९ असार, नवलपरासी । पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई सुम्पिँदै नवलपरासीमा आयोजित तराई मधेस तोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम महाधिवेशन बिहीबार सम्पन्न भएको छ ।
सदरमुकाम परासीमा तीन दिनसम्म चलेको महाधिवेशनबाट अध्यक्ष पदमा महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्षमा हृदयस त्रिपाठी, उपाध्यक्ष वृजेशचन्द्र लाल र कोषाध्यक्षमा अनिता कुमारी यादव निर्विरोध निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा त्रिपाठीसँगै विश्वनाथ प्रसाद यादवले पनि उम्मेदवारी दिएका थिए । यसैगरी उपाध्यक्ष पदमा वृजेशचन्द्र र शंकरलाल चौधरीले उम्मेदवारी दिएका थिए । अन्तिम समयमा यादव र चौधरीले उम्मेदवारी फिर्ता लिए । कोषाध्यक्ष पदका दाबेदार कविन्द्रनाथ ठाकुर र इन्द्रप्रसाद सिंहले पनि उम्मेदवारी फिर्ता लिएपछि पार्टीको आर्थिक कोष सम्माल्ने जिम्मा अनिता कुमारीले पाइन् ।
तर, आकांक्षी धेरै भएपछि अन्य पदमा व्यक्ति छनोट गर्न महाधिवेशनले सकेन । तीन दिनसम्म चलेको महाधिवेशनले १० जना पदाधिकारीको नाम मात्र टुंगो लगाएको छ । महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य अध्यक्षले नै चयन गर्ने गरी जिम्मा दिइएको निर्वाचन समितिका संयोजक नागेन्द्र यादवले जानकारी दिए ।
तमलोपाको विधानअनुसार कुल ७५ जनाको केन्द्रीय कार्यसमिति छ । महामन्त्री र सहमहामन्त्रीमा २-२ जना निर्वाचित र १-१ जना मनोनित हुने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यमा खुल्ला तर्फबाट ३१ जना, महिला आरक्षित तर्फ ५, आदिवासी जनजाती तर्फ ५, दलित तर्फ ३, मुस्लिम ४ र अपांग १ निर्वाचित उम्मेदवारको व्यवस्था गरिएको छ ।
आरक्षित कोटातर्फ अपांगमा १ जना र आदिवासी जनजाती ५ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । पार्टीका पूर्वप्रवक्ता महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले पनि केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । महामन्त्रीको उम्मेदवार बनेका तराई मधेस महिला संघकी राष्ट्रिय अध्यक्ष चन्दा चौधरीले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया 4