयात्रीका लागि बाटो काट्न विशेष सुविधा दिने तयारी पनि छ । पैदलयात्रीले आफूले बाटो काट्ने अनुमति पाउका लागि जेब्रा क्रसिङसँगै राखिएका ‘पुस’ बटन थिच्नुपर्छ । यो थिचेको केही समयपछि कन्ट्रोल युनिटले पैदलयात्रीलाई बाटो काट्न अनुमति दिने गरी हरियो बत्ति बाल्नेछ ।

‘सबैले सिस्टमलाई मानिदिए भने काठमाडौंको ट्राफिक व्यवस्थापनमा यो प्रभावकारी हुनेछ’ व्यवस्थापक श्रेष्ठले भने-‘ट्राफिक लाइट जोडेपछि काठमाडौंको सवारी व्यवस्थापन र शहरी प्रतिष्ठा प्रर्वद्धनमा ठूलो टेवा पुग्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment