Comments Add Comment

रौतहटमा व्यापक वन फँडानी, कर्मचारी-तस्कर मिलेमतोको आशंका

एक सातामै २० भन्दा बढी सालका रुख काटिए

Deforestation-at-Rautahat
रौतहटको धन्सर वन क्षेत्रमा काटिएको काँचो सालको रुख


२६ असार, रौतहट । जिल्ला वन कार्यालयको निष्कृयता र कर्मचारी तथा तस्करको मिलेमतोमा रौतहटको धन्सर क्षेत्रमा व्यापक सालका काँचा रुख काटिएका छन् । जिल्ला वन कार्यालय अन्तर्गत धन्सर इलाका वन क्षेत्रको एकै स्थानमा २० वटाभन्दा बढी सालका काँचा रुख कटान भएको फेला परेपछि सरोकारवालाहरुले छानविनको माग गरेका छन् ।

धन्सार इलाकाको भोलनटार जाने बाटोदेखि तीन किलोमिटर उत्तरमा एकै स्थानमा थुप्रै संख्यामा रुख काटिएको फेला परेको छ । काटिएका रुख ७० क्युफिटदेखि ९८ क्युफिटसम्मका छन् ।

तस्करले काटेको रुख वन कर्मचारीले समेत नलगेका कारण स्थानीयले पनि वन कर्मचारीले नै रुख काट्न लगाएको आरोप लगाएका छन् । वन कार्यालयमा नियमितरुपमै कर्मचारी रहँदा समेत ठूलो परिमाणमा रुख काटिनुले पनि कर्मचारीको संलग्नता रहेको आशंका बढेको हो । धन्सर इलाका वन कार्यालयका अधिकृत शुभ नारायण यादव र अन्य केहि अधिकृतहरुकै मिलोमतोमा तस्करहरुले रुख काटेको स्थानीय दाबी गर्छन् ।

एकै स्थानमा करीब दुई हजार क्युफिट बराबरको काँचो रुख काटिएको विषयमा जिल्ल्ाा वन कार्यालयले घटनाबारे जानकारी लिइरहेको जनाए पनि अझैसम्म कुनै अनुसन्धान शुरु गरेको छैन । काठ फेला परेको र नापजाँच गरी घाटगद्धि गर्ने काम भैरहेको जिल्ला बन कार्यालय रौतहटका डिएफओ भगवान प्रसाद गुप्ताले बताए ।

Deforestation-at-Rautahat-1

संगठित काठ तस्करहरुले केही वर्ष अघिसम्म सर्लाहीको वनबाट काठ तस्करी गर्ने गरेका थिए । तस्करकै कारण सर्लाहीको वन क्षेत्र विनास भएपछि अब बारा र सर्लाही दुवै तर्फका काठ तस्करहरुले रौतहटको वनलाई आफ्नो रोजाइ बनाएका छन् ।

पछिल्लो महिनामा रौतहटका बिभिन्न बन क्षेत्रबाट काँचो सालको काठ तस्करी हुने क्रम बढेको छ । चन्द्रनिगाहपुर, रगपुर, धन्सर, गैडाटार, जुडिबेला, बृन्दावन इलाका बन कार्यालय क्षेत्रमा सालको काठ तस्करी हुने क्रम बढेको पाइएको छ । बेला-बेलामा मन्त्रालय, बिभागबाट बनमा भएको हानी नोक्सानीको छानविन गर्ने टोलीले प्रभावकारी काम गर्न नसक्दा कर्मचारीको आचरण सुधार आउन सकेको छैन ।

रौतहटमा २९ हजार ४ सय हेक्टर क्षेत्रफलमा जंगल फैलिएको छ । जंगलसहिया, रंगपुर र बृन्दावन गरी तीन वटा साझेदारी वन र ४२ वटा सामुदायिक वन जिल्लामा छन् । सम्बन्धित निकायको उदाशिनताका कारण सर्लाही, रौतहट र बारा जिल्लाहरुमा रहेका चारकोसे झाडी उजाड भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment