मैले ०६४ सालमा लेखेको हुँ ‘भानुभक्त’ कविता । त्योबेला राजनीति गर्नेहरूले आदिकवि भानुभक्त आचार्यलाई विवादमा ल्याएका थिए । एकथरिले भानु उपल्लो कोटिका मान्छे हुन् भनेर देवत्वकरण गरेका थिए । अर्काथरिले नेपाली भाषाका मात्र कवि भनेर नाङ्गेझार पार्दै थिए । ठाउँठाउँमा सालिक भत्काउने क्रम पनि देखिएको थियो । त्यो दुई खालका अतिवाद देखिरहँदा बीचमा बसेर केही लेखूँ भन्ने लाग्यो ।
भानुभक्तमा पनि त केही चिज छ, त्यसलाई उपेक्षा गरेर इतिहास नामेट पार्न मिल्दैन भन्ने सोच आयो । उनी त हाम्रा राष्ट्रिय सम्पदा हुन् । उनलाई विम्ब बनाएर आजको सन्दर्भमा नेपाली युवाको अवस्थासँग जोडेर हेरेँ । सम्पत्ति कमाउने सपनाले विदेश जान बाध्य युवालाई भानुभक्तको रूपमा चित्रण गरेको छु कवितामा । युवा शक्ति र प्रतिभा पलायनको नेपाली दुर्दशा नै कविताको प्राण हो ।
यसमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतासँगै नेपालीहरूको दुःख र गाउँलेको निर्दोषिता पनि चित्रित छ ।
जातीय र क्षेत्रीय राजनीतिको ज्वरो चर्कँदै गर्दा भानु सबै नेपालीका कवि हैनन् भन्ने स्वर उठेको थियो त्यतिबेला । कतिपय ठाउँमा सालिक पनि तोडफोन भयो । तर, जे-जस्तो भए पनि भानु त हाम्रो हृदयमा बाँचेका छन् । उनलाई आजको चश्माबाट व्याख्या गर्दै बलजफ्ती तानेर राजनीतिभित्र हालियो । त्यो दहबाट निकाल्ने काम त हामी सन्ततिकै हो भन्ने दायित्वबोध गरेर मैले कविता लेखेँ ।
भानु हाम्रो राष्ट्रिय विम्ब हुन् । मान्नै नचाहेर पनि मान्नुपर्ने निर्विकल्प प्रतिभा हुन् । सबै जातजातिका साझा सम्पत्ति हुन् ।
यो कवितामा मैले उच्च कल्पनाशीलताको प्रयोग गरेको छु । पुनर्जन्मको पूर्वीय दर्शन र डार्बिनको विकासवादी सिद्धान्तलाई पक्रेको छु । इतिहासलाई पुनर्व्याख्या पनि भयो यो । धेरै कुराको चेतना मिसिएको छ कवितामा । कविता प्रकाशनमा आएपछि निकै लोकप्रिय पनि भयो । मलाई कतै कार्यक्रमहरूपमा सुनाउन मन लाग्नेमध्येको कविता हो यो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले यो कवितालाई बीएको पाठ्यक्रममा पनि राखेको छ ।
भानुभक्त
पहिलो जुनी
वि.सं. १८७१ असार २९ मा आए भानुभक्त
र गए —
वि.सं. १९२५ असोज ६ सँगै
दोस्रो जुनी
भए आदिकवि
कतै चिम्सा आँखा
कतै लामो नाक
कतै गोरो वर्ण
कतै कालो वर्ण
कतै पूर्ण कद
कतै अर्ध कद
कतै रथयात्रा
कतै अबीरजात्रा
तेस्रो जुनी
भए माछा
नदीको लहरमा कविता लेख्दा–लेख्दै
एकदिन अचानक
खायो गोहीले
बयालीस लाख जुनीपछि
भए किम्बुको रुख
शरद ऋतुको आँखैअघि
खायो रेशम कीराले
चौरासी लाख जुनीपछि
आज फेरि
जन्मिए भानुभक्त मानिस भएर
मानिसको जीवनको कुनै भर छैन
र हिँडे भानु
अमरावती कान्तिपुरी नगरी
हतारमा बिर्सेछन् बिर्केटोपी
बाहुला सुर्केको कमिज
खासाको जिन्स पेन्टमुनि गोल्डस्टार सुज
झोलामा टावेल, गन्जी, कट्टु
एसएलसीको सर्टिफिकेट र श्री प्रकाश कोविदको उपन्यास
खल्तीमा नागरिकता, पासपोर्ट, रु. सात सय पचास
र आमाको सादा तस्बिर
बालाजु, बसपार्क, धरहरा
घण्टाघर र रानीपोखरी
घुमे कविजी दिनभर
गुनकेशरी फुलिरहेछ गमलामा
रित्तै दौडिरहेछन् चपला–अवला
जब ढल्क्यो घाम
गमे कविजी कता जाम ?
कविले कविको मर्का बुझ्छ
सम्झे उनले चित्तधर
खल्तीमा छ रु. सात सय पचास
लच्छिन्की रहिछिन् घरबूढी
दिइन् स्नेहले दालभात
ढल्किए कविजी चुरोट तान्दै
सम्झे उनले चुँदी—रम्घा
झर्यो आँसु दुई कानमा
ताने सिरक र छोपे मुख
किनकि
भोलि त उड्नु छ मलेसिया
लेख्नु छ — रामायण ।
(यो कविता ०६७ सालमा प्रकाशित मुकारुङको ‘बिसे नगर्चीको बयान‘ कवितासंग्रहबाट साभार गरिएको हो ।)