Comments Add Comment

सुस्तामा निर्माण भइरहेको तटबन्धमा भारतीय अवरोध

१९ असार, काठमाडौं ।  नवलपरासीको सुस्तामा निर्माण भइरहेको तटबन्धलाई भारतीय पक्षले अवरोध गरेको छ । अवरोधका कारण आठ करोड रुपैयाँको लागतमा भइरहेको तटबन्ध निर्माणकार्य रोकिएको छ ।

Rapti-River-Badh
फाइल फोटो

सुस्ता क्षेत्रमा भइरहेको नारायणी नदीको कटान रोक्न पाँच सय मिटर तटबन्ध निर्माण गर्ने कार्य भइरहेको थियो ।

त्यसअन्तर्गत ७५ मिटरमात्र निर्माणकार्य सक्न बाँकी रहँदा भारतीय एसएसबीका सुरक्षाकर्मी आएर अवरोध गरेको सुस्ता बचाउ अभियानका अभियन्ता गोपाल गुरुङले बताए । उनीहरूले भारतीय भूमिमा काम गरेको भन्दै धम्की दिएको पनि उनले बताए । अाजको अन्नपूर्णमा समाचार छ ।

‘पटकपटक निर्माणकार्य रोक्न नेपाली भूभागमै आएर एसएसबीले धम्की दिँदै आएको थियो’, अभियन्ता गुरुङले भने, ‘बुधबार एसएसबीको दस्ता नै आएर काम बन्द गरायो ।’ यसबारे नवलपरासी ६ का सांसद देवकरण जयसवाललाई जानकारी गराएको गुरुङले बताए ।

सुस्तामा तटबन्धलगायत झोलुंगे पुल निर्माणमा पनि भारतीय पक्षले अवरोध गर्दै आएको जयसवालले बताए । यसबारे आफूले बिहीबार सदनलाई जानकारी गराएको जानकारी पनि उनले दिए ।

सुस्तामा हुने सबै विकास निर्माणका काममा भारतीय पक्षबाट अवरोध आएकाले त्यसबारे कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न संसद्को ध्यान आकर्षण गराएको जयसवालले बताए ।

जनताको तटबन्धअन्तर्गत सुस्तामा तटबन्ध निर्माणकार्य भइरहेको हो । त्यस्तै पक्लिहवादेखि सुस्ता जोड्ने झोलुंगे पुल निर्माणकार्य पनि भइरहेको छ । सीमांकन भएको एक मिटर टाढाबाट तटबन्ध निर्माण भइरहेको छ । तर निर्माणकार्यका लागि ल्याइने सामग्री र अन्य कामका बारेमा बेलाबेलामा अवरोध आएर समस्या भएको जयसवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment