Comments Add Comment

मलेसियामा श्रीमाया चेपाङलाई ५ छोराछोरीको न्यास्रो

१३ वर्षकी छोरीले धानेकी छन् घर

१९ असार, क्वालालम्पुर । ‘काखे छोराछोरीहरुलाई घरमा छाडेर कसरी विदेश आउन सक्नु भयो ?’ मैले श्रीमाया चेपाङलाई सोधेँ । उनको अनुहार अनायास मलिनो भयो । एकछिनको मौनतापछि उनले जवाफ दिइन्, ‘मनले त मानेको छैन नी, तर के गर्नु ।’

Old-Woman
फाइल तस्वीर

त्यसपछि उनले झोलामा हात हालिन् र केहि खोजे जस्तो गरिन् । केहिवेरमा आठ जिवीको मेमोरी कार्ड निकाल्दै भनिन्, ‘यो मेमोरी कार्डमा छन् मेरा छोराछोरीको फोटो । छोरीले पठाइदिएकी हो । हेर्न मन लाग्यो भने साथीहरुलाई भन्छु । उनीहरुले मोवाइलमा राखिदिन्छन् । हेरिसकेर फेरी निकालेर राख्छु ।’

गोर्खा जिल्ला चाङली घर भएकी ३४ वर्षिया श्रीमायाले मलेसियामा रोजगारी थालेको चौथो वर्ष चल्दैछ । तीन वर्ष त जसोतसो बिताइन् । यो वर्ष भने उनलाई निकै अत्यास लागेको छ । कहिले घर जाउँला जस्तै भएको छ ।

पन्ध्र वर्षको उमेरमा श्रीमायाको विहे भएको हो । सानैमा विहे गर्ने चलन चेपाङ समुदायमा अझै पनि छ । उनका पाँच छोराछोरी छन् । जेठी छोरी १६ वर्षकी, माइली १५ वर्षकी, साईली १३ वर्षकी, काईली १२ वर्षकि र कान्छो छोरा ८ वर्षका छन् । छोरा पाउने श्रीमानको रहरले गर्दा उनका सन्तानहरु थपिदै गए रहेछन् ।

चार छोरी हुँदासम्म पनि छोरा नभए पछि श्रीमानले दोश्रो बिहे गरेको श्रीमाया बताउछिन् । दोश्रो विहे गरेको केहि वर्षमै कान्छीतर्फ पनि छोरा जन्मियो । अहिले श्रीमान कान्छीसँग बस्छन् ।

‘मेरा छोराछोरीको वास्ता समेत गर्दैनन्,’ श्रीमायाले दुखेसो गरिन् ।

यसरी आइन् मलेसिया

गाउँमा बस्दा उनी कुखुरा, बाख्रा पाल्थिन् । तरकारी लगाउँथिन् । कतै पाइयो भने अर्काको निमेक गर्न पनि जान्थिन् । यसो गर्दा उनले महिनामा चार- पाँच हजारसम्म कमाउँथिन् ।

पहिले श्रीमानले पनि केहि पैसा दिन्थे । तर पछिपछि दिन छाडे । घर परिवार चलाउन हम्मे-हम्मे भएपछि उनी विदेश जाने निधोमा पुगिन् ।

एक साँझ श्रीमायाले सबै छोराछोरीलाई एकै राखिन् र भनिन्, ‘तिमीहरुलाई पाल्न गाह्रो भयो, म विदेशजान्छु है ।’ साना छोराछोरी वाल्ल परे । तर, जेठी छोरीले भनिन्, ‘हुन्छ आमा, तपाईं कमाउन जानुहुन्छ भने म भाई-बहिनी हेर्छु । बरु छिटो फर्किनुहोला ।’

श्रीमायाले जेठी छोरीलाई घर-ब्यवहार कसरी गर्ने भनेर सबै परिपाठ सिकाइन् । अनि घरको सबै जिम्मेवारी १३ वर्षिया छोरीलाई सुम्पेर श्रीमाया विदेश जान तयार भइन् ।

विदेश आउन गाउँकै सामाजिक अगुवा अभय चेपाङले उनलाई पैसाको जोहो गरिदिए । श्रीमाया विदेश लागेपछि जेठी र माईली छोरीको पढाई भने रोकियो । साईली र काईली भने स्कुल गइरहेका छन् । पाँच वर्षको छोरा भने बोर्डिङ स्कुलमा पढिरहेका छन् ।

प्रौढ कक्षासम्म पनि नपढेकी श्रीमायालाई विदेशमा काम गर्न शुरु-शुरुमा निकै गाह्रो पर्‍यो । तर अंग्रजीको एविसिडी र वान टु सिकेपछि केहि सजिलो भएको छ । अहिले उनी तलव आउनासाथ १५ देखि २० हजार रुपैया नेपालमा रहेका आफन्तकहाँ पठाइदिन्छिन् । आफन्तहरुले घरसम्म पुर्‍याइदिन्छन् । यहि पैसावाट जेठी छोरीले घर ब्यवहार चलाइरहेकी छिन् ।

नेपालमा गत वर्ष आएको भुईचालोले श्रीमायाको घर पनि भत्कायो । धन्न वच्चाहरु वाहिर रहेछन् र वाँचे । अहिले छोराछोरीहरु आफ्नै किसिमले जोरजाम गरेर बसेका छन् । त्यो सम्भिmदा त अहिल्यै जाउँ जस्तो लाग्छ उनलाई । तर, जेनतेन सम्हालिएर बसेकी छिन् ।

मलेसियामा कमाएको पैसा ऋण तिर्दा र छोराछोरीको खर्चमा सकिएको श्रीमाया बताउछिन । ‘अहिलेसम्म पचास हजार मात्र वचत गरेकी छु,’ उनले भनिन् । अबको एक वर्षमा कमाएको पैसाले नेपालमा फर्किएर कुखुरा र वाख्रा पाल्ने सोचाई बनाएकी छिन् श्रीमायाले ।

‘विदेशले मलाई पैसा त अलिअलि दियो, तर परिवारको मायाबाट टाढा गरायो,’ उनी दुखेसो गरिन् । अनि, झोलावाट निकालेको मेमोरी कार्ड फेरी झोलाभित्रै हालिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment