
२३ असार, काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले हसोल्लासपूर्वक इद पर्व मनाएका छन् । इद पर्वसँगै एक महिना लामो कठोर र पवित्र व्रत (रोजा) पनि समाप्त भएको छ ।
पर्वका अवसरमा इस्लाम धर्मावलम्बीहरुले नजिकैका मस्जिदमा पुगेर नमाज पढी आपसमा शुभकामना साटासाट गरेका छन् । इद पर्वलाई इस्लाम धर्मावलम्बीहरुले दुस्मनहरुसँग समेत शुभकामना साट्ने पर्वका रुपमा लिने गरेका छन् ।
काठमाडौंका मस्जिदमा उपस्थित भएका इस्लाम धर्मावलम्बीहरुले नमाज पढेपछि अंकमाल गर्दै इद मुबारक भन्दै शुभकामना साटासाट गरे ।
देशभरका मस्जिद, इदगाह लगायतका स्थानमा सामूहिक प्रार्थना गर्ने र शुभकामना साटासाट गर्नेहरुको बिहीबार भिडभाड छ ।
मस्जिदमा शुभकामना साटासाट गरेपछि घरमा गएर प्रसाद खाइ परिवारका सदस्यबीच तीन दिनसम्म खुशीयाली मनाउने चलन रहेको इस्लाम धर्मावलम्बीहरुले बताएका छन् ।
पर्वका अवसरमा काठमाडौंस्थित नेपाली जामे मस्जिद र काश्मिरी तकिया मस्जिदमा मुस्लिम समुदायको भीड लागेको थियो । प्रार्थनाका लागि भेला भएका मुस्लिम समुदायका कारण जामे मस्जिद छेउँको दरवारमार्ग-घण्टाघर सडकमा ट्राफिक जाम भएको थियो ।
नेपालमा इस्लाम धर्मावलम्बीहरुको संख्या १२ लाख रहेको सरकारी तथ्यांक छ । इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व भएका कारण सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।
प्रतिक्रिया 4