+

अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास

२०७३ असार  १३ गते १५:०४ २०७३ असार १३ गते १५:०४
अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास

Messi1

१३ असार, काठमाडौं । ‘मेरा लागि राष्ट्रिय टोलीको यात्रा सकियो, मैले जति सकेँ सबै गरेँ, तर च्याम्पियन बन्न नसकेकोमा निक्कै दुःख लाग्दोरहेछ’

अर्जेन्टिनाको टोलीबाट चौथो पटक र कप्तानको रुपमा तेस्रो पटक ठूला प्रतियोगिताको फाइनलमा पराजित भएपछि सुपरस्टार लियोनल मेस्सीले भावुक हुँदै दिएको अभिव्यक्ति हो यो ।

सोमबार बिहान अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ रंगशालामा भएको कोपा अमेरिका फाइनलमा गत बर्षकै संस्करणको नतिजा दोहोरिँदा सबैभन्दा निराश मेस्सीनै भए र हारको पीडाबाट विक्षिप्त बनेर सन्यासको घोषणा गरे ।

फिफा बरियातामा शीर्ष स्थानको अर्जेन्टिनाले चिलीसँग लगातार दोस्रो पटक फाइनलमा पराजित हुनुमात्र होइन, मेस्सीको युग सुरु भएपछि सन् २००७ मा ब्राजिलसँग फाइनलमा ३-० ले पराजित हुनु, २०११ मा घरमै भएको प्रतियोगितामा उपाधि जित्न नसक्नु र ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसँग पराजित हुनु राष्ट्रिय टोलीबाट मेस्सीका सफलता/असफलता हुन् ।

यसै संस्करणको कोपा अमेरिकाको सेमिफाइनलमा अमेरिकाबिरुद्ध गोल गर्दै अर्जेन्टिनी राष्ट्रिय टोलीबाट अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान राखेका मेस्सीले राष्ट्रिय टोलीबाट ११३ क्याप जितेका छन् । उनको अन्तर्राष्ट्रिय गोलसङ्ख्या ५५ छ । यसअघि ग्याब्रियल बाटिस्टुटाको नाममा ५४ गोलको कीर्तिमान थियो ।

सन् २००५ मा १८ बर्षको उमेरमै हंगेरीबिरुद्ध अन्तर्राष्ट्रिय डेब्यु गरेका मेस्सीले सन् २००६ को विश्वकपमा आफ्नो क्षमता केहि प्रदर्शन गर्ने मौका पाए । त्यसयता उनी निरन्तर अर्जेन्टिनाको राष्ट्रिय टोलीका सदस्य छन् ।

messi_1

सन् २०११ इता अर्जेन्टिनी टोलीको नेतृत्वसमेत गर्दै आएका छन् । ५ पटकका फिफा बर्षखेलाडी मेस्सीले व्यवसायिक खेल जीवनमा बार्सिलोनाबाट हासिल गर्न बाँकी केहि छैन । उनले बार्सिलोनाका लागि २८ उपाधि दिलाएका छन् ।

तर राष्ट्रिय टोलीबाट ? राष्ट्रिय टोलीबाट उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण दिलाए । उमेर समूहमा अण्डर २१ विश्वकपको उपाधि दिलाए । यत्ती हो । तर उपविजेतामा भने उनले हृयाट्रिकनै गरे ।

उनको सन्यासबारे अर्जेन्टिनाका केहि टिममेटले भने आश्चर्य व्यक्त गरेका छन् । म्यान्चेस्टर युनाइटेडका गोलपिकर सर्जियो रोमेरोले भने, ‘मेेरो बिचारमा यो मेस्सीले आवेगमा आएर लिएको निर्णय हुनुपर्छ, यस्तो नहोस । तर हामीले एउटा महान अवसर भने गुमाएका छौं ।’

त्यस्तै म्यान्चेस्टर सिटीका स्ट्राइकर सर्जियो एग्युरोले भनेका छन्, ‘मलाई थाहा छैन कि अरु खेलाडीले के सोचिरहेका छन् । तर मैले आज ड्रेसिङ रुममा जे देखेँ, जुन यसअघि कहिल्यै देखेको थिइनँ ।’

मेस्सीका अलावा मिडफिल्डर जाभियर मास्केरानो र एग्युरोले पनि सन्यासबारे सोचिरहेको बताइएको छ । एग्युरोले भनेका छन् कि ‘सम्भवतः राष्ट्रिय टोलीबाट बाहिरिनेबारे सोच्ने मेस्सी एक्ला खेलाडी होइनन् । धेरै खेलाडीहरुले यही सोचिरहेका छन् । उनले पुनः थपे, ‘ड्रेसिङ रुपमा मैले अहिलेसम्म देखेको भयानक दृश्य थियो, जुन यसअघिको फाइनलमा पराजित भएपनिपनि देखिएको थिएन ।’

यद्यपी उनले अर्जेन्टिनी फुटबल संघले आग्रह गरेको खण्डमा निर्णय परिवर्तन गर्न सक्ने संभावना कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लियोनल मेस्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय