Comments Add Comment

प्रधानन्यायाधीश कार्कीको सुनुवाइमा लोकमानसिंहको चर्चा

उजुरीकर्तालाई समितिमा बोलाइयो

sushila karki२६ असार, काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीमाथि परेका ६ वटा उजुरीमाथि आइतबारदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । आइतबार बिहान उजुरीकर्ताहरुलाई बोलाएर संसदीय सुनुवा समितिले छलफल गरेको छ ।

प्रधानन्यायाधीश कार्कीमाथि परेका ६ वटा उजुरीमध्ये एउटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख लोकमानसिंह कार्कीसँग जोडिएको छ ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग सुशीला कार्कीको नाता पर्ने दाबी गर्दै त्यस्तो उजुरी परेको हो । नातेदार भएकाले लोकमानसिंह कार्कीको मुद्दा सुशीला कार्कीले हेर्न नमिल्ने माग दाबी सो उजुरीमा गरिएको स्रोतले बतायो ।

तर, लोकमानसंँको नाता सम्बन्धबारे कसले उजुरी दिएको हो भन्ने बाहिर आएको छैन । संसदीय सुनुवाइ समितिमा बेनामे उजुरी दिन नपाइने व्यवस्था छ ।

कामु प्रधानन्यायाधीश कार्कीले भने अख्तियार प्रमुखसँग आफ्नो कुनै नातासम्बन्ध नपर्ने बताउँदै आएकी छिन् । सात पुस्ता परको नातामा यो प्रश्न प्रभावित हुन्छ कि हुँदैन भन्ने प्रश्न यो उजुरीले उठाएको छ ।

यसैगरी न्याय परिषदले सिफारिस गरेका ११ न्ययाधीशको सिफारिस विरुद्ध सर्वोच्चमा परेको उजुरीलाई दरपीठ गरेको  र वैजनाथ उपाध्यायले गरेको दरपीठ खारेजी सम्बन्धमा पनि कार्कीमाथि अर्को उजुरी परेको छ ।

कांग्रेस नेता शेरबहादुर देउवाले समेत न्यायाधीश सुनुवाइको मुद्दामा अदालतले ढिलाइ गरेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यस्तो अभिव्यक्तिमाथि आपत्ति जनाएर सर्वोच्च अदालतले विज्ञप्ति जारी गरेको थियो र सो विज्ञप्तिमाथि अर्को आपत्ति जनाउँदै नेपाल बारले वक्तव्य जारी गरेको थियो ।

तर, यसमा प्रधान न्यायाधीश कार्कीले भने कुनै नेताले आग्रह गरेका आधारमा कुनै मुद्दाको पेशी नतोकिने र नेताहरुले अदालतको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्न नमिल्ने जिकिर गर्दै आएका छन् ।

सुनुवाइ समितिमा कार्कीविरुद्ध परेको अर्को उजुरीमा डीएनए परीक्षण सम्बन्धी मुद्दाको फैसलाबारे पनि उजुरी परेको स्रोतले बतायो । सो मुद्दामा केटा पक्षका बडाबा भनिएका नातेदार संसदीय सुनुवाइ समितिमा आइतबार उपस्थित भएका छन् ।

तर, आइतबारको सुनुवाइ समतिको बैठकमा बोलाइएका केही उजुरीकर्ताहरु भने उपस्थित नभएको स्रोतले अनलाइनखबरलाई बतायो । उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइ समितिले एक घण्टा बैठक स्थगन गरेर प्रधानन्ययाधी कार्कीलाई छलफलका लागि बोलाएको छ ।

न्यायाधीशमाथिको सुनुवाइमा पत्रकारहरुलाई उपस्थित गराइएको छैन । तर, विगतमा ८ न्यायाधीशको सिफारिसमाथि छलफल हुँदा मिडियालाई पनि उपस्थित गराइएको थियो ।

यसैवीच सुनुवाइ समितिले निर्वाचन आयोगका प्रमुख आयुक्त पदमा अयोधीप्रसाद यादवको नाम सर्वसम्मत अनुमोदन गरिसकेको छ । अब प्रधानन्यायाधीशको सुनुवाइ गरिसकेपछि राजदूतहरुको नाममाथि सुनुवाइ प्रक्रिया अगाडि बढ्ने समितिको कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment