Comments Add Comment

कावासोती नगरपालिकाले किन्यो डोजर, चालकको टुंगो छैन

चालकको टुंगो लागेन

Dojar

२६ असार, कावासोती । आर्थिक वर्षको अन्त्यमा नवलपरासीको कावासोती नगरपालिकाले ४० लाख ९५ हजार रुपैयाँ खर्च गरेर नयाँ डोजर किनेको छ । तर, चालकको भने टुंगो लागेको छैन ।

‘डोजर सञ्चालनको लागि एकजना चालकको आवश्यकता पर्ने भएकाले चाँडै नै डोजर चालक नियुक्तिको प्रकि्रया अगाडि बढाइने छ,’ कावासोती नगरपालिकाका सामाजिक शाखा प्रमुख महेन्द्र बस्ताकोटीले भने ।

नगरपालिकाले चाँडै ट्रिपर समेत खरिद गर्ने योजना बनाएको छ ।

नगरपालिका स्तरमा हुने बिभिन्न विकास निर्माणलाई सहयोग पुर्‍याउने र थोरै लागतमा धेरै काम गर्ने उद्देश्यले डोजर खरिद गरिएको बस्ताकोटीले बताए ।

‘बिभिन्न उपभोक्ता समितिमार्फत् बाटो निर्माण, तटबन्धन, ढल निर्माण, पोखरी सरसफाई लगायतका कार्य गर्दा आफ्नै साधन भएपछि तेल राखेर काम गर्न सकिने हुनाले लागतसमेत कम हुन्छ,’ बस्ताकोटीले भने, ‘बाहिरबाट भाडामा ल्याउँदा निकै महंगो पर्दथ्यो । कतिपय समयमा आफ्नो साधन नहुँदा बिभिन्न निर्माणका कार्य पनि प्रभावित हुने गर्दथ्यो ।’

साधन नभएकै कारण समयमा काम पूरा नहुने समस्या आउने गरेकामा अब भने त्यस्तो समस्या नआउने नगरपालिकाका अधिकारीहरुको विश्वास छ । यस्तै नगरपालिकाले आफ्नो काम नहुँदा भाडामा र ठेक्कामा दिएर आम्दानी समेत गर्न सकिने बस्ताकोटीले बताए ।

गैंडाकोट नगरपालिकामा ८ जना डेंगु

यसैबीच नवलपरासीको गैंडाकोट नगरपालिकामा ८ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगो लाग्ने भएकाले सावधानी अपनाउनु नै डेंगोबाट जोगिने मुख्य उपाय भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामचन्द्र पौडेलले बताए ।

त्यसैले गैंडाकोटमा आइतबारदेखि लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । स्थानीय महिला स्वयंसेविका, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, पत्रकारसहितको टोलीले संयुक्त रुपमा खोज र नष्ट गर अभियान सञ्चालन गरेको हो ।

अभियानलाई गैंडाकोट नगरपालिकाले पनि साथ दिएको छ । नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले खोज र नष्ट गर अभियानमा नगरपालिकाको पूर्ण रुपमा सहयोग हुने बताए ।

औषधि छरेर लामखुट्टे नष्ट गर्न नसकिने भएकाले जनचेतना जगाउन अभियान सञ्चालन गरिएको पौडेलले बताए ।

नवलपरासी जिल्लाका अन्य क्षेत्रमा भन्दा गैंडाकोट क्षेत्रमा डेंगुको प्रकोप बढी देखिएकाले वर्षेनी गैंडाकोटलाई लक्षित गरी खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको पौडेलको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment