Comments Add Comment

चितवन जिविस नेपालकै पहिलो वातावरणमैत्री कार्यालय घोषित

First-Environment-Friendly-office-of-Nepal,-Chitwan
चितवन जिविसलाई वातावरणमैत्री कार्यालय घोषणा गर्दै उपप्रधानमन्त्री कमल थापा । तस्वीरः कमलचन्द्र भगत

२६ असार, भरतपुर । जिल्ला विकास समिति चितवन नेपालकै पहिलो वातावरणमैत्री कार्यालय घोषित भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जिविस चितवन परिसरभित्र महिलाले कूचो समातेको प्रतिमूर्ति अनावरण गरी आइतबार वातावरणमैत्री कार्यालय घोषणा गरेका हुन् ।

उनले नेपाललाई विश्वको वातावरणमैत्री देश बनाउन सबै नेपालीहरुले अभियान निरन्तरता दिनुपर्ने बताए । मन्त्री थापाले वातावरणमैत्री कार्यालय बनेकामा बधाई दिँदै यसलाई पूर्ण कार्यान्वयन गर्नुर्पर्ने बताए । ‘पहिलो हुनुमात्रै ठूलो कुरा होइन, देशलाई नै नमूना बनाउनुपर्छ,’ उनले भने ।

चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले तीन वर्षको अथक प्रयासमा सबै सूचक पूरा गरी यो सफलता मिलेको बताए ।

कार्यालयले वातावरणमैत्री हुनलाई मुख्य गरी १० सूचक र ४४ विस्तारित सूचक पार गरेको छ । सरसफाइ, कार्यालय भवन मर्मत, सौन्दर्य, हरियाली, फोहर व्यवस्थापन, ऊर्जाको प्रयोग, सवारी साधनको प्रयोग, सेवाग्राहीलाई प्रतिक्षालय, शौचालय, भवन सुरक्षा र चमेना गृह व्यवस्थापनलगायत मूल सूचक छन् ।

कार्यालयमा कुहिने र नकुहिने फोहरलाई अलग-अलग व्यवस्थापन गरिएको छ भने प्लास्टिक प्रयोगमा प्रतिवन्ध लगाइएको छ । यसैगरी प्रदुषण जाँचपास भएको हरियो स्टिकरयुक्त गाडी, नक्सापास भएको भवन, लैंगिकमैत्री शौचालय, बगैंचा, क्यान्टिन, प्रतिक्षालय, ऊर्जा खपत गर्ने चिममात्र प्रयोग, खानेपानीको उचित व्यवस्थापन र ढल उचित व्यवस्थापन पनि गरिएको छ ।

केन्द्रीयस्तरबाट प्राविधिकसहितको अनुगमन टोलीले प्रमाणित गरेपछि जिल्ला विकास समिति चितवनलाई नेपालकै पहिलो वातावरणमैत्री सरकारी कार्यालय घोषणा गरिएको सूचना अधिकृत बलराम लुईंटेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment