
२१ असार, काठमाडौं । नेपाल र भारतको प्रबुद्ध समूह सन् १९५० को सन्धि पुनरावलोनका लागि गृहकार्य थाल्न सहमत भएका छन् ।
काठमाडौंमा दुई दिनसम्म चलेको नेपाल र भारतको प्रबुद्ध समूहको पहिलो बैठकमा १९५० को सन्धि पुनराबलोनबारे छलफल भएको थियो । बैठकमा सन्धि पुनरावलोनका लागि गृहकार्य थाल्ने सहमति भएको छ ।
बैठकपछि नेपाली टोलीका नेता भेषबहादुर थापाले भने, ‘१९५० को सन्धि पुनरावलोनका लागि एकमत भएका छौं । र, त्यस अनुसार कार्यतालिका बनाएर अघि बढ्छौं ।’
तीन महिनासम्म विज्ञहरुसँग छलफल गरेर प्रतिवेदन तयार पर्ने र अर्को बैठकमा पेश गर्ने गर्ने सहमति भएको छ । अर्को बैठक भारतमा हुनेछ ।
बैठकमा नेपालले १९५० यताका सबै सन्धि सम्झौता पुनराबलोकन गर्न प्रस्ताव गरेको छ ।
पत्रकार सम्मेलनमा भारतीय प्रबुद्ध समूहका नेता भगतसिंह कोसियारीले दुई देशको सम्वन्धको समिक्षा भएको बताए । उनले गहिराईमा पुगेर छलफल गर्ने र समस्या समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।
भारतका समूहका सदस्य रहेका महेन्द्र पी लामाले दुई देशबीच भएका सन्धि सम्झौतालाई पुनरावलोकन गरी कस्तो परिर्वतन गर्ने भन्नेबारे खोजी गर्ने बताए ।
प्रधानमन्त्रीसँग भेट
बैठकलगतै प्रबुद्ध समूहका सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे ।
भेटमा प्रधानमन्त्री ओलीले बैठकमा भएका छलफल र उपलब्धिबारे चासो राखेका थिए । प्रधानमन्त्री ओलीले सम्वन्ध थप मजबुत बनाउन प्रबुद्ध समूहमा हुने छलफल फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।
प्रबुद्ध समूहमा नेपालका तर्फबाट डा। भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा। राजन भट्टराई सदस्य छन् भने भारतका तर्फबाट भगतसिंह कोसियारी, जयन्त प्रसाद, प्रा। महेन्द्र पी लामा र प्रा। बीसी उप्रेती छन् ।
००००
प्रतिक्रिया 4