Comments Add Comment

चलचित्रको छायांकन हेर्दा विद्यालय छुट्यो: खगराज बराल

कास्कीको पुम्दीभुम्दीमा जन्मिएका खगराज बराल नेपाल सरकारका सहसचिव हुन् । अहिले शिक्षा विभागको महानिर्देशक पदमा कार्यरत बराललाई साहित्यमा ‘श्रमिक’ बरालको नामले चिनिन्छ ।

Khagaraj-Baralउनको जन्मस्थान पोखराबाट नजिकै रहेकाले सानैदेखि गाडी मोटर देख्ने सौभाग्य पाए । ठाउँ सुगम भएकै कारण नेपाली चलचित्रहरू पनि त्यति बेला उनकै गाउँमा छायाँङ्कन हुने गर्दथे । ‘के घर के डेरा’ छायाँङकन हुँदा कति दिन त विद्यालय नै छोडेको बरालको अनुभव छ । त्यस ठाउँमा ‘फेरि भेटौला’ ‘कन्यादान’ ‘भूमरी’ जस्ता चलचित्र छायाँङकन भएका थिए । त्यसैले गर्दा चलचित्रको सुटिङ हेर्दै जाँदा गीतहरूको विषयमा रुचि बढेकाले बराल गीत सङ्गीततर्फ पनि आर्कषिर्त भए ।

खासगरी गीतकारको भूमिकामा आफूलाई स्थापित गर्न लागेका खगराज बरालले सुरुमा ‘बर’ कथा लेखेका थिए । पछि सङ्गीत को महिमा बुझेकाले हुन सक्छ यसलाई उनी थेरापी भन्छन् । त्यसैले सङ्गीतलाई व्यक्तित्व विकास र उन्नतिका लागि पनि उपयोग गर्नु पर्नेमा उनको जोड छ । २०४५ सालदेखि लेखन कार्यमा हात हालेको बरालको २०४९ साल तिर ‘भिडियो’ बनाउने साथीहरूसँग भेट भएपछि साथीहरूले भिडियो चलचित्रका लागि गीत लेख्न लगाएका थिए, त्यसपछि बरालले गीत लेख्न सुरु गरेका हुन् । अहिलेसम्म सात आठओटा गीतहरू रेकर्ड भएका छन् भने तिन चारओटा गीतहरु चाँडै बजारमा आउने तयारीमा छन् ।

बरालले गीत सङ्गह पनि प्रकाशित गरेका छन् । उनका अहिले सम्म ३ ओटा गीत सङ्गह किताबका रूपमा प्रकाशित भइसकेका छन् । ‘म त सँधै एक्लै परे’, ‘अबिरल गंगा’ र ‘मौन आकाश’ उनका प्रकाशित कृति हुन् । अब अर्को किताब चाँडै बजारमा ल्याउने तयारी गरेका छन् ।

गाउँको सामुदायिक विद्यालयबाट एसएलसी सम्माको अध्ययन पुरा गरेका बराल त्यस विद्यालयको माध्यमिक तहका पहिलो ब्याजका विद्यार्थी पनि हुन् । त्यसपछि पोखराको पृथ्वीनारायण क्याम्पसमा आईएड, बीएड र एमए सम्मको अध्ययन पुरा गरे । त्यसपछि उनले विद्यालय र क्याम्पसमा पढाउने काम पनि गरे । २०५१ सालमा नेपाल सरकारको निमामती सेवामा प्रवेश गरे । सुरुमा रुपन्देहीमा काम गरेका बराल भन्छन् ‘त्यहाँको माहोल नै साहित्यिक थियो ।’ त्यहाँ हुँदा पत्र पत्रिकामा गीतहरू प्रकाशित हुन्थे’। त्यसपछि कास्की, तनहुँ, बझाङ लगायतका जिल्लाहरूमा पनि पुगे, तनहुँ र कास्कीमा झण्डै ८ वर्ष शिक्षकहरूको ‘ट्रेनर’ भएर काम गरेका थिए ।

त्यसपछि सह-सचिवको खुला प्रतिस्पर्धामा नाम निकालेर काठमाडौं आएका बराल शिक्षा मन्त्रालय अन्र्तगतका विभिन्न विभागीय निकायको प्रमुख भएर काम गरे । उनी पाठ्यक्रम विकास केन्द्रको प्रमुख भएका बेला ६, ७ र ८ को कक्षागत गीत सुरु गरेका हुन् । ७ र ८ को कक्षागत गीत लेखन कार्य दलको संयोजक नै उनी थिए । कक्षा ३ को नेपाली विषयको किताबमा ‘असल बन’ भन्ने गीत पनि उनैले लेखेका हुन् । सचेतनामूलक जिङ्गलहरु पनि लेख्ने गरेका छन् ।

साहित्यमा लाग्नका लागि छुट्टै समय नचाहिने उनको बुझाइ छ । भन्छन् ” आफूले अरू कुनै काम गर्दा पनि आउने शब्द तथा घटनाहरू टिपोट गर्ने बानी बसालेपछि यसलाई र्फुसदको समयमा अन्तिम रूप दिन सकिन्छ ।” बेला बखत पत्र पत्रिकामा ‘आर्टिकल’ लेख्ने गर्छन् । त्यसैगरी शिक्षा सम्बन्धी ६ ओटा किताब प्रकाशित भएका छन् भने अब सातौ र आठौँ किताब चाँडै प्रकाशित गर्ने तयारी पनि छ ।

कम्प्युटरमा लेख्ने बानी भए पनि उनी भन्छन्,”हातले लेखेको जस्तो कम्प्युटरमा लेख्दा हुँदैन ।” कम्प्युटरमा सम्पादन मात्रै गर्ने हो । एक बसाईमा लेख्ने लेख त कम्प्युटरमा पनि उत्तिकै राम्रो हुन्छ । तर धेरै कुराहरूलाई समेटेर लेख लेख्न कम्तीमा १५ दिन लाग्ने भएकाले त्यस्तो लेख कम्प्युटरमा लेख्न अप्ठेरो हुन्छ । बराल नै भन्छन्, “पहिला हातले लेखेको सामग्री धेरैले मन पराएका छन्, सिधै कम्प्युटरमा लेखिएको कुरा पहिला हातले लेखी टाइप गरे जस्तो सलल बगेको नभै विचार ढिक्का ढिका भई आए जस्तो हुने रहेछ । एक बसाईमा लेखिएको गीत अर्को बसाईमा पुरा गर्न खोजियो भने ईटामा ढुङ्गा मिसाए जस्तो हुने रहेछ ।”

साहित्यकारका विभिन्न नाम हुन्छन् । खगराज बराल लामो नाम भएकै कारण उनले आफूलाई साहित्यिक क्षेत्रमा ‘श्रमिक बराल’बाट चिनाउँछन् । साहित्यिक क्षेत्रमा आफूलाई स्थापित गराउन कै लागि श्रमिक बराललाई अघि बढाउने सोँच छ । साहित्यिक कृतिहरू प्रचलित धारभन्दा अलि फरक किसिमले प्रस्तुत गर्न चाहन्छन् । फरक तरिकाले लेखियो भने समाजमा छुट्टै योगदान दिन सकिन्छ भन्ने बुझाइ पनि छ उनको ।

उनका लेखाइमा उखानहरूको बढी प्रयोग पनि पाइर्ँन्छ । त्यसैले उनका लेखमा अनुभूतिहरूलाई पनि व्यापक ठाउँ दिएका हुन्छन् । ‘नपढेकाले हलो छोडे, पढेकाले थलो छोडे’ ‘जानेकाले भन्न छोड नजानेकाले सोध्न छोडे’ ‘गाउँ आज रित्तो भयो, घर आज भित्तो भयो’ जस्ता समाजलाई दिशा निर्देश गर्ने खालका उखानहरू प्रयोग गरेका छन् । अहिलेको समाजमा युवा पुस्ताको विदेश पलाएनलाई व्यङ्ग्य गर्न पनि उनी खप्पिस छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment