Comments Add Comment

तमलोपाको महाधिवेशन: संशोधित विधान प्रस्ताव पारित

नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन आज सकिने

८ असार, नवलपरासी  । नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा ल्याइएको पार्टीको संशोधित विधान पारित भएको छ । यसबाट अब नयाँ नेतृत्वका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । आज दिउँसोदेखि नयाँ नेतृत्वको प्रक्रिया सुरु हुँदैछ ।

Mahantha-thakur
महन्थ ठाकुर, अध्यक्ष, तमलोपा

यता बन्दसत्रमा ल्याइएको पार्टीको नीति तथा कार्यक्रम र राजनीतिक दस्तावेजमाथि प्रतिनिधिले आ–आफ्ना भनाइ राख्ने क्रम मङ्गलबार नसकिएकाले आज बिहान पनि प्रतिनिधिले यसप्रति आफ्नो सुझाव र भनाइ राख्दैछन् । महाधिवेशनको बन्दसत्र सदरमुकाम परासीस्थित आदर्श उच्च माविको प्राङ्गणमा जारी छ ।

बन्दसत्रमा ल्याइएको राजनीतिक दस्तावेजमा मधेसको माग पूरा गर्न आन्दोलन एक मात्र विकल्प रहेको उल्लेख छ । पार्टीका केन्द्रीय सदस्य विकेशकुमार मिश्राले भने, ‘दस्तावेजमा तराईमा दुई प्रदेश साथै मधेसमा देखिएको समस्या संविधान संशोधनमार्फत शीर्ष तीन दलले जिम्मेवारी लिएर समाधान गर्नुपर्नेछ, दस्तावेजमा उल्लेख गरिएको छ । महाधिवेशनमा पार्टीको संशोधित विधानमा तराईमा दुई प्रदेशसहितको सात प्रदेश पार्टीको विधानमा उल्लेख गरी राजनीतिक दस्तावेज पारित गरिँदैछ ।’

बन्दसत्रमा यसबाहेक पार्टीको विधान संशोधन, पार्टीको नयाँ मधेस आन्दोलनको समीक्षा र भावी योजनाका साथै पार्टीको सङ्गठनात्मक संरचना विषयमा छलफल भएको आयोजक जिल्ला नवलपरासी तमलोपाका उपाध्यक्ष पुरन चौधरीले बताए ।

पार्टीको विधान र राजनीतिक दस्तावेज र पारित भएपछि आज दिउँसोदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी स्रोतले जनाएको छ । यस पटक एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव ३, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ गरी ३३ सदस्यीय कमिटिको निर्वाचन हुनेछ भने १६ वटा आरक्षण सदस्यको समेत निर्वाचन हुँदैछ ।

यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोतले जनाएको छ । यस पटक निर्वाचित र मनोनीत गरी ७५ सदस्यीय केन्द्रीय कार्य समिति चयन हुँदैछ ।

महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन् । विशेषगरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोका रुपमा हेरिएको छ । महाधिवेशनका कारण जिल्लामा शान्तिसुरक्षासमेत कडा बनाइएको छ । महाधिवेशन आज साँझ नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment