Comments Add Comment

मलेसियाबाट फर्किएर श्रममन्त्रीले भने-फ्री भिसामा गएका एउटै कामदार भेटिएन

deepak-bohora
१९ असार, काठमाडौं । श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले आफ्नो मलेसिया भ्रमणबारे आइतबार कार्यकक्षमा पत्रकारमाझ ‘ब्रिफिङ’ गरे । भ्रमणका क्रममा कामदारको हितमा कदम चाल्न सकारात्मक पहल गरेको दावी गर्दै उनले मलेसियामा थुप्रै कामदारहरुसँग पनि प्रत्यक्ष भेटघाट गरेको पनि सुनाए ।

‘त्यत्रा कामदारसँग भेटघाट गरियो तर, गज्जबको कुरा के छ भने सरकारको तोकेको १० हजार सेवा शुल्क रुपैयाँ मात्रै तिरेर गएका एउटा पनि भेटिएनन्,’ मन्त्री बोहोराले भने ।

उनले म्यानपावरले फ्री भिसा र टिकटको निर्णय कार्यान्वयन नभएकोतर्फ संकेत गर्दै थपे-‘ कम्तिमा ५०/६० हजार त तिरेकै सुनियो । त्यो भन्दा माथि कतिसम्म लिइएको रहेछ भनेर यहाँ औपचारिक रुपमा नभनौं ।’

मन्त्री बोहोराले आफूले भेटेका कमदारलाई विदेश आउँदा धेरै शुल्क लिएकोबारे उजुरी गर्न आग्रह गरेको बताए । ‘केहीले मेरो भाइबरमा एसएमएस गर्नुभएको छ । मैले सामूहिक रुपमै त्यस्ता ठगी गर्नेविरुद्ध उजुरी गर्न भनेको छु’ उनले भने-‘तोकिएको भन्दा बढी शुल्क लिनेलाई कारवाही गर्नुपर्छ । त्यसका लागि म यहाँ छु ।’

श्रम मन्त्री बोहोराले सेवा शुल्क बढाउन व्यवसायीले माग गरिरहेपनि त्यसबारे अन्तिम निर्णय नभएको बताए । ‘प्रधानमन्त्री ज्युले पनि यो विषयमा चासो देखाउनुभएको छ । हाम्रो वार्ता टोलीले व्यवसायीसँग छलफल गरिररहेको छ । केही समयभित्रै यो सम्बन्धमा अन्तिम निर्णय हुनेछ’ उनले थपे ।

म्यानपावर व्यवसायी न्यनतम् शेवा शुल्क १० हजारबाट बढाउनुपर्ने माग गर्दै आन्दोलनमा छन् । उनीहरुले फ्री भिसा र टिकटको सुविधा दिएको भन्दै १० हजारको बिल थमाएर ८ लाख रुपैयाँसम्म लिने गरेको खुलेको छ । तापनि व्यवसायीले १० हजार सेवा शुल्कको व्यवस्था अब्यवहारिक भएको भन्दै बढाउन माग गरिरहेका छन् ।

व्यवसायीको आरोप खण्डन
पत्रकार सम्मेलनमा मन्त्री बोहोराले मलेसियन सरकारसँग भएको वार्तामा व्यवसायीलाई संलग्न नगराइनुको कारणबारे पनि स्पोष्टोक्ति दिए ।
‘त्यो पूर्ण रुपमा सरकारी तहको वार्ता थियो । व्यवसायीलाई पनि सामेल गराएर वार्तामा बस्न हामीले गरेको प्रस्ताव मलेसियाको मानव संशाधन मन्त्रालयले अस्वीकार गर्‍यो’ मन्त्री बोहोराले भने-‘ वार्तामा व्यवसायीलाई सहभागी नगराउनु बाध्यता पनि थियो भने सरकारी तहको वातार् भएइकाले त्यो सम्भव पनि देखिएन् ।’

व्यसायीले भने मन्त्री बाहोरा र मलेसियाका लागि नेपाली राजदूत निरन्जनमानसिंह बस्न्यातले विभिन्न कम्पनीहरुसँगको सेटिङमा आफूहरुलाई वार्तामा सहभागी नगराइएको आरोप लगाएका थिए ।

श्रम सम्झौताको कुरा
उनले मलेसिया सरकार द्विपक्षीय श्रम सम्झौताका लागि तयार रहेको बताए । आफूहरुले कामदारका हितमा उठाएका विभिन्न विष्यलाई त्यहाँको गृह मन्त्रालयमा पुर्‍याएर अर्को चरणमा वार्ता बस्ने सहमति भएको जानकारी दिइएको छ ।

‘केही दिनमै मलेसियासँग वार्ता गर्न हामी कमिटी बनाउँछौं । मलेसियाले पनि बनाउँछ । त्यसपछि सम्झौताका लागि अन्तिम तयारी सुरु हुन्छ,’ मन्त्री बोहोराले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment