Comments Add Comment

चितवनका अधिकांश बालगृहमा क्रिश्चियन धर्म प्रचार

बोर्डिङ स्कुलमा पनि यशुको प्रार्थना

Children House (Bal Griha)

२२ असार, चितवन । चितवनका अधिकांश बालगृहहरू क्रिश्चियन धर्म प्रचार गर्ने प्रयोजनका लागि सञ्चालित रहेको खुलेको छ । बालगृह मात्र नभई निजी विद्यालयहरूमा समेत विहान प्रार्थनाको समयमा यशु ख्रिष्टको गीत गाउन लगाउने गरिएको छ ।

चेपाङ बालबालिका र असहाय बालबालिकाहरूलाई आवासीय सुविधासहित राखिएका अधिकांश बालगृहमा क्रिश्चियन धर्मको बाइबल पढ्न सिकाउने र यशुको प्रार्थना गराउने पाइएको जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयको अनुगमनबाट खुलेको छ ।

महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले अधिकांश बालगृहले क्रिश्चियन धर्मको ज्ञान बालबालिकालाई सिकाउने गरिएको स्वीकार गरिन् । ‘बालबालिकाहरुको बाल मानसिकतामा क्रिश्चियन धर्मको बाइबल र यशु घुसाउने गरेको पाइयो,’ पौडेलले भनिन्, ‘अनुगमनमा जबरजस्ती धर्म परिवर्तन गराइएको पाइएको छ ।’

बोर्डिङ स्कुलमा पनि यशुको प्रार्थना

बालगृहमा खाना खानु अघि र खाना खाइसकेपछि यशुको प्रार्थना गर्न लगाइन्छ । यशुको प्रार्थनापछि प्रसादको रुपमा खाना दिने गरेको र बालबालिकालाई सोही धर्मका विषयमा पढाउने गरिएको छ ।

भरतपुर उपमहानगरपालिका-१२ घरेमा रहेको मुनलाइट बोर्डिङ स्कुलमा रहेका बालबालिकाहरूलाई क्रिश्चियन धर्म ज्ञान दिने गरिएको छ । १४७ जनाले पढ्दै आएको यो स्कुल एक कोरियन नागरिकको लगानीमा सञ्चालित छ ।

Moon-Light-School-Chitwan
चितवनको मुनलाइट बोर्डिङ स्कुल

मुनलाइट बोर्डिङ स्कुलका होस्टेल वार्डेन सागर गौतमले वालबालिकाहरूलाई विहान र साँझको समयमा यशुको प्रार्थना गर्न लगाइएको स्वीकार गरे । ‘बिहान ५ बजेदेखि नै विद्यार्थीहरूलाई उठाएर प्रार्थना गर्न लगाउँछौं,’ वार्डेन गौतमले भने, ‘हरेक दिन बेलुका खाना खानु अघि पनि यशुको प्रार्थना हुन्छ ।’

कक्षा १ देखि १२ सम्म पढ्ने विद्यार्थीहरूलाई प्रार्थनामा सहभागी गराउने गरिएको उनले वताए ।

यो त अपराध होः शिक्षाविद सापकोटा

शिक्षाविद रमाकान्त सापकोटाले साना-साना बालबालिकाहरूलाई एकाबिहानै उठाएर प्रार्थना गर्न लगाउनु र दुःख दिनु धर्म सिकाउने नाममा गरिएको यातना भएको बताए । ‘एकाबिहानको समयमा ति ससाना बालबालिकाहरू प्रायः सुत्ने गर्दछन्,’ शिक्षाविद सापकोटाले भने, ‘विद्यालय शिक्षा पढ्नु त छँदैछ, त्यसबाहेक पनि क्रिश्चियनको बाइबल र यशुको शिक्षा पनि घोकाउनु यातना नै हो ।’

सापकोटाले थपे, ‘गरिब तथा असहाय बालबालिकाहरूलाई कोठामा राखिदिए वापत, भात खुवाइदिए वापत क्रिश्चियनको गीत गाउन लगाउनु एक प्रकारको अपराध नै हो ।’

जिल्ला बालकल्याण समितिको सदस्यसमेत रहेका बेला सापकोटासहितको अनुगमन टोलीले धर्म प्रचार गराउने र बालबालिकालाई यातना दिने तीन वटा बालगृह बन्द गराएका थिए ।

कारबाही शुरू हुन्छः प्रजिअ सिंह

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बालगृहका नाममा अधिकांशले क्रिश्चियन धर्मको प्रचार गरेको स्वीकार गर्दै कारबाहीको दायरामा ल्याउने बताए ।

‘धैरैजसो बालगृह मापदण्ड पूरा नगरेको पाइयो,’ सिंहले भने, ‘कतिपय बालगृहमा बालबालिकाहरुलाई सुत्ने कोठामा यशुका पोष्टरहरू, धर्मका नाराहरू राखेको पनि भेटियो ।’

प्रशासनले यस्ता बालगृहहरूको तथ्यांक संकलन गरिरहेको प्रजिअ सिंहले जानकारी दिए । उनले भने, ‘अब हामी रिजल्ट दिने गरी केही हप्ता, केही दिनमा नै कारर्वाही अप्रेशन थाल्छौं । बालबालिका राखिदिएको र पढाइदिए वापत धर्म प्रचार गर्ने छुट कसैलाई पनि छैन ।’

चितवनमा ३१ बालगृह

गत वर्षको तथ्यांकअनुसार चितवनमा ३१ वटा बालगृह सञ्चालनमा छन् । जहाँ ५ सय २१ बालक र ५ सय २५ बालिका गरी एक हजार ४६ जना बस्छन् ।

सबैभन्दा बढी भरतपुर उपमहानगरपालिकामा १६ वटा बालगृह छन् । यसैगरी रत्ननगर नगरपालिकामा १०, नारायणी नगरपालिकामा ३, राप्ती नगरपालिका र खैरहनी नगरपालिकामा एक-एक ओटा बालगृह छन् । तिनीहरूमध्ये ९० प्रतिशत बालगृहमा क्रिश्चियन धर्मको प्रचार हुने गरेको बताइन्छ ।

बालबालिकासम्बन्धी महासन्धी १९८९, बालबालिका ऐन २०४८ र बालबालिका नीति २०६९ ले अनाथ बालबालिकाको परिभाषामा बाबु आमा दुबैको मृत्यु भएको र एकाघरका कोही पनि नभएको अवस्थालाई मात्रै अनाथको रुपमा व्याख्या गरेको छ । तर पनि बाबुआमामध्ये कुनै एकको मृत्यु भएको अवस्थामा संख्या बढाउनकै लागि अनाथको व्याख्या गरेर बाल गृहले राख्ने गरेको पाइएको छ ।

दाताले धर्म प्रचार गराउने आफ्नो स्वार्थपूर्तिका लागि रकम दिने गर्दछन् । अधिकांशले तीनै दाताको रकम ल्याएर उनीहरुले भने बमोजिम धर्मको बारेमा अध्ययन गराइएको पाइएको छ ।

जिल्लामा चेपाङ स्कुलका नाममा र चेपाङ गृहका नाममा धर्म प्रचार गराएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment