Comments Add Comment

विप्लव माओवादीले सिंहदरवार घेर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

एनसेल आक्रमणमा पक्राउ परेकालाई रिहा गर्न माग

biplap१५ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एनसेल आक्रमणको आरोपमा पक्राउ परेका आफ्ना नेता-कार्यकर्ताहरुको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

बिहीबार काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने विप्लव माओवादीले जनाएको छ । काठमाडौंमा प्रधानमन्त्रीलाई नै भेटेर र अरु जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुमार्फत् ज्ञापनपत्र बुझाइने काठमाडौं उपत्यका व्यूरो इञ्चार्ज सन्तोष बुढामगरले जानकारी दिए ।

सरकारलाई कर नतिरेको आरोप लगाउँदै विप्लव माओवादीले देशभरका एनसेल टावरहरुमा आगजनी र तोडफोड गरी क्षति पुर्‍याएको थियो । त्यसको आरोपमा प्रहरीले बिभिन्न जिल्लाबाट आफ्ना दुई दर्जन बढी नेता-कार्यकर्ताहरुलाई पक्राउ गरेको माओवादीको भनाइ छ ।

‘सरकारले बिना कारण र बिना आधार हाम्रा साथीहरुलाई गिरफ्तार गरेर झुठ्ठा मुद्दा लगाएको छ, ति सबैलाई बिनासर्त रिहाइ गर्नुपर्‍यो,’ नेता बुढामगरले अनलाइनखबरसँग भने, ‘महंगी, कालाबजारी रोक्नुपर्‍यो र भूकम्प पीडितलाई राहत वितरण गर्नुपर्‍यो भन्ने हाम्रो माग हो । ‘

काठमाडौंमा दिउँसो १ बजे शान्तिबाटीकाबाट प्रदर्शन सुरु हुनेछ । त्यसपछि जुलुससहित सिंहदरवार पुग्ने कार्यक्रम तय गरिएको छ । हनुमानस्थान, बबरमहल, माइतीघर लगायतका क्षेत्रहरुमा प्रदर्शन गर्दै सिंहदरवार छिर्ने नाकाहरु बन्द गराउने माओवादी योजना छ ।  ‘प्रदर्शन र कोणसभा पछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँछौं,’ नेता बुढामगरले भने ।

यसैबीच विप्लव माओवादीका कार्यकर्ताहरुले कर्णाली रोजगार कार्यक्रमका इञ्जिनियर जनक रोकायालाई कालोमोसो दलेका छन् ।

कर्णाली रोजगार कार्यक्रमको विकास बजेटमा करोडौं भ्रष्टाचार गरेकाले रोकायालाई कालोमोसो दलेर सांकेतिक जनकारबाही गरेको नेकपा माओवादी कर्णाली व्यूरो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment