Comments Add Comment

आँपमा प्रतिबन्धित कार्बाइडको अत्यधिक प्रयोग

mango (1)१३ असार, कञ्चनपुर । कञ्चनपुरका बजारमा भारतबाट ल्याइएका आँपमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने कार्बाइडको प्रयोग गरी बिक्री वितरण भइरहेको छ ।

भारतीय व्यापारीले प्रतिबन्धित कार्बाइड हालेर पकाएको आँप बिक्रीका लागि नेपाली बजारमा पुर्याइ रहँदा समेत कारबाही हुन सकेको छैन् ।

कार्बाइड हालेर पकाएका आँप भारतीय बजार खटिमा, बनवसा र बरेलीलगायतका ठाउँबाट व्यापारीले ट्रकमा राखेर सोझै महेन्द्रनगर, सुडा, दैजी, झलारी, गुलरिया र कैलालीको अत्तरियासम्म बिक्रीका लागि पुर्याउने गरेका छन् । भारतबाट दैनिक दुई ट्रक आँप पश्चिमी सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिने गरेको महेन्द्रनगर मण्डीका व्यवसायी विशाल सोनारले बताए ।

आँप पाक्ने समयमा पनि बजारमा कार्बाइड हालेर पकाएको आँपको कारोबार निकै उच्च रहेको छ । उपभोक्तामा हानिकारक रसाइन प्रयोग गरिएको आँप खानु हुँदैन भन्ने जनचेतना नभएकै कारण खरिद गरेर लग्ने गरेको झलारीका स्थानीय बुद्धिजीवी दिलबहादुर ऐरले बताए ।

मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने हानिकारक रसाइनको प्रयोग गरिएका आँप बिक्री भइरहँदासमेत स्थानीय प्रशासनले नियन्त्रणको प्रयास नगरेको उनले बताए । “बजार अनुगमनको कार्य नहुँदासमेत व्यापारीले प्रतिबन्धित रसाइन प्रयोग गरेका आँपको कारोबार गर्दै आएका छन्” उनले भने ।

प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीले समेत हानिकारक कार्बाइड हालेर पकाएका आँप रोक्नका लागि पहल नगरेको उपभोक्ताको आरोप छ ।

रसाइन प्रयोग गरी पकाएका आँपको परीक्षण गर्ने उपकरणको अभाव र हेरेको आधारमा आँपको परीक्षण गर्नुपर्दा कुन आँप रसाइन प्रयोग गरेको र नगरेको छुट्याउन गाह्रो रहेको क्वारेन्टाइनका कर्मचारीले बताएका छन् ।

प्रचलित खाद्य ऐन २०२३ (हाल सम्म संशोधनसहित) ले कृत्रिम रसायन कार्बाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ । खाद्य ऐनअनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई रु १० हजारदेखि २५ हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment