+
+
Shares

कांग्रेस-माओवादीले गल्ती नदोहोर्‍याए देशमा दीगो शान्तिः महतो

'मधेसी मोर्चा कुनै हालतमा सरकारमा जाँदैन'

सलमान खान सलमान खान
२०७३ असार २९ गते ११:४३

Rajendra-Mahato

२९ असार, भैरहवा । मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस-माओवादी गठबन्धनले विगतको गल्ती नदोहोर्‍याए देशमा दीगो शान्ति र राजनैतिक स्थायित्व हुने स्पष्ट पारे । तर, उनले मधेसी मोर्चा सरकारमा कुनै हालतमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

केपी ओली नेतृत्वको सरकारले वार्ता पत्रमा मात्रै मधेसका मुद्दालाई अल्झाएको आरोप लगाउँदै अध्यक्ष महतोले वर्तमान सरकारले इमान्दारीपूर्वक समस्या समाधानको प्रयास गर्ने विश्वास व्यक्त गरे ।

अनलाइनखबरसँग कुरा गर्दै महतोले विगतमा नेपाली कांग्रेस र माओवादी दुबैको मधेसप्रतिको दृष्टिकोण विश्वासिलो नरहेको बताउँदै मधेसी मोर्चा यसपालि धेरै नै सचेत र गम्भीर बनेको बताए ।

‘विगतको तितो अनुभवबाट हामी धेरै सचेत भएका छौं, मधेसी मोर्चाले मधेसको हित हेरेर मात्रै निर्णय गर्ने छ,’ उनले भने, ‘मधेसका मुद्दा सम्बोधन र सिमांकनको टुंगो नलागेसम्म मधेसी मोर्चा कुनै हालतमा सरकारमा सहभागी हुँदैन ।’

सदभावना अध्यक्ष महतोले चाँडै नै मधेसी मोर्चाको बैठक बसेर यसबारे आधिकारिक निर्णय गर्ने जानकारी दिए ।

नयाँ बन्ने सरकारमा मधेसी मोर्चाको भूमिकाबारे बताउँदै उनले परिस्थितिको आंकलन, नयाँ बन्ने सत्ता गठबन्धनको मधेसबारे धारणा प्रष्टरूपमा बाहिर आएपछि मात्रै अगाडि कसरी बढ्ने भनेर निर्णय गर्ने बताए ।

‘माओवादी केन्द्र र नेपाली कांग्रेसले मधेसको मुद्दा सम्बोधन गर्न कस्तो खाले सहमति गर्छन् र सिमांकनबारे प्रष्ट धारणा ल्याउँछन् त्यसपछि मात्रै मोर्चाले सरकारलाई बाहिरबाट समर्थन गर्ने कि नगर्ने भनेर अन्तिम निर्णयमा पुग्छ,’ महतोले भने ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको ७ बुँदे सहमतिबारे महतोले दुबै पार्टीबाट आधिकारिक रूपले मोर्चालाई अवगत नगराएसम्म त्यसमा कुनै टिप्पणी नगर्ने बताए । पूर्वमन्त्री समेत रहेका महतोले सहमति पत्रमा मधेसको मुद्दा र सिमांकनबारे लेखेर मात्रै नहुने र त्यसका लागि स्पष्ट रोडम्याप ल्याउनुपर्ने बताए ।

उनले मधेसले विश्वास गर्ने रोडम्याप ल्याए संविधान संशोधनमा सकारात्मक भूमिका रहने प्रष्ट्याए ।

उनले भने, ‘मधेसको सिमांकनसहित अन्य मुद्दा वृहत राजनीतिक सहमतिसहितको संविधान संशोधनले मात्र सम्भव भएकाले कांग्रेस र माओवादीले त्यसअनुरूप अगाडि बढेमात्रै नयाँ सरकारलाई हाम्रो बाहिरबाट समर्थन हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?