+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लागूअाैषध कारोबारी धर्म पाख्रिनका मुख्य सहयोगी थाइल्याण्डमा पक्राउ

रमेश धमला रमेश धमला
२०७३ असार १६ गते १४:५१
amphatamine_lagu_aausadh
एमफेटामाइन

१६ असार, काठमाडौं । थाइल्याण्डमा एक नेपाली एमफेटामाइनको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् । नेपालको सिमरामा घर भएका टिकाराम भनिने बुद्धिमान तामाङ एमफेटामाइन कारोबारको आरोपमा पक्राउ परेका हुन् ।

म्यानमारबाट सात किलो एमफेटामाइन बोकेर आएका म्यानमारका दुई जनालाई थाइ प्रहरीले मंगलबार पक्राउ परेपछि उनीहरुले बुद्धिमानको नाम पोलेका थिए । पक्राउ परेका महिला र पुरुषले आफूहरुले एमफेटामाइन बुद्धिमानलाई दिन ल्याएको बयान दिएपछि थाइ प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थाइल्याण्डका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बुद्धिमानले म्यानमारबाट मगाएको एमफेटामाइनको खास मालिक थाइल्याण्डमै बसेर लागुऔषधको अन्तर्राष्ट्रिय र्‍याकेट चलाइरहेका धर्म पाख्रिन भएको खुलेको छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्द भन्छन्, ‘धर्म पाख्रिनले सञ्चालन गरेका मान्छेहरुका बारेमा हामीले थाई प्रहरीलाई सूचना दिएका थियौं, त्यसैको आधारमा बुद्धिमान पक्राउ परेका हुन् ।’

चन्दका अनुसार बुद्धिमान नाताले पाख्रिनको भाइ पर्छन् । उनीहरु लामो समयदेखि थाइल्याण्डमा बसेर धर्मको मुख्य सहयोगीको रुपमा काम गरिरहेका छन् ।

डिआइजी चन्दले भने, ‘बुद्धिमान पक्राउ परेपछि धर्म पनि पक्राउ पर्न सक्छन्, त्यसको लागि हामी पनि चनाखो छौं ।’

tamang
तामाङ पक्राउबारे थाई सञ्चारमाध्यममा प्रकाशित समाचार

थाइ प्रहरीसँग धर्मको ‘सेटिङ’

एमफेटामाइन कारोवारको आरोपमा करिब २ महिनाअघि चन्द्र गुरुङ र नेत्र गुरुङ पक्राउ परेपछि उनीहरुको कनेक्सन थाइल्याण्डमा रहेका धर्म पाख्रिनसँग भएको खुलेको थियो । नेत्र र चन्द्रसँग पाख्रिनको नाम जोडिएपछि थाई प्रहरीले थाइल्याण्डस्थित धर्मको स्टोरहरुमा छापा मारेको लागुऔषध नियन्त्रण ब्युरोका एक अधिकृतले बताए ।

तर लागुऔषधको खतरनाक माफिया मानिने पाख्रिनले थाइ प्रहरीलाई करोडौं बुझाएर उम्किएको लागुऔषध नियन्त्रण ब्युरोका एक अधिकृतको दावी छ । उनले भने, ‘लागुऔषधका माफियाहरुले थाइ प्रहरी र त्यहाँका एयरपोर्ट सुरक्षा निकायका अधिकृतलाई समेत किनेका छन् । त्यही काम धर्मले पनि गरेको हामीले बुझेका छौं ।’

लागुऔषध नियन्त्रण ब्युरोका डिएसपी प्रेम शाहीको भनाईमा पाख्रिन थाइल्याण्डको लागि मात्रै होइन नेपाल प्रहरीका लागि पनि ठूलो चुनौति बनिसकेका छन् ।

थाइल्याण्डमा सयौं नेपाली लागुऔषध कारोवारमा

सोमबार ३५ किलो चरेस सहित पक्राउ परेका साइमन तामाङ ३ वर्ष थाइल्याण्डमै बसेर चरेस ओसापोसारमा सक्रिय थिए । ब्युरोका अनुसार पाखि्रनकै निर्देशनमा साइमनले थाइल्याण्डमा बसेर चरेसको धन्दा चलाएका हुन् ।

साइमन जस्ता सयौं नेपालीहरु थाइल्याण्डमा बसेर लागुऔषध कारोवारमा सक्रिय भैरहेको ब्युरोका डिआइजी चन्द बताउँछन् । पछिल्लो समय केही नेपालीहरु म्यानमारमा बसेर पनि लागुऔषध कारोवार गरिरहेका छन् भने त्यत्तिकै संख्यामा म्यनमारीहरुलाई धर्मले नै परिचालन गरिरहेको प्रहरीको दावी छ ।

डिआइजी चन्दको बुझाइमा थाइल्याण्ड लागुऔषधको गतिलो बजार भएकाले कारोवारीहरु बढी त्यहीँ केन्द्रित हुने गरेका छन् । उनी भन्छन्, ‘थाइल्याण्डमा पर्यटकहरुको संख्या पनि बढी छ । उनीहरुलाई लक्ष्यित गरेर लागुऔषध माफियाहरु सक्रिय छन् । त्यसैमा नेपालीहरु पनि फसिरहेका छन् ।’

नेपाल र थाइल्याण्डमा गरी धर्मका १० जना सहयोगीहरु पक्राउ परिसकेका छन् । तर अहिले पनि उनले ३० जनाभन्दा बढी नेपालीहरुलाई लागुऔषध कारोवारमा परिचालन गरेको ब्युरोका डिएसपी प्रेम शाहीको अनुमान छ ।

डिएसपी शाहीको बुझाइमा थाइल्याण्ड पुग्ने अधिकांश नेपालीहरुको बारेमा धर्म पाखि्रनलाई सुचना हुन्छ । उनीहरु एमफेटामाइन फिलिपिन्स, हङकङ लगायत देशमा पुर्‍याउन सक्रिय छन् । तर हङकङ भने नेपालबाट पुग्ने चरेसको ट्रान्जिट बनिरहेको डिएसपी शाही बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?